बाबु आमा घरबाट निकालेर कुकुर, बिराला स्याहार्ने ?
हाम्रा लागि हामीलाई जन्मदिने बाउ आमा ठूला कि जनावर ? यो धर्ती टेकाइदिने हाम्रा बाउ आमालाई राम्रोसित पालनपोषण गर्नु हाम्रो जिम्मेवारी हो कि कुकुर विरालाको पालनपोषण ? मानवीय हित, मानवीय सेवा र मानव जीवनका बारेमा हामी मानवले बढि ख्याल गर्नु पर्ने हो कि जनावरका बारेमा ? आफूलाई जन्म दिने बाबु आमालाई चाहिँ तपाइले घरमा नराख्ने । ब्रिद्दाश्रम वा कतै लघार्ने ? तिनको लालनपालनमा वास्ता नगर्ने । आफ्नो घरमा राखेर स्नेह र माया नदिने । अनि कुकुर र बिराला ल्याएर पाल्ने ? आजकलका मानिसहरूले यसै गर्ने चलन बढिरहेको छ ।
दुई साता अघि नेपालप्लसमा एउटा समाचार थियो- एउटै बाघ जोगाउन यत्रो रकम ? त्यसमा एउटा बाघ जोगाउन वर्षेनी साँढे सात लाख खर्च भइरहेको उल्लेख थियो । त्यसै लेखमा जीवजन्तु विशेषज्ञ डा. मूकेश कुमार चालिसेले साह्रै वास्तविक, एकदम सोचनिय र मन छुने प्रतिक्रिया दिए । उनको प्रतिक्रियाले हरेकलाई एक पटक सोच्न बाध्य बनाउँछ । माथिको प्रतिक्रिया उनैले व्यक्त गरेका हुन् ।
डा चालिसे तर्क गर्छन्- हो जनावरहरूले प्रतिक्रिया जनाउँदैनन् । त्यसैले मानिसहरूले तिनलाई रुचाउँछन् । तर घरका बाबु आमाले ठीक र बेठीक, सत्य र असत्य, राम्रो र नरामो बारे तर्क गर्छन् । त्यसैले हामी तिनलाई रुचाउँदैनौं । आधुनिक मानिसहरू कुकुर, बिराला र जंगली जनावरलाई स्नेह गर्छन् । माया दिन्छन् । तर अपसोच ! तिनले आफ्नै बाबु आमा र आफन्तलाई निकाल्छन् । किन त्यसो गर्छन् त आधुनिक मानिसहरू ? तिनलाई वातावरणविद बनेको देखाउनु छ । अझ बढि संरक्षणवादी कहलिनु छ । बाबु आमा र आफन्त पालेर त्यो देखिन संभव छैन ।
मानव भएर पहिले त मानव जातिका बारेमा सोच्नु पर्ने हो । मानवीय हितमा ध्यान दिनु पर्ने हो । हेर्नुस त, कति मानिस रोगले पीडित छन् । कतिलाई भोकमरीले सताएको छ । कति बालबालिका कुपोषणको शिकार भएका छन् । अवसर र सेवाबाट वञ्चितको संख्या उल्लेख्य छ । तर ती मानिसहरूले त्यसता कष्ट भोगेका, समस्यामा परेकालाई कौडी खर्च गर्दैनन् । तर घरमा कुकुर र बिराला पाल्न भने हजारौं खर्च गर्छन् । डा मूकेश चालिसे भन्छन् ‘मेरो बिचारमा यो पैसा हुने र दिनेको राजनीति हो’ ।
हामी मानवहरूले नै मानवीय हितका बारेमा सोच्नु पर्छ । आफ्ना बाबु आमा र बूढाबूढीको लालनपालनलाई ध्यान दिनु पर्छ । किनभने हामी मानव मात्रै धरतीका त्यस्ता जीव हौं जसमा अरूको लागि सोच्न सक्ने गुण हुन्छन् । तर के कुनैपनि जंगली जनावरले मानवीय हितका बारेमा सोच्न सक्छ त ?
जीवजन्तु मानवीय हितकालागिपनि हुनुपर्छ । त्यसैले विश्व संरक्षण संघ (आइ यू सि एन) ले सन् २००० मा प्रकाशित गरेको प्रतिवेदनमा यदि मानवीय हितलाई संबोधन गर्न सकिएन भने वन्यजन्तु संरक्षण प्रभावकारी हुनै सक्दैन । त्यसैले होला उक्त प्रतिवेदनमा जोड दिइएको छ “वन्य प्राक्रितिक श्रोतलाई भविष्यका बारेमा सोचेर दीर्घकालीन प्रयोगको नीति हुनुपर्छ” ।
चालिसे तर्क गर्छन् ‘मेरो बिचारमा यदि बाघ संरक्षण दीर्घकालीन रूपमा अगाडि बढाउने हो भने मानवीय हितलाई ध्यानमा राखेर सोचिनु पर्छ । त्यसको संरक्षणबाट मानवीय हित हुने उपाय गरिनुपर्छ । तब बल्ल बाघलाई दिर्घकालसम्म संरक्षण गरेर राख्न सकिन्छ’ ।
उनले उदाहरण समेत दिए- यदि तुलसी, बर, पीपल, नीम जस्ता वनस्पतिलाई मानवीय हितका लागि प्रयोग गरिँदै नआएको भए आज के ती सयौं वर्षदेखि संरक्षित भएर बस्थे होला ? तिनलाई जोगाउने मात्रै भनेर सकिन्थ्यो होला र मानव हितका लागि प्रयोग नगरिएको भए ? ती मानवीय प्रयोगमा रहेकाले ती अहिलेसम्म संरक्षित छन् ।
त्यसो त, यो समस्या नेपालमा मात्रै होइन । यूरोपमापनि घरमा बाबु आमा नपाल्ने तर कुकुर र विरालाको भने हेरचाह गर्ने संस्क्रिति बढ्दो छ । यो संस्क्रिति उत्तर अमेरिकादेखि अष्ट्रेलियासम्म व्यापक छ । युरोपमा ब्रिद्द बाबु आमा पाल्न नसक्ने, नरुचाउनेलेपनि घर घरमा कुकुर र बिराला पाल्ने, तिनको हेरचाह गर्ने गर्छन् । बाबु आमालाई बाहिर निकाल्न कठिन मान्छन् । तर कुकुर बिरालालाई भने व्यायाम गराउँदै हरेक दिन घुमाउन लैजान्छन् । फ्रान्सकै उदाहरण दिने हो भने प्रत्येक वर्षको जुन देखि अगष्टको अन्तिमसम्म करिब १० लाख कुकुर बिरालालाई धर्म पुत्र पुत्री बनाउने प्रस्ताब गरिन्छ । लाखौँ तिरेर ठूला ठूला पोस्टर बनाएर बिज्ञापन गरिन्छ भित्ताहरूमा ।





