विदेशमा पनि दाजुभाइको विवाद

बेल्जियम । आफ्नो समर्थक र विचार बोकेको पार्टीलाई समर्थन गर्नु, चन्दा दिनु र प्रचार-प्रसार गर्नु स्वाभाविक हो । तर, साझा समस्याका कुरामा पनि पार्टी र अनुहार अनि जातपात हेर्ने गरिन्छ । यहाँ आएर पनि नेपालको कुनै गाउँकै जस्तो एउटा विचारको मान्छेले पसल खोलेको छ भने अर्को विचारको मान्छेले साग नकिनिदिने । अलिकति टाढा गएर भए पनि आफ्नै विचार भएकोमा किन्ने । कसैले कुनै विषय प्रसंग निकाल्दा के विषय हो भन्नेतिर नलागेर कुन पार्टीको समर्थकले निकालेको भन्नेतिर लाग्ने । रेडिमेड उसको समर्थन गर्ने हो कि उसको विरोध गर्ने परिपाटी छ, यहाँ । सही र गलत के हो भन्ने विश्लेषण गर्नतिर नलागेर सानोतिनो कुरामा पनि राजनीतिक आग्रह पूर्वाग्रहतिर लाग्ने भइरहेको छ ।

सामाजिक संस्थामा बसेकाहरूले पनि सामाजिक मुद्दाका विषयमा निर्णय गर्दा ‘एकछिन है !’ भनेर बाहिर जाने र आफ्नो राजनीतिक आस्था राख्ने संगठनको अध्यक्षलाई फोन गरेर उसको निर्देशनमा मात्रै निर्णय सुनाउने प्रवृत्ति छ । ‘यस्तो खालको प्रवृत्ति यस्तरी मौलाएको छ कि यो सबैका लागि दुर्भाग्य हो’ बेल्जियमको राजनीति देखेर नेपालीहरू नै वाक्क बनेको बताउने एनआरएन बेल्जियमका पूर्वअध्यक्ष युवराज गुरुङ भन्छन् ।

असल काम गर्ने हो भने राजनीतिजस्तो समाज सेवा केही होइन । राजनीतिज्ञले गर्ने एउटा सानो राम्रो निर्णयले रेडक्रसले गर्नेभन्दा सयौँ गुणा राम्रो काम गर्न सक्छ । तर, बेल्जियममा भने राजनीति नै सबैभन्दा समस्या भएको छ । नेपालमा कत्रा-कत्रा ठूला विषयमा परिवर्तन आए त्यसबारे कसरी जानकारी राख्ने ? महत्त्व के हो ? भन्ने मतलब छैन । तर, राजनीतिक रूपमा भने उनीहरू माओवादी, कांग्रेस र एमालेको छातामुनि मारमुंग्री गरिरहेका छन् । पछिल्लो समय बेल्जियमका नेपाली कमल थापा र पशुपतिशमशेर राणाको राप्रपा तानातानमा परेका छन् ।

बेल्जियमको इपेर बस्ने पत्रकार महेश थापा नेपालीहरूले यहाँ आएर पनि यो प्रजातान्त्रिक देशको संस्कार देख्ने, बुझ्ने र सिक्ने नगरेर ठ्याक्कै नेपालकै प्रतिशोधपूर्ण राजनीति अँगालेको बताउँदै थिए । ‘प्रजातान्त्रिक देशमा बसेको भनेर के गर्नु ? यहाँको हेरेर त्यो संस्कार सिकेका छैनन् । उही ठ्याक्कै नेपालकै पाराले अन्धो समर्थन गर्छन् । यहाँको नेपाली राजनीति देखेर वाक्कै लाग्छ,’ थापाले भने ।

नेपालको व्यापार वृद्धि गर्ने, नेपाललाई चिनाउने, नेपाली संस्कृतिलाई जीवन्त राख्न भाषा पढाउने, सहकारी चलाउनेजस्ता रचनात्मक कामलाई यहाँका जल्दाबल्दा संस्थाले सहयोग गरिरहेका छैनन्, जसको कारण राजनीतिक पूर्वाग्रह नै हो । त्यसको हेक्का नेपाली दलका स्थानीय नेतालाई नभएको होइन । नेपालीले विभिन्न राजनीतिक गुट-उपगुटजस्तो खडा गरे भने भोलिका सन्ततीबीच पनि मतभिन्नताको समस्या आउन सक्ने बताउँछन्, नेकपा एमालेका बेल्जियम प्रमुख शिव बरुवाल । ‘हामी नेपालको राजनीतिक संस्कार थोरै वा धेरै बोकेर आइरहेका छौँ, तर त्यसलाई हटाउन सकिरहेका छैनौँ,’ बरुवाल स्विकार्छन् ।

बेल्जियममा अहिले सक्रिय र प्रभावकारी काम गर्ने भनेकै अहिलेको पहिलो पुस्ता हो । यो पुस्ताले जे गर्‍यो त्यही हुन्छ, त्यस्तै स्थिति र संस्कार बस्छ दीर्घकालसम्म । विदेशी संस्कृतिका अनेक पाटाको अन्धसमर्थन र रमाइलोमा भुलिरहेका युवापिँढीलाई आफ्नो देश र संस्कृतिप्रति जिम्मेवार बनाउने भनेकै अहिले जमेर बसेको यही पुस्ताले हो । तर, यो पुस्ता नै यति राजनीतिक पूर्वाग्रही छ कि ती युवालाई कार्यक्रममा बोलायो भने ‘त्यस्तो राजनीति हुने ठाउँमा को जान्छ ?’ भन्दै तर्किन्छन् । यही संस्कृति मौलाउँदै गयो भने भविष्यमा नेपालीको पुस्ता यहाँ घृणा र हेलाको पात्र बन्न सक्छ । यहाँको समाजले निषेध गर्न सक्छ ।

उदाहरण हेर्न टाढा जानुपर्दैन । मोरक्कन नागरिकलाई हेरे हुन्छ । दोस्रो विश्वयुद्धपछि अफ्रिकी मुलुक मोरक्कोबाट धेरै श्रमिक आए । तिनले युरोपको सडक, रेल, ठूला भवनलगायतका सारा आधुनिक संरचना निर्माण गरे । ती आफ्नो देशको सांस्कृतिक र संस्कारमा प्रतिबद्ध थिए । काम मिहिनेतका साथ गर्थे । शालीन थिए । तिनले रहँदा-बस्दा आफ्नो परिवार ल्याए । छोराछोरीले यहीँका स्कुलमा पढे । यहीँको संस्कृतिमा हुर्के । भाषालगायत यहाँको सबै जाने । तर, तिनले आफ्ना बाबु-आमालाई भाषा नजानेको भनेर ढाँट्न थाले । तिनले बाबुबाजेले गरेको मिहिनेत हेरेनन् । ठग्ने, ढाँट्ने गरेर बस्न थाले । काम ठग बने । त्यही कारणले अहिलेको पुस्ताका मोरक्कनलाई यहाँका मानिसले घृणा गर्छन् । ‘अहिले हाम्रो नेपालीको हालत ठ्याक्कै त्यस्तै छ,’ गुरुङ भन्छन्, ‘अहिले धेरै नेपालीले घरमा कुनै पनि कागजपत्र आउँदा आफ्ना बच्चामा भर पर्नुपर्ने अवस्था छ । बच्चाले मेरो बाबु-आमालाई केही पनि आउँदैन भनेर ठग्दै र ढाँट्दै जान्छ । अन्ततः नियन्त्रणबाहिर पुगेर मोरक्कनको हालत हुन सक्छ ।’

बेल्जियममा यति नै नेपाली छन् भन्ने यकिन कसैलाई छैन । एकीकृत नेकपा माओवादीनिकटको जनप्रगतिशील मञ्चका महासचिव प्रेम पाठक पाँच हजारको अनुमान गर्छन् भने एमालेका शिव बरुवाल १० हजार । अलग-अलग तथ्यांक राखे पनि ७ हजार नेपालीको अनुमान धेरैले गर्छन् । यत्रो नेपालीको संख्यामा राजनीतिक चासो कतिलाई छ त ? प्रेम पाठकका अनुसार, करिब एक हजार नेपाली मात्रै राजनीतिक दल र एनआरएनको निर्वाचनमा सरिक हुन्छन् ।

बेल्जियममा बैधानिक कागज भएका नेपालीहरूको बाहुल्यता छ । तिनको उद्देश्य यहीँ स्थायी रूपमा बस्ने हो । स्थायी बसोवास गर्न यहाँको भाषा, कानुन, संस्कार र संस्कृति अनि राजनीतिक अवस्था जति बुझ्यो उति सहज बन्छ । त्यो नजानी यहाँको समाजमा घुलमिल हुन सकिन्न । यहाँका नागरिकले छाडेको वा कठिन ठानिएको जागिर मात्रै गर्ने र जागिरे मानसिकताबाट माथि उठेर यहाँको प्रशासनिक र व्यापारिक क्षेत्रमा नेपालीको हैसियत बनाउन पनि यहाँको भाषा, संस्कृति र संस्कार जान्नु, बुझ्नु आवश्यक हुन्छ ।

नेपालीको आर्थिक, सामाजिक र व्यापारिक विकास पनि त्यसरी नै हुन्छ । बेल्जियम आउने सबैजसो नेपालीको प्रमुख उद्देश्य पनि राजनीति गर्ने नभएर आर्थिक फाइदा कमाउने हो । त्यो फाइदा लिन यहाँको भाषा र संस्कृति नजाने सहज हुन्न । यहाँका सञ्चारमाध्यम, यहीँको स्थानीय राजनीतिमा आकर्षण हुनुपर्ने हो । कम्तिमा स्कुल स्तर वा सानो वडा स्तरकै निर्वाचनमा भए पनि प्रतिनिधित्व गर्ने कोसिस हुनुपर्ने हो । तर, नेपालीहरूको ध्यान त्यसमा पटक्कै गएको छैन । नेपालकै कुनै न कुनै दलको झन्डा बोकेर ती झैझगडा गर्छन् । नेपालका नेता आउँदा तिनैका पछि लाग्छन् ।

यहाँको समाज र प्रशासनमा घुलमिल भएर यहाँको बसाइलाई अझ व्यवस्थित गर्न नलागेसम्म बेल्जियमका नेपालीको प्रगति हुन्न भन्नेमा दलका स्थानीय नेता पनि सहमत छन् । त्यसका लागि नेपालीहरूको एउटा साझा संगठन होस् । सबै नेपालीको प्रतिनिधित्व गर्ने संगठन होस् । त्यसले यी कुराको विषयमा चासो राखोस् । सरकारी निकायमा लबिङ गरोस् । ‘त्यो आवश्यक छ भन्ने हेक्का नभएको होइन, तर छायामा परिराखेको छ,’ शिव बरुवाल भन्छन् ।

बेल्जियममा रहेका नेपालीका साझा सामस्यालाई यहाँको सरकार र प्रशासनमा उठाउनुपर्ने कुरा छायाामा परेका छन् । बाहिर देखा पर्छ नेपालको राजनीतिक द्वन्द्व र नेताका भाषण । यहाँको कुनै नागरिकले सार्वजनिक ठाउँमै हेपेर नेपालीलाई असभ्य व्यवहार गर्‍यो भने पनि हामी छौँ भनेर जाने संस्था छैन । एउटा नेपाली दबिँदा, कुटिँदा र अपहेलना गरिँदा सबै नेपालीको मुटु दुख्ने संस्था छैन । ‘राजनीतिक रूपबाट सानातिना काम गरेका छौँ, तर संगठित भएर नेपालीको नेपाल र नेपालीको हितका लागि हामीले एकत्रित भएर काम गर्न सकेका छैनौँ,’ बरुवाल भन्छन् ।

 -ददि सापकोटा (आज जन आस्था साप्ताहिकको आज अंक ३१ असोज २०, २०६७ बुधबार प्रकाशित)

तपाइँको प्रतिक्रिया