बेल्जियममा दर्जनौं नेपाली संस्था, प्रभावकारी शुन्य
-सन्तोष न्यौपाने / बेल्जियम
“हजार तारा भन्दा एक चन्द्रमा बेस”यो उखान तपाई हामी सबैले पढेकै हो । नपढे पनि पक्का सुन्नु भएकै छ । मैले पनि स्वदेशमा छँदा पढेको थिए । म स्कूले विद्यार्थी छँदा एक जना काशी राम भट्टराई भन्ने गुरु हुनुहुन्थ्यो । उहाँले निकै माया गरेर आफ्नो दारि मलाई घसारिदिनुहुन्थ्यो । उहाँले नै यसलाई उदाहरण बनाएर धेरै राम्रा कुराको शिक्षा पनि दिनु भएको थियो । सुरुमा त मलाई यसको अर्थ थाहा थिएन तर खोज्दै जाँदा मैले प्रस्ट सँग बुझ्ने मौका पाएँ । हजार वटा ताराहरूले दिने उज्यालो ज्योति भन्दा एउटा चन्द्रमाले दिने चमक दिएर सारा जगतलाई उज्यालो पार्नु रहेछ । यसैलाई जोड्दै उहाँले मलाई हजार जना बीचमा तिमि जगत लाई चमक दिने व्यक्ति बन्नु भनेर उपदेश दिनुहुन्थ्यो ।
काशी गुरुको यो उखान र उहाँको अर्थलाई मैले अझैसम्म बिर्सन सकेको छैन । किनकि म पनि त्यही चन्द्रमा बन्ने प्रयासमा दुई दशक उमेर काटिसकेको छु । हेरौं कहाँसम्म पुग्ने छु त्यो भविष्यले बताउनेछ । हिजो नेपालमा थिएँ । आज बेल्जियममा छु । सायद कार्य सिलसिलाको अवसरमा भोलिका दिनहरूमा अरू कुनै देशमा हुन सक्ने छ । यो सबै समयको माग र अवसर सँग हिँड्ने कुरा भन्ने मैले बुझेको छु ।
“हजार तारा र एक चन्द्रमा” को प्रसंग मेरो जीवनमा मात्र होइन बेल्जियमको सन्दर्भमा पनि लागू भएको कारण आज मैले यो विषयलाई स्थान दिएको हु । मानवले हरेक कुराहरू मूल्यांकन गर्ने आआफनै शैली हुन्छन् । कसैले विचारबाट मूल्यांकन गर्छन् त कसैले कार्यगत विवरणबाट । कसैले राजनैतिक धारबाट उभिएर । जो जसले जुन रूपबाट जस्तो किसिमले मूल्यांकन गरेतापनि मैले हजार तारा र एक चन्द्रमाको उखानबाट मूल्यांकन गरेको छु ।
मेरो मूल्यांकन भित्र परेको मुख्य विषय भनेको बेल्जियममा रहेका नेपाली संघ संस्थाहरू रहेका छन् । मेरो विचारमा युरोपमा सायद सबै भन्दा धेरै संस्था भएको देश बेल्जियम नै हुनुपर्छ । जहाँ ५० भन्दा बढि संस्था छन् । जसमा क्रियाशिल रहेका १० वटा पाउन मुस्किल नै पर्दछ । सबै आआफनै किसिमले चलेका छन् । तर विडम्बना भन्नुपर्छ धेरै संस्थामा प्राय एउटै मान्छे दोहोरिएको पाइन्छ । यसले मान्छेलाई कामसँग भन्दा पनि पदसँग प्रगाढ सम्बन्ध राख्न हतास रहेछन् भन्ने देखाउँछ ।
अर्को तर्फ ५० भन्दा बढि संघ संस्था रहेको बेल्जियममा चन्द्रमाको जस्तो रूप भएको संस्था पाउन मुस्किल पर्दछ । यस्तो संस्था पाउन अझै कति वर्ष कुर्नु पर्ने हो थाहा छैन । आशा गरौं उत्पादन हुँदै गरेका नयाँ पिँढीहरूले चन्द्रमा जस्तो संस्था अवश्य निर्माण गर्ने छन् । यहाँ रहेका सबै संस्थाहरू ताराको रूपमा चम्किरहेका छन् । तर त्यो चमक यहाँ रहेका अधिकांश नेपालीहरूले प्राप्त गर्न सकेका नै छैनन् । एउटा ताराले कम चमक दियो भने अर्कोले आएर अलि बढि दिएर जान्छ । सर्वसाधारण हेरेको हेर्यै । कसलाई रोज्नु कसलाई छाइनु ।
अब लागौं ताराहरूको वर्गीकरण तर्फ । यहाँ धेरै किसिमका तारा छन् । कसैले राजनैतिक, साहित्यिक, जातीय चमक दिइरहेका छन् भने कुनै अलि माथि उठेर केही नयाँ चमक दिने प्रयत्न गरेतापनि उनीहरू भित्र भित्रै फुट भएर बाझाबाझ पो भएको छ । यो प्रस्ट छ बेल्जियममा जति तारा जस्तो संस्था भएपनि चन्द्रमा जस्तो संस्था कुनै पनि हालतमा बन्न सक्दैन । यो मेरो ठोकुवा नै भयो ।
अब भएन भनेर यहाँ जाति पिच्छेका संस्थाहरू रहेका छन् । मगर समाज, तामाङ समाज, थारु समाज लगायत धेरै ढिस्काना समाज । अब कुन दिन ब्राह्मण समाज बेल्जियम खुल्न बेर लाग्ने छैन । यो भनेको नेपालमा रहेको जातीयता पुर्णरुपमा हाबी रहनु हो । यसले प्रवासमा रहेपनि एकजातिले अर्को जाति प्रति भेदभाव रिस र द्वन्द्व अवश्य बढाउँछ । अझैसम्म यो कानले बेल्जियममा जातीय द्वन्द्व भएको सुन्न परेको छैन, सकभर सुन्न नपरोस् भन्ने मेरो कामना ।
सर्वसाधारण लाई जे जस्तो चमक प्रदान गरेपनि संस्थामा भने पदमा पनि वर्गीकरण गरिँदो रहेछ । अध्यक्ष पद एमालेले खायो भने उपाध्यक्ष काँग्रेस र सचिव माओवादि । हरे शिव संस्थाको नाम पवित्र राख्ने तर विडम्बना पवित्र संस्थालाई पवित्र रूपमा चलाउन नसक्ने नेपालीको बानी । अब यसरी बनेको संस्थाले कस्तो चमक देला अफै विचार गर्नुस पाठकहरू । विगतदेखि अहिलेको इतिहासमा बेल्जियममा भएका संस्थाहरूले गरेका कार्य भनेका आगलागी पीडित, बाढी पीडित लगायतकालाई गरेका सहयोग रहेछन् । सरकारको आँखामा पछाडि परेको कर्णाली यहाँका संस्थाहरूको आँखामा पनि पछाडि नै परेको छ ।
यी त भए ताराहरूका कुरा जसले आआफनो स्थानबाट चमक प्रदान गरिरहेका छन् । अब प्रसंग बदलौं, म बेल्जियम टेकेपछि एकजना हजुरबुवा पनि पाएको छु । मेरो बुवाले मामा भन्ने कारणले मैले उहाँ लाई हजुरबुवा भन्ने गरेको छु । हामीबिच भावनाको नाता भएपनि हाम्रो नाता रगतको भन्दा कम छैन । एक दिन उहाँ सँगको कफी गफमा भुल्दै गर्दा उहाँले मलाई एउटा प्रश्न गर्नुभयो यहाँ भएका सबै संस्थालाई फूल उनेर माला बनाए झैँ सुन्दर माला बनाउन सकिँदैन र नाति ? अनि मैले थरथरीका फूल मिलाइ कहाँ मालामा उन्न सकिन्छ र भन्ने दिए । सायद मेरो जवाफ अलि पचेन उहाँले म सँग थप वार्तालाप नै गर्नुभएन । यसको सार भनेको यहाँ रहेका संस्थाहरूबाट कोहीपनि सन्तुष्ट रहेका छैनन् । जब सर्वसाधारणलाई सन्तुष्ट पार्ने क्षमता हुँदैन भने संस्था खोलेको के काम ? यहाँको सरकारले संस्थाहरूलाई वार्षिक प्रदान गर्ने रकम कहाँ जान्छ ? यदि सबै संस्था मिलेर उक्त रकम स्वदेशको विकास खर्चमा लगाएमा यो भने कमसेकम गरिब जनताले केही राहत पाउने थिए कि ?
अन्तमा आगामी दिनमा बेल्जियममा चन्द्रमा जस्तो संस्था स्थापना भइ सबैको इच्छा आकांक्षा अनुरूप विशेषतः देश विकासको लागि अग्रणी भूमिका खेल्नेछ । यसैको लागि नयाँ पिँढी अगाडि बढ्नु जरुरी छ । यसतर्फ बढ्ने सबैलाई मेरो अग्रिम बधाई तथा शुभकामना ।
(लेखक उज्यालो एफ एम र न्युज २४ टेलीभिजनका बेल्जियमस्थित संवाददाता हुन्) ।





