सम्हालिनसक्नुका यी समस्या
-ददि सापकोटा / पोर्चुगल
(पोर्चुगलको राजधानी लिस्बोनको घोडाचोकमा साँझ जम्मा भएका नेपाली)
सउदी अरेबियामा एक दशक बिताएका चितवन शरदपुरका गौरिस्वर अम्गाई अहिले मन अमिलो पारी पारी पोर्चुगलमा बसिरहेका छन् । भने जस्तो काम छैन । परिवारबाट टाढा हुनुको पीडाले हरेक दिन पोलिराख्छ । चाड पर्व आउँदा मन उत्तिकै छट्पटिन्छ । बसौं जोगिएको केहि छैन । फर्कौं दलाललाई भिसा लगाउन बुझाएको पैसोको ऋण बुझाउन सकिने टुंगो छैन । भर्खरै गएपनि देशमा केहि ईलम पाइने होइन । आफ्नो देशमा स्तर अनुसारको केहि नपाएपछि खाडी हानिएका उनी अब कहिल्यै बिदेश लाग्दिन भन्दै फर्केका थिए । तर लगत्तै उनी फेरी दलाललाई दश लाख बुझाएर पोर्चुगल हानिए ।
अनेक दुख र कष्ट भोगेर बल्ल बल्ल कागज त पाउँछन् । पारिवारबाट भिन्न भएर बस्दा मन त्यसै आत्तिन्छ । वर्षौं लगाएर पोर्चुगलमा बस्ने बैधानिक कागज मिलेपछि परिवार ल्याउन पाउने हैसियत र सुबिधा पाइन्छ । आफ्ना परिवार ल्याउन अरु देशबाट जति सजिलो छ पोर्चुगलबाट छैन । नेपालमा पोर्चुगलको दुतावास नहुनाले दिल्ली जानुपर्छ । दिल्ली जाँदा झन्झटिलो त हुन्छ नै खर्चिलो पनि उत्तिकै । पारिवरिक नाता प्रमाण पुर्याउन पोर्चुगलको दिल्लीस्थित राजदुतावास पुग्दा डेढ दुई लाख खर्च हुन्छ ।
‘नेपाल सरकारले हामी परदेशीको पैसा त लिन्छ तर हाम्रो मर्का भने हेर्दैन’ भन्ने गुनासो धेरै नेपालीहरुले गरिरहेका छन् । काठमाडौं स्थित पोर्चुगलको कन्सुलर कार्यालय बाटै ति काम भैदिए एक त नेपालीलाई टाढा गएर झन्झट ब्यहोर्नु पर्थेन । अर्को नेपालीको पैसा बचत हुने थियो भन्ने चाहना धेरै नेपालीको छ । ” प्रक्रिया यति गाह्रो छ कि बच्चा जन्मिँदा प्रक्रिया शुरु गर्यो । त्यो बच्चा १६ बर्ष पुग्दापनि भिसा नलाग्ने अवस्था छ ” अम्गाइ दुखेसो गर्छन् ।
देशले आर्थिक विकासको गति लेला । अब दिर्घकालिन शान्ति आउला र रोजगारीका अवसर भेटिएलान् भन्ने आसाले स्वदेश फर्किएका उनी जस्ता धेरै भेटिन्छन् पोर्चुगलका गल्लीहरुमा । तर देशको आर्थिक अवस्था झन बिग्रिएपछि दुई चार पैसा कमाउने लोभले ति फेरी बिदेश हानिएका छन् । “देशको अवस्था राम्रो हुने थियो भने त हामी बिदेश हानिनै पर्थेन नी’ सुनाए उनले ।
नेपालको पछिल्लो राजनीतिक अवस्थाले नेपालीहरुलाई झन निराश बनाएको छ । नेपालमा सातौं पटकसम्म पनि प्रधानमन्त्री छान्न नसक्दा नेपालीहरु झन आसा गर्न छोडेका छन् । नेताहरुप्रति आसा र भरोसा झन टुटेको छ । त्यसलाई नेपालीहरु दूर्भाग्य भनिरहेका छन् । “संबिधान लेख्ने कुरा त परै जाओस देशमा प्रधानमन्त्री चयन हुने कुरो त हुन सकेको छैन । संबिधान त अवस्यै लेखिन्न होला नै । या त नेपालमा प्रधानमन्त्री हुने मान्छे नै नभएर यहाँबाट फर्केर जान पर्न हो ।” पोर्चुगलको राजधानी लिस्बोनमा उनी एक साँझ साथीभाईहरुसित ब्यंग्य गर्दै थिए ।
नेपालमा आफ्नो सिप, क्षमता र ज्ञान अनुसारको काम पाए धेरै नेपाली फर्किने अवस्थामा छन् । अम्गाई दश वर्ष खाडी बसेर अब नेपालमै केहि ब्यापार गरिएला, कुनै इलम पाइएला भनेर फर्केका थिए । नेपालमा टिक्ने अवस्था नभएर फेरी परदेश लागे । ‘ १५ वर्ष विदेशै हुने भइयो अझ कति वर्ष हो ‘ भुटभुटिँदै थिए ।
तर यूरोपमा मज्जाले पैसा कमाइन्छ भन्दै दशौं लाख खर्चेर आएका नेपालीको अवस्था भने सोचे जस्तो छैन । यहाँपनि अवस्था कठिन छ । सबै नेपालीले काम पाएका छैनन् । नेपालबाट १० लाख खुवाएर आएका छन् । तर पोर्चुगलमा तिन चार वर्ष काम गर्दापनि त्यो उठाउन सक्ने स्थिति छैन ।
पहिले मानिसहरुको लण्डन जान कति आकर्षण थियो ? कति मुस्किल थियो । मान्छेले पैसा बोटबाट टिपेर ल्याउँछन् कि जस्तो गर्दै लण्डन हानिन्थे । अहिले पोर्चुगल जत्तिकोपनि छैन लण्डन । बरु काम धाम र पढ्न सक्ने स्थिति नबनेर आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो छ । १०, १५ लाख पैसा खर्च गरेर आएका बिद्यार्थेले साहुलाई ब्याजपनि तिर्न नसकेपछि लण्डनमा झुण्डिएर मरेका छन् नेपाली बिद्यार्थी ।
यहाँको अवस्था के छ भने जहाँ तहिँबाट बिदेशबाट खनिएका छन् । अध्यागमन खुल्ला भनेको छ । त्यसैका आधारमा नेपालीहरु बुझ्दै नबुझि हाम्फालेर आएका छन् । किन गएका छन् ? कसरि गएका छन् ? कलेज बुझेर पढ्न गएका छन् कि त्यसै ? केहि मतलब छैन । सरकारी कुनैपनि निकायले त्यसमा ध्यान दिएको छैन ।
यूरोपेली मुलुक मध्ये पोर्चुगलको तलब साह्रै कम मानिन्छ । मासिक ४७५ यूरो न्युनतम तलब छ । बिदेशीले पाउने रकम भनेकोपनि त्यतिनै हो । दुइ सयले खानै पर्यो । बाँकी रकमले भाडा तिर्ने र दैनिक जिवनको खर्च टार्दा कति बचाउने ? एक दुई जना अलि राम्रोमा परेको देखेर १० लाख १५ लाख तिरेर मान्छे खनिएका छन् । फलानाले यति कमाएको छ भन्छन् । तर कहाँ कसरि गरेको भन्ने चाहिँ यहाँ यहाँ नआइ बुझ्ने कोसिस गर्दैनन् ।
वागलुङ दमेकका गोपाल सापकोटा होउन कि चितवन टाँडी बकुलहरका क्रिष्ण आचार्य सबैको गुनासो मिल्दो जुल्दो छ । देशमा आफ्नो सिप, जाँघर र स्तर अनुसारको केहिपनि काम नपाएपछि बिदेशीनु परेको गुनासो गर्छन् ।
पोर्चुगलका अधिकांश नेपालीको साझा धारण के भने नेताहरुले राम्रो गरेनन् । देशलाई हरिकंगाल बनाए । नेताहरुको कारणले गर्दा देशलाई अधोगतितिर धकेले । कुनैपनि ब्यक्ति सुरक्षित छैन । आफ्नै देशमा केहि गरेर खान्छु भन्नेहरुकालागि आफ्नो खुबी र सिप अनुसारको काम दिनुपर्छ भनेर सरकारले सोचेन । “राष्ट्र, जनताको लागि केहि गरौं भन्ने नेताहरु भैदिएको भए अहिले बुढेसकाल लाग्दा हामी बिदेश हिँड्नु पर्ने थिएन नी ! ” गोपाल सापकोटाले भने ।
देशलाई यहाँसम्म तरल अवस्थामा आउनुमा सत्तामा गएका राजनीतिक दलहरुकै भूमिका प्रमुख रहेको यहाँका नेपालीहरु बताउँछन् । किनभने सत्तामा गएर आफु सक्षम हुने काम गरे तर देश र जनताको लागि कुनैपनि दलाका नेताले सोचेनन् ।
नेता को आएनन् ? सुजाता कोइराला, राम चन्द्र पौडेल आए । प्रधानमन्त्री माधव कुमार नेपाल आए । शेर बहादुर देउवा आए । सबैले भाषण छाँटे । आस्वासन दिए । गए । नेपालका ठुला नेता भनेका तिनै हुन् । ल सब ठिक छ भन्छन् । सब समाधान हुन्छ, हामी बनाउँछौं कन्सुलर पनि भन्छन् । यहाँका जनताका समस्या एनआर एनलेनै राखेको थियो । ‘ आश्वासन बाँडेर गएपनि स्वदेश फर्किएपछि भने ति सबै नेताहरुले आफ्नै बोलीको कदर नगरेको नेपालीहरु बताउँछन् । “यहाँ आए जतिका नेताले तपाईहरुका समस्या हल गर्छौं भनेर गए । तर अहँ कुनैलेपनि केहि गरेन । देशमा एउटा प्रधानमन्त्री त चुन्न सक्दैनन् भने जनताका लागि के गर्ने तिनले ? ” अम्गाइँले भने ।
चितवन टाँडी बकुलहरका क्रिष्ण आचार्य भने देश यस्तोअवस्थामा पुग्नुमा नेताहरुलाई मात्रै दोष दिँदैनन् । जनताको कमजोरीपनि देख्छन् । जनता टाठा र चलाख नभएकाले सोझोपनको फाईदा नेताहरुले उठाएको बुझाई उनको छ । उनी अक्रोश पोख्छन् ‘जनता आफैं टाढा नभएकाले नेताहरुले फाईदा उठाए। बरु ६०१ जनालाईनै एकै ठाउँमा बन्दी बनाएर राख्न पाए देशले एउटा निकास पाउँथ्यो की ?”
नेपालीको सानो कागज सिफारिस गर्नु पर्यो भने दिल्ली पुग्नुपर्ने समस्या छ । जन्म दर्ता जस्तो सामान्य चिजलाई सिफारिस् गर्नुपर्दापनि दिल्लीपुग्नु पर्छ । एक पटक जाँदा एक ब्यक्तिको ३, ४ सय यूरो खर्च हुन्छ । खर्च त छँदै छ मानसिक तनावपनि त्यत्तिकै ब्यहोर्नु परेको हुन्छ । यो समस्या हल गरिदिनु पर्यो भनेर पोर्चुगलका नेपालीहरुले नेपालबाट मन्त्री, प्रशासनिक ओहदका उच्च ब्यक्तित्व र कुटनितिज्ञहरु आउँदापनि भन्दै आएका छन् । पोर्चुगलको परराष्ट्र मन्त्रालयसम्मपनि पुर्याए । तर समस्या अहिले सम्म हल भएको भने छैन । “हामीले यो समस्या मन्त्री, कूटनितिज्ञ देखि राष्ट्रपती र प्रधानमन्त्री सम्म भेटेरै पुर्यायौं । आश्वासन त पाइयो तर समाधान भने भएको छैन” नेपाल पोर्चुगल मैत्री संघका अध्यक्ष मकर हमाल भन्छन् ।
पटक पटक प्रयास गर्दापनि दिल्लीको दुतावासबाट हुने समस्या हल नभएकामा नेपालीहरु खिन्न छन् । पोर्चुगलको भिसा फ्रान्सेली दुतावासले दिए झैं दिल्लीशित पोर्चुगल दुतावासले गर्ने कागजपत्रको काम नेपालको कन्सुलर कार्यालयबाट हुने ब्यवस्था गरिदिए सजिलो हुन्थ्यो भन्ने धेरै नेपालीहरुको आग्रह छ ।
त्यसो त पोर्चुगलका नेपालीहरु आफ्नो बसाईका निम्ति मात्रै चिन्तित छैनन् । बिदेशमा सिकेको सिप, जानेको ज्ञान र कमाएको धन नेपालमा लगानी गर्न हतारिएको पनि मकर हमाल बताउँछन् । नेपालको राजनीतिक अवस्था सुध्रेर कहिले शान्त होला, अन्यौल हट्ला भन्ने चिन्तामा धेरै नेपालीहरु छन् । नेपाली र यहाँका स्वदेशीहरु नेपालमा लगानी गर्न सकारात्मक भएपनि नेपालमा जब सम्म ब्यक्तिकै सुरक्षा छैन भने लगानी गर्न संभव हुन्न ।
हमाल भन्छन् ‘ हाम्रो सिप लगायत पोर्चुगाली र नेपालीहरुको सामुहिक लगानी लैजान सक्ने अवस्था छ । यहाँ जे जति सिप र ज्ञान छ त्यो सबै नेपाल भित्र्याउनुपर्छ भन्ने सोच पनि छ । तर त्यो कसरि भित्र्याउने र त्यसलाई कसरि सुरक्षित राख्ने भन्ने बारे नेपाल सरकारले पहिले नेपाल सरकारले सुनिश्चित गर्न सक्नुपर्छ’ ।
( आज वर्ष १६, अंक ३०, असोज १३ गते २०६७ का दिन जनआस्था साप्ताहिकमा प्रकाशित) ।






