यूरोप बसेर विगतलाई नियाल्दा
-सन्तोष न्यौपाने / बेल्जियम
“बाबु विदेश गएपनि गाउँको विकाशमा ध्यान दिइ राख्नु, तिमि गाउँको लागि केही गर्ने मान्छे हौ । विदेश जानु पर्दैन । सक्छौ भने नेपालमै बस्ने प्रयास गर्नु”
झट्ट हेर्दा यी वाक्यांशले लेखकले आफ्नो प्रशंसा आफै गरे जस्तो पाठकलाई लाग्न सक्छ । पाठकले लेखकलाई मुल्याकंन गर्ने तरिका आआफ्नै खालको हुने गर्दछ । कसैले राम्रै गर्छन् त कसैले राम्ररी सुझावका पोकाले दिमाग भरिदिन्छन । जसले जस्तो गरेपनि पाठक भनेका लेखकका शुभचिन्तक हुन भन्ने मैले ठानेको छु ।
युरोपेली मुलुक बेल्जियम टेकेको एक वर्ष पछि स्वदेश पुगेर आउँदा पनि पुन यीनै भनाइहरू मलाइ उपहार दिए । उपहार दिनेमा धेरै गाउँका भद्रभलादमि थिए भने कति सरकारी जागिर खाने कर्मचारी पनि । तर सुझावसँगै धेरै बधाइका कोसेलीहरू पनि दिएका थिए । मलाई धेरै उपहार र बधाइ भन्दा पनि सुझाव र कमी कमजोरी औँल्याइदिने व्यक्ति र पाठक मनपर्छ जसले गर्दा मेरो अगाडिको गन्तव्यमा थप उर्जा मिल्नेछ । तथापि मेरो लागि सकारात्मक सोच्ने ती सबै जना प्रति आभार प्रकट गर्छु ।
देश छोड्दाको पिडा सुरुका चार महिना त निकै गाह्रो नै भएको थियो । तर पनि यहाँ घुलमिल हुने क्रममा त्यो केही हदसम्म कम भएको मैले महसुस गरेको छु । जे भए पनि आफ्नो देश छोडेर आउँदा जो कोसैलाई पनि बिछोडको पिडाले सताइरहेको नै हुन्छ । पिडा कस्तो हुन्छ भन्ने कुरा देख्नेलाई भन्दा सहने र भोग्नेलाई मात्र थाहा हुन्छ जुन मैले अनुभव गर्ने मौका पाएँ । हो अनुभवले मान्छेलाई धेरै परिपक्क गराउँछ जुन यहाँको एक वर्षे बसाइमा मैले धेरै महसुस गरेको छु ।
कतिपयले भन्ने पनि गरे – आफ्नो बुवा आमा सँगसँगै बस्दापनि किन दुख लिनुपर्यो ? तरपनि सुरुका दिनमा आफ्नो परिवारको माया भन्दा पनि देशकै मायाले मलाइ बढि तान्यो । ती वन जंगल खोलानालाहरू बाटोघाटो र गाउँको स्मृतिले परिवारको मायालाई टाढा नै राख्यो । समय चक्र सँगै अहिले त्यो बराबरीमा मैले गराउन सफल भएको छु ।
अब केही प्रसंग बदलौं, यहाँको बसाइमा केही तिता त केही मीठा अनुभवहरू सँगालेको छु । भनिन्छ यीनै तिता र मीठा अनुभवहरूको संगम जिन्दगीको एउटा पाटो हो । घुलमिलको क्रममा यहाँ रहेका नेपाली संस्थाहरूमा आबद्ध केही व्यक्तिहरूको सम्पर्कले मलाई अझ बढि जान्ने मौका मिल्यो । यसरी घुलमिलका क्रममा बेल्जियमलाई मैले राजनीति गर्ने थलो र नेपालकै बानी व्यहोरामा अधिकांश नेपालीहरू रहेको पाएको छु । हो राजनीति गर्ने मान्छेलाई जहाँ गएपनि छाड्दैन, यो त एउटा नशा नै हो । तर यसलाई दुरुपयोग गर्ने कमी छैनन् यहाँ । अरू त कुरा छाडौं नेपालीहरूको स्वच्छ संस्था भनेर चिनिने गैर आवासीय नेपाली संघमा समेत राजनीति हाबी छ । यहाँ समिति बनाउँदा होस या आइ सि सि निर्वाचन को क्रममा नै किन नहोस् यो नशा व्याप्त नै छ । सायद यहाँ धेरै बुद्धिजीवी भएको कारण हुनसक्छ यस्तो भएको ।
समूह कि त धेरै जान्ने मान्छेहरूको वर्चस्व भएर बिग्रन्छ कि त मार्गनिर्देशन गर्नेको कमी भएर । आज धेरै नेपालीहरूको एउटै भनाइ रहेको छ – यहाँको एन आर एन ले केही गर्न सकेको छैन । तर आज मलाई एउटा कुरा भन्न मन लागेको छ , जस्तो सुकै स्वच्छ संस्था भएपनि राजनैतिक क्रियाकलाप हाबी भएको संस्था हुनु भनेको वर्तमान नेपालको सरकार हुनु सरह हो ।
त्यसो त बेल्जियम मात्रै होइन यसको छिमेकी मुलुक फ्रान्समा रहेका नेपालीहरूको संस्था एनआरएन फ्रान्स मा यो समस्या विकराल रूपमा रहेको छ । नेपाल स्थित उज्यालो एफ एम र न्युज २४ लाई गत एनआरएन युरोपियन भेलाको समाचार तयार पार्ने क्रममा म त्यहाँ पुगेको थिएँ । त्यसै क्रममा मैले केही स्थानीय नेपालीहरूलाई सोध्दा थाहा पाएँ एन आर एन सँग सबै असन्तुष्ट रहेको । राजनैतिक र मैमहता हाबी भएको हुनाले धेरै अनुपस्थित रहेका थिए । कार्यक्रम स्थलको अधिकांश कार्य आयोजकले नै गर्नुपर्ने तर त्यहाँ अन्य देशबाट आएका पाहुनाहरूले गरिरहेको प्रस्ट नै देखिएको थियो । यहीँबाट समितिका पदाधिकारिहरूले केही बुझ्नुपर्छ । यदि सबै नेपालीहरूलाई एउटै छाता भित्र एक बद्ध लैजान सकिएन भने त्यो संस्था कुनै पनि हालतमा टिकाउ हुँदैन । यो एन आर एन का तदर्थ समितिमा बस्नेतहरूले बुझ्नु जरुरी छ ।
अर्को एउटा कुरा जुन मैले फ्रान्समा छँदा भोगेँ । सम्मेलन सुरु हुनु भन्दा केही दिन अगाडि मात्र फ्रान्समा हुनु भएका रामहरि खकुरेलसँग सम्पर्क भइ म रिपोर्टिङको सिलसिलामा त्यहाँ पुगेको थिएँ । तर दुख लाग्दो कुरा कार्यक्रम सुरु भइसक्दा पनि मलाई प्रवेश दिएको थिएन । खै पछि के भएछ प्रवेश पास दिए । नेपालमा समाचार रिपोर्ट प्रसारण भएपछि धेरैले मलाई धन्यवाद ज्ञापन त गरे तर त्यो कार्यले उनीहरूको धन्यवादलाई जित्न सकेन । आखिर पत्रकार र पत्रकारिता के हो भन्ने कुराको अनभिज्ञता आयोजकमा रहेछ भन्ने मैले ठम्याएको छु ।
हो, हामी धेरै नेपालीहरू युरोपमा छौं तर पनि दुखका साथ भन्नुपर्छ कि अधिकांशको बानी व्यहोरा नेपालको भन्दा फरक छैन । फरक यति मात्र छ खानपिन र फेसनमा मात्रै । चाहे २० वर्ष देखि बस्दै आएको होस या ५ वर्ष अघिदेखि । सबै एउटै समूहका छन् । खुला हृदय र महान् विचार भएको नेपाली पाउन गाह्रो छ यहाँ । फराकिलो मुटु भएर काम गर्नेको आवश्यकता रहेको छ । पश्चिमेलीहरूको मुलुकमा बसेर उनीहरूको विचार र भावनालाई धेरैले ग्रहण गर्न सकिरहेका छैनन् । सायद यही भएर नै होला नेपालीहरूको विचार र बानी व्यहोरा अलिकति माथि उठ्न सकेको छैन । भएपनि केवल न्यून मात्रामा । आखिर यसको प्रत्यक्ष असर भावी पीढीलाई नपर्ला भनेर भन्न सकिँदैन ।
संक्षेपमा तिता अनुभव सँगै मैले सकारात्मक कुराहरूको अनुभव गर्ने मौका पनि पाएको छु । बेल्जियममा त्यसता नेपाली र विदेशी पनि भेटेको छु जो आफ्नो परिश्रम नेपालको लागि खर्चिरहेको छ । नेपाललाई चिनाउनको लागि दिनरात मेहनत गरिरहेको छ । प्रथम पटकको भेटमा मलाई उनले त्यति वास्ता त गरेनन् तर सम्पर्क बढ्दै गएपछि उनको र मेरो सम्बन्धले एउटा साथीत्वको रूप लीनगयो जसको कारण मैले जर्मनी नेदरल्याण्ड तथा फ्रान्समा बसेर नेपालको लागि काम गरिरहेका स्थानीय नागरिकसँग मितेरी साइनो गाँस्न सफल बने । नेपालमा उनीहरूले विशेषतः दुर्गम स्थानहरूमा शिक्षा स्वास्थ्य र आवासमा सहयोग पुर्याइरहेका रहेछन् । म ती व्यक्तिलाई स्यालुट गर्न चाहन्छु जो प्रवाशि भूमिमा रहेर पनि नेपालको विकाशमा अग्रसर रहेका छन् । यी व्यक्तिहरूबाट यहाँ रहने धेरै नेपालीहरूले केही सिक्नु जरुरी देखिन्छ ।
अर्को तर्फ मेरो एक वर्ष यहाँको बसाइले नेपाली भाषा प्रति अभिभावकको सन्तान प्रतिको चिन्ता त्यति नरहेको देखेँ । हो हामी सबै प्रवासी भूमि बेल्जियममा छौं तापनि नयाँ पीढीलाई जति सकिन्छ नेपाली भाषाको ज्ञान दिनु जरुरी छ । आफू नेपाली हो भनेर चिनाउने तर तिनका सन्तानलाई सामान्य नेपाली बोल्न र लेखेको पढ्न आएन भने त्यो नै एउटा अभिभावकलाई घृणित महसुस हुनेछ । त्यति खेर नेपालीको सन्तान हु भनेर गर्व गर्नु धिक्कार हुनेछ ।
म एक पत्रकार भएको हिसाबले पनि युरोपका अधिकांश नेपाली अनलाइन पत्रिका दैनिक हेर्ने गर्छु । यसै क्रममा नेपालप्लस हेर्ने मौका पाएको थिएँ । पहिलो अध्ययनमा नै यो साइट प्रति यति समीप भएँ म बताउनै सक्दिन जुन अरू अनलाइन पत्रिकाको तुलनामा धेरै अगाडि रहेको छ । किनकी यसमा प्रकासित सामाग्रीहरू अरूको तुलनामा निकै पृथक रहेका छन् । यो मेरो आफ्नो अनुभव हो ताकि मैले बढाइचढाइ गरेको हैन र प्रशंसा गरेर यससँग केही लिनु पनि छैन । यति खुशि छु मैले यो एक वर्ष पछि पहिलो पठनीय अनलाइन पत्रिका पाएको छु ।
प्रिय पाठक वर्ग साइट हेरिसकेपछि केही लेखुँ लेखुँ जस्तो लागेर मेरो अनुभव मात्र पोख्ने जमर्को गरेको हुँ । मेरा विचार धेरैलाई मन पर्न पनि सक्छ मन नपर्नपनि सक्छ । जो जसलाई तितो लाग्छ वहाँहरूले मीठो मानि ग्रहण गरि दिनुहुनेछ भन्ने मलाइ लागेको छ । मिठो मान्ने सबै पाठकलाई मेरो साधुवाद ।
(लेखक उज्यालो एफ एम र न्युज २४ टेलीभिजनका बेल्जियमस्थित संवाददाता हुन्) ।





