हरेक दिन खस्कँदै छ लोकप्रियता

कुनै बेला प्रचण्डको नाम सुन्दा सारा विश्व चकित पर्थ्यो । अद्रिष्य बाघ झैँ थियो त्यो नाम । विश्वका शक्तिशाली मेडियाहरुसमेत नेपालको चर्चा गर्दा उनको नाम जोड्थे । एसियामा त उनको प्रसिद्धि चुचुरोमै थियो । कतिपयले उनलाई माओकै हाराहारीमा सम्म राखेर हेर्न थालेका थिए । नेपालमा प्रचण्डले केही गर्छन् भन्ने ठूलो जन विश्वास थियो । शान्ति संझौतामा सिंगो पार्टीलाई लिएर आफैँ ओर्लेपछि प्रचण्डले अब देशलाई दीर्घकालीन शान्तिमा लान्छन् । समग्र देशको विकासका लागि चमत्कारिक काम गर्छन् । सारा दलहरूलाई विश्वासमा लिएर प्रजातन्त्र संस्थागत गर्छन् भन्ने थियो । तर परिणाम ? बिगतमा उनले कमाएको प्रसिद्धि दिनदिनै खस्किरहेको छ । आफूसँगै उनले आफ्नो दलकै लोकप्रियतालाई पनि घटाउँदैछन् । पद र कुर्सीका लागि उनले सारा जगत हँसाइरहेका छन् । संस्थागत हुनुपर्ने प्रजातन्त्र दिनदिनै कमजोर बनिरहेको छ ।

अहिले प्रधानमन्त्री पदका लागि निर्वाचन भएको चौथो पटक भइसक्यो । हरेक पटक हार खाइरहेका छन् उनले । पदका लागि उनी हरेक पार्टीका नेताको दैलो दैलो धाइरहेका छन् । तर चौथो पटक हार खादापनि उनले  प्रधानमन्त्री पदमा पुग्न मरिमेट्न छोडेका छैनन् । उनले जति मेरिमेट्दापनि दलहरूलाई विश्वासमा लीन सकेका छैनन् । संविधान बनाउन केन्द्रित हुनुपर्ने सम्पूर्ण संसद्, सभासदहरूलाई प्रधानमन्त्री पदको निर्वाचनको खेल वरिपरि सीमित राखिएको छ । यो  निर्वाचनले गर्दा जनतालाई प्रजातन्त्रप्रतिनै वित्रिष्णा जगाउने काम भइरहेको छ । जनतामा यो निर्वाचनको न कुनै आकर्षण न त सरोकार नै ।

प्रधानमन्त्री माधव कुमार नेपाललाई दुई दुई ठाउँबाट हारेको भन्दै जनताका लागि स्वीकार्य हुन नसक्ने अडान लिने यीनै प्रचण्ड हुन् । तर अहिले प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा उनले चार पटक हार खाइसके । चार पटक संसदमा हार खाएका, सभासदले नपत्याएका उनलाई अब के भन्ने ?

यही निर्वाचनका लागि यदि उनले प्रधानमन्त्री पदको दाबी नगरेको भए सायद आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईका पक्षमा सहमति बन्थ्यो  कि ? दलहरूले बाबुराम भट्टराई उमेदवार भए स्विकार गर्न सकिने बताउँदा बताउँदै र जनमत भट्टराईको पक्षमा बाक्लै देखिँदापनि प्रचण्डले आफ्नै लागि ज्यान फाले ।

आफ्नै पार्टीका उपाध्यक्ष भट्टराई र एमाले अध्यक्ष झलनाथ खनालले बहुमतबाट चुनेको प्रधानमन्त्री र सरकारले कुनैपनि हालतमा देशका समस्या हल गर्न नसक्ने हुनाले सर्वदलीय राष्ट्रिय सरकार बनाउनुपर्ने आव्हान गरिरहेका छन् । तरपनि प्रधानमन्त्री पदको लोभले प्रचण्डलाई  छोडेको देखिँदैन । बरु उनी अझै हार खान तयार देखिन्छन्, अझै संसदीय खेलमा गन्हाउन चाहन्छन् । पार्टीलाई कमजोर सिद्द गराउन चाहन्छन् । तर प्रधानमन्त्री पदका लागि र्‍याल चुहाउन भने छाड्ने पक्षमा छैनन् ।

संसदमा सबै भन्दा ठूलो पार्टीको सर्वोच्च नेता भएका नाताले सबैभन्दा त्यागी उनै बन्नुपर्ने हो । सहमतिको प्रयास उनैले गर्नु पर्ने हो । पद र कुर्सीका लागि आफूले त्याग गरेर आफैँले देखाउनुपर्ने हो । तर चार पटकसम्म हार खाँदापनि उनले पद र कुर्सी बाहेक सबै मिथ्या हो भनेर देखाइरहेका छन् । त्यसले उनको सिंगो व्यक्तित्वलाई प्रत्येक दिन ओझेलमा पार्दै गएको छ । आफ्नै पार्टीभित्र मतभेद, विवाद र असन्तुष्टी जन्माइरहेको छ ।  बचेखुचेको व्यक्तित्वसँगै पार्टी प्रतिष्ठा र संसदीय प्रजातन्त्रलाईपनि कमजोर पारिरहेको छ । तर यो चेत आउला प्रचण्डमा चाहिँ कहिले ?

तपाइँको प्रतिक्रिया