युद्द प्रभावित इराकबाट नेपाली चेलीको आग्रह
(अपडेट- लौ सरकारले सारा नेपाली ईराकबाट हटाउने भन्दै ईराकमा काम गर्न लगाएको प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री माधव नेपालले त्यहाँ गएका नेपालीलाई बरु बैधानिक बनाउने तर सबै नेपालीलाई हटाउन नहुने भनेर संबन्धित निकायलाई निर्देशन दिएका हुन्)
–गीता शर्मा / इराक
आज सम्पूर्ण इराकमा आफ्नो ज्यानको वाजी थापेर पनि आफ्नो लगायत परिवारको रोजी रोटीको लागी इराकको अमेरिकी कम्पनी तथा इराकी कम्पनीमा थुप्रै नेपाली कामदार छन् । त्यहाँ कार्यरत कामदारहरूको सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायत नेपाली जनताको हक हितको लागी आफ्नो आफ्नो क्षेत्र तथा पदमा रहनु भएका सम्पूर्ण मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरूका म केही अनुरोध गर्न चाहन्छु । र केही यथार्थताको स्मरण गराउन चाहन्छु ।
अहिले आएर वास्तवमै कति नेपाली इराकमा काम गर्दै छन् भन्ने स्पष्ट रूपमा गणना नभएपनि जहाँसम्म लागेको छ ४० हजार भन्दा बढि नेपाली इराकमा काम गर्दै छन् । हाल आएर हामीलाई यस्तो जानकारी प्राप्त भएको छ कि जुन देशबाट इराकमा प्रवेश गर्न इजाजत दिइएको छैन त्यो देशको कामदारहरूले २० जुलाईबाट २० दिन भित्रमा इराक छोड्नु पर्ने अर्थात् काम गर्न नपाउने भन्ने सूचना प्रकाशित भएको छ । यसले नेपाल सरकारलाई कति घाटा लगाउँछ । अर्थतन्त्रमा कतिको घाटा लाउँछ त्यो कुरा सरकारी पक्षलाई जानकारी होला । तर जहाँसम्म ४० हजार परिवारको रोजी रोटीको कुरा छ त्यसबाट पर्ने प्रत्यक्ष असरको बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ ।
यसै त देशको राजनीतिक अवस्थाको कारण कतिले देशमा भोकै मर्नु परेको छ । कतिको उपचार नपाएर ज्यान गइरहेको छ । दिन प्रतिदिन देशको खस्किँदो अवस्थाले गर्दा कयौं युवा युवती लुकि चोरी ज्यानको वाजी थापेर इराक जस्तो युद्द प्रभावित देशमा आएर काम गर्नु छ । त्यसैमा पनि सरकारले लगाएको इराक प्रतिबन्धले गर्दा ४० हजार परिवारको बिचल्ली हुने दिन नजिकिदैं गएको छ ।
कृपया यस्तो संकटकालबाट मुक्ति गराउन आजको १० दिन भित्रमा नेपाल सरकारले लगाएको इराक प्रतिबन्ध हटाओस् । अनि ४० हजार कामदार परिवारको बिचल्ली हुनबाट जोगाउन सम्पूर्ण नेता कार्यकर्ता तथा बुद्धिजीवीहरूमा विनम्र अनुरोध गर्दछौं । ४० हजार परिवारलाई न्याय दिने नदिने भन्ने कुरा सरकारको हातमा छ । जति सक्दो छिटो इराक प्रतिबन्ध हटाइ दिएर हामी लगायत हाम्रो परिवारको रोजी रोटी खोसीनबाट बचाउनोस । जय पशुपति नाथ ।।।।





