नेपालीहरूको वाहियात विश्वकप मोह
अहिले विश्व कपले गर्दा नेपाल सारा फुटबलमय भएको छ । रातभरि भरि बसेर फुटबल हेरिरहेका छन् नेपालीहरूले । चोकमा तिनैको कुरा । घर घरमा त्यही फुटबल । अस्पत्तालमा गयो डाक्टरले त्यही कुरा गरेर बसेको सुनिन्छ । कोही बाजी थापिरहेका छन् ल यसले जित्छ र उसले उसले जित्छ भन्दै । गाविस कार्यालयमा गयो सचिव भेटिन्न, उ कतै चिया पसलमा अलप भएर चिया हातमा ठड्याउँदै फुटबलको गफ गरिरहेको हुन्छ । नगरपालिका भवनमा गयो कोही भेटिँदैनन् । लाग्छ, नेपालीहरूको अरू कुनै काम छैन । इलम र धन्दा छैन । फुटबलमा नेपाल विश्व कपमा खेल्न त के छनौटमा पुग्न पनि अझै सय वर्षमा नसक्ला । तर नेपालीको फुटबलको टाउको दुखाई भने गज्जबकै छ । साँच्चै नेपालेलाई यति बिघ्न किन टाउको दुख्छ हँ ?
फुटबल प्रिय खेल हो धेरैको । खेलकुदले यसैपनि शरीर, मन र मस्तिष्कलाई स्वच्छ राख्न सहयोग गर्छ । तर के सारा काम धन्दा नै छोडेर त्यसैका पछाडि लाग्नु जरुरी छ ? के पाउँछ नेपालले ब्राजिलको समर्थन गरेर ? अर्जेन्टीनाले जित्यो भने के फाइदा हुन्छ नेपाललाई ? उरुग्वे र चिलीसँग हाम्रो के नातो छ ? कस्तो संबन्ध छ ? दुई देशको व्यापार बढ्छ ? त्यहाँका जनतासित संबन्ध थप कसिन्छ ? नेपाललाई कुनै न कुनै खालको आर्थिक, सामाजिक वा साँस्क्रितिक फाइदा हुन्छ ? हामीले कुनै देशको समर्थन गर्यो भने तिनले पनि हाम्रो देशलाई समर्थन गर्ने ठाउँ छ ? किन यति बिघ्न मरिमेटेर एउटा देशको समर्थन र अर्कोको विरोध गर्ने हामीले ?
विश्वकपमा जो संलग्न छन् हारजित जे भएपनि उनीहरूलाई नाफा छ केही न केही । तीनै देशको प्रचार प्रसार हुन्छ विश्वभरि । कुनै नातो र सबन्ध नभएका यस्ता मुलुकको समर्थन र विरोध गर्दा हामीलाई चाहिँ घाटै घाटा । किनभने रातभरि फुटबल हेर्यो अनि कोही जाँडले टिल्ल परेर अस्पत्ताल दौडाइएका छन् । कतै सवारी साधन ठोक्किएको छ । बाजी थाप्ने र रक्सी खाने नाममा नेपालीको धन सकिएको छ । रातभरि बसेर आफ्नो स्वास्थ्य फालिरहेका छन् । कपाल मुठ्याएका छन् कसैले । कोही देख्दै नदेखेका, जान्दै नजानेका देशको झन्डा मुखभरि रँगाएर विश्व कप शुरु हुनुभन्दा घण्टौं अघिदेखि टेलिभिजनका पर्दा अगाडि बस्छन् । आफ्नो राष्ट्रिय झन्डाको मान मर्दन कहाँ पुग्दै छ होस छैन तर विदेशीका राष्ट्रिय झन्डा मुखमा रंगाएर घमन्ड गर्दै बस्ने गर्छन् । विश्व कप खेल्ने मुलुकका नागरिकलाई भन्दा नेपालीलाई बढि लागिरहेको छ । नेपाली ९० प्रतिशत नेताका बुद्धिमा त डढेलो लाग्यो लाग्यो, नेपाली आम युवाहरूपनि किन यस्ता भएका ?
विश्व कपमा छानिएका अधिकांश देश कस्ता छन् ? आर्थिक रूपमा सबल छन् । तिनले आफ्नो देशको संरचनालाई बलियो बनाइसके । अब तिनका प्राथमिकता फरक छन् । हाम्रो देशको जस्तो चारैतिर भताभुंगे चाला छैन । तर आफ्नो देशले भाग नै लीन नपाएको खेलमा सारा प्रशासनिक काम समेत त्यागेर सींगै देश त्यसैमा डुब्ने अवस्था छ हाम्रो ?
हाम्रा प्राथमिकता के हुन् ? देशमा संविधान बन्ने टुंगो छैन । कुन दिन के अनिष्ट निम्तिने हो वा घोषणा हुने हो भर छैन । आर्थिक अवस्था डामाडोल छ । सडक फोहोरका डंगुरले छिचोलिसक्नु हुन्न । काम र अवसर नपाएर सारा युवाको ताँती दिनदिनै मुलुकबाहिर निस्किरहेको छ । हाम्रा हिमालहरू पग्लेर दिन दिनै हाम्रो देश मरुभूमिकरण बन्ने दिशामा छ । सदरमुकाम सम्म सडक नपुगेर बहिनौं पैदल हिँड्नुपर्ने अवस्थामा देश छ । टाउको दुखेको औषधी नपाएर नागरिकको अकालमा ज्यान जाने अवस्था छ । यस्तो अवस्थामा देश रहेका बेला हाम्रा युवा शक्ति विश्व कपको पछाडी लाग्ने बेला हो यो ? सारा काम नै छोडेर ।
कोशीले सयौं घर बगाएर बिचल्ली पार्दा तिनलाई सहयोग गर्न किन यो विश्व कपमा रात फाल्न सक्ने शक्ति पुग्दैन ? हाम्रा पहाडी बस्तीमा झाडा पखालाले भकाभक गरिब नेपालीको ज्यान जाँदा विदेशीको जितमा ताली बजाएर रमाउने, तिनको जित र हारमा त्यति बिघ्न चिन्ता मान्ने हाम्रो युवा शक्तिले किन पिर मान्दैन ? किन सहयोगका हात फैलाउँदैन ? अचम्म लाग्छ, साँच्चै किन यति बिघ्न चिन्ता विदेशीको चाख, चासो, फाइदा र स्वार्थमा ?





