विद्यालयमा दिवा खाजा कार्यक्रमले ल्याउँछ ठूलै परिवर्तन

-केशव राज जोशी / डँडेल्धुरा 

नेपालमा प्रजातन्त्रको पुनर्स्थापना हुनु भन्दा पहिले अर्थात् बि.स. २०४७ भन्दा अगाडी नेपालमा साक्षरता ४५ प्रतिशत भन्दा पनि कम थियो । वि.सं. २०५२ सालसम्म प्राथमिक विद्यालयमा महिला शिक्षिका कोटा आधारभूत प्राथमिक शिक्षा परियोजनाबाट विभिन्न जिल्लालाई प्रदान गर्दा धेरै जसो पहाडी र हिमाली जिल्लाहरूमा यस.एल.सी. पास भएको महिलाहरू पाईदैन् थियो । क्याम्पस, विद्यालयहरूमा कि त भारतीय शिक्षकहरू हुन्थे कि त भारतमा नीतिस्तरबाट पास भएका नेपाली शिक्षकहरू हुन्थे ।

विगत देखी हालसम्म धेरै जसो दुर्गम पहाडी, हिमाली प्राथमिक र नि.मा. विद्यालयहरूमा विद्यार्थीहरू मध्यान्तरपछि विद्यालयमा नबस्ने, बसे पनि पर्ढाईमा ध्यान नदिने, भोक र थकाइले अल्छी भइरहने देखिन्छन् । तर शहरी क्षेत्रका बोर्डिङ विद्यालयहरूमा घरबाट नै खाजा वा पैसा लगेर मध्यान्तरमा खाजा खाए पछि पढ्ने गरेका थिए । अहिलेपनि छन् । 

दुर्गम पहाडी तथा हिमाली जिल्लाहरूका ग्रामीण क्षेत्रहरूमा न त घरमा पर्याप्त मात्रामा खाद्यान्न हुन्छ, न त आर्थिक आम्दानी नै । ग्रामीण क्षेत्रमा बस्ने भनेका साधारण गरिब, अशिक्षित, बेरोजगार मानिसहरू जो आफ्नो र परिवारलाई एक दुई छाक खाना कसरी टार्न सकिन्छ भन्न लागिरहेका छन् ती बालबालिकाका पोषण स्थितिबारेमा के नै सोच्न सक्छन् र ? हुन पनि दुर्गम ग्रामीण क्षेत्रमा शिक्षा, चेतना, विकास, आर्थिक र रोजगारबाट पिछडिएको उमेर पुगेका मानिसहरू र बालबालिकाहरूको मात्र बसोबास भएको देखिन्छ । पढे लेखेको शिक्षित, चेतनाको विकास भएको वर्ग शहरी मुखी भईसकेका छन् भन्दा अत्युक्ति नहोला ।

हामीहरू एक छिन सोचौं त ! विकास गर्ने भनेको मानिसले हो । त्यसैले मानिस त्यसको लागि शिक्षित, चेतनशील, बुद्धिमान्, कुशल, योग्य हुनू पर्छ । यो सब ज्ञान प्राप्त गर्नको लागि विद्यालयमा अध्ययन गर्नुपर्छ । विद्यालयमा अध्ययन गर्नको लागि पेट भरि खाना चाहिन्छ । हामी कर्मचारी, शिक्षक, व्यापारी, नेताहरू, सर्वसाधारण व्यक्तिहरूलाई पनि हेरौं त; दिउँसो सबैले केही न केही खाजा वा खाना खाएकै हुन्छन् । बिकसित देशका विद्यालयका बालबालिकाहरूलाई हेर्ने हो भने झन् विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हुन्छ । तर हाम्रै देशका बालबालिकाहरू लाई हेर्ने हो भने उनीहरू बिहान ८ , ९ बजे खायो, २ , ३ घण्टा हिँडेर विद्यालय पुग्छन् । ५ , ६ घण्टा विद्यालयमा बिताउँछन् । फेरि २ , ३ घण्टा हिँडेर घर पुग्छन । कतिपयले बासी खाना पाउँछन् त कतिपय भोकै घरको काम गर्छन । यि बालबालिकाहरूले शिक्षा कस्तो हासिल गर्लान् एक छिन सोचौं त !

ग्रामीण क्षेत्रमा बजारको व्यवस्था छैन । रोजगारको छैन । आम्दानीका स्रोतहरू छैनन् । तर बालबालिकाहरूका अशिक्षित अभिभावक बढि जसो ग्रामीण क्षेत्रमा नै बसोबास गरिरहेका छन् । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय मार्फत सेती परियोजना, प्राथमिक शिक्षा परियोजना देखि सबैका लागि शिक्षा कार्यक्रमको नामले प्रौढ शिक्षा र अनौपचारिक शिक्षा भनेर नेपालको जनसंख्या भन्दा दोव्वर तेव्वर व्यक्तिलाई साक्षरता बनाई सकेको तथ्यांकले देखाउँछ । तर कस्तो दुर्भाग्य ! हाल पनि विश्व खाद्य कार्यक्रमको सहयोगबाट शिक्षाका लागि खाद्य कार्यक्रम अर्न्तर्गत तेल वितरण कार्यक्रममा छात्राहरूका आमा वा महिला अभिभावकहरू ७० देखि ८० प्रतिशतले भरपाईमा ल्याप्चे नै लगाइरहेका छन् भने नेपालको साक्षरता लगभग ५४ प्रतिशत पनि वास्तविक छ छैन भन्न गाह्रो नै छ ।

विश्व खाद्य कार्यक्रमले शिक्षा मन्त्रालय मार्फत प्राथमिक विद्यालय पौष्टिक आहार कार्यक्रम कार्यालयको खाद्य व्यवस्थापनबाट केही पहाडी जिल्लाहरूका प्राथमिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमले गर्दा भर्ना दरमा तिब्ररुपले वृद्धि हुनुका साथै भाग्ने र कक्षा छोड्ने दर घट्दै गएको छ । छात्राहरूको भर्ना दर वृद्धि गर्न छात्रा कि महिला अभिभावक वा आमालाई मासिक विद्यालय गएवाफत तेल वितरण गर्दा भर्ना दर वृद्धि, गुणस्तरनिर शिक्षा हासिल गर्नका साथै विद्यालय छाडने, भाग्ने, कक्षा दोहोर्‍याउनेको दर न्यून भएको छ । विद्यालयमा दिवा खाजा सञ्चालन भएको जिल्लाहरूमा हालको तथ्यांक हेर्दा विद्यालयमा भर्ना नभएका बाल बालिकाहरू न्यून भएको जिल्ला शिक्षा कार्यालयको तथ्यांकले देखाएको छ । तर दिवा खाजा कार्यक्रम सञ्चालन नभएका हिमाली, पहाडी र केही तराईका जिल्लाका दुर्गम गाउँ बस्तीमा भने धेरै जसो बालबालिकाहरू विद्यालयमा भर्ना नै हुन पाएका छैनन् र भर्ना भएका पनि विद्यालयमा दिन भर नबस्ने, नपढ्ने र परीक्षामा नै सहभागी नभएका देखिन्छन् । 

अहिलेको प्रतिस्पर्धी, आधुनिक प्रविधि र जनताको लोकतन्त्र प्राप्त भइसकेपछि पनि र्सबसाधारण, सबैका बालबालिकाले गुणस्तरनिर आधुनिक शिक्षा पाउने नैसर्गिक अधिकार भएकोले नेपाल सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम मार्फत विद्यालयमा भर्ना गर्ने र दिन भरि ध्यान दिएर पढ्ने वातावरण सरकारले बनाउनू पर्छ । त्यो व्यवस्था नेपाल सरकारले आफ्नो नियमित बजेटमा होस वा दातृ संस्था को सहयोगमा होस, प्राथमिकतामा राखेर यसको व्यवस्था नियमित गरिनू पर्छ । जून देशका नागरिक शिक्षित र चेतनसिल छैनन्, विबेकसित र कुशल छैनन् आधुनिक समाजसँग प्रतिस्पर्धा गर्न सक्दैनन् त्यो देशको पूर्वाधार विकासले मात्र देशको आर्थिक, सामाजिक परिवर्तन हुँदैन । यस कारण गुणस्तरिय शिक्षा हासिल गर्न विद्यालयमा (कम्तीमा प्रा वी, नि.मा.बि.सम्म) दिवा खाजाको महत्वपूर्ण भूमिका अहिलेको परिस्थितिमा रहेको छ । 

विद्यालयमा दिवा खाजा कार्यक्रमले गरेका योगदानहरू

+     छोटो समयको लागि भोकबाट राहत हुनु ।

+     पोषणयूक्त आहार खान पाउनु ।

+     असमानता, बिभेद को अन्त्य ।

+     छात्र छात्राहरूको भाग्ने र कक्षा छाड्ने प्रथा घट्दै जानु ।

+     महिलाहरूको सहभागितामा वृद्धि हुनुका साथै जन चेतनामा वृद्धि हुनु ।

+     शिक्षाको गुणस्तरमा वृद्धि आउनु ।

+     विभिन्न प्रकारका रोगहरूको बारेमा जानकारी पाइनुका साथै जुकाबाट मुक्त हुनु ।

+     स्वास्थ्य तथा सरसफाइको बारेमा जानकारी हुनु ।

+     खाजा व्यवस्थापन समितिहरूलाई तालीम सञ्चालन ।

+     अभिभावक विशेष गरि महिलाहरूको विद्यालय सम्म पहुँच हुनू ।

+     अशिक्षित महिलाहरूलाई छात्राहरू मार्फत साक्षर अर्थात् नाम लेख्न सम्म सिकाउने र    विद्यालयको वातावरणबारे परिचय गराउने ।

+ पौष्टिक आहार खाना र स्थानीय खाना, करेसाबारी र विद्यालयमा दिवा खाजाको आवश्यकता र महत्वबारे समाजलाई चेतनसित बनाई यसको व्यवस्थापनमा सक्रिय बनाउनु ।

विगतमा विश्व खाद्य कार्यक्रमले नेपालका २६ जिल्लाहरूमा यो कार्यक्रम सञ्चालन गरेको थियो । हाल नेपाल सरकारको गलत निर्णय र लापर्बाहीका कारणले विश्व खाद्य कार्यक्रमले आफ्नो श्रोतलाई अन्यत्र लगानी गरी यो कार्यक्रम मात्र ११ जिल्लामा सीमित गरेको छ । लोक कल्याणकारी कार्यक्रमहरूलाई विस्तारित गर्नुको सट्टा साँघुरिएर ल्याइएको छ र हाम्रो नेपाल सरकारलाई यस बारेमा खासै चासो छैन । उनीहरू त आफ्नो कुर्सी जोगाउने खेलमा मस्त छन् । हून त यो कार्यक्रमले नेता, मन्त्रीहरू र सत्तामा बस्नेलाई कुनै फाइदा छैन । तर जनताका छोराछोरोहरूले भने यो कार्यक्रमबाट धेरै फाइदा लिएका लिइरहेका छन् । नेपाल सरकार, शिक्षा मन्त्रालयले कर्णाली जिल्लामा कार्यक्रम सञ्चालन गर्दा ढुवानीको समस्या देखाई नगद रकम दिई खाजा खुवाउने व्यवस्था गरेको छ । तर जून ठाउँमा छात्रब्रित्तीको रकम छात्राहरूले पाएका छैनन्, सदुपयोग हून सकेको छैन त्यो ठाउँमा विद्यार्थीहरूलाई दिएको रकमले विद्यार्थीहरुले खाजा पाउने आशा गर्न सकिन्छ । कतै शिक्षक वा कर्मचारीहरूका छोरा छोरीहरू त्यो रकमबाट स्तरीय विद्यालयमा पढ्न त गएका छैनन् । कार्यक्रम सञ्चालन गर्न योजना बनाउँदै र बजेट पठाउँदैमा कार्यान्वयन भएको भन्न मिल्दैन । बरु कार्यक्रमको उपलब्धि हेर्नुपर्छ ।

विश्व खाद्य कार्यक्रमबाट सञ्चालन गरिएको शिक्षाका लागि खाद्यान्न कार्यक्रम डडेलधुरा जिल्ला पनि लागू गरिएको छ । यस कार्यक्रमले गर्दा जिल्लामा धेरै न्यून बालबालिकाहरू मात्र विद्यालय भन्दा बाहिर छन् । तिनिहरू मध्ये धेरै जसो बर्साई सर्राई र एकदम कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरू हुन । यस जिल्लामा सुरुमा जिल्लाका सम्पूर्ण पा्र.बि.लाई सहभागी गराएको थियो भने बिस्तारै नगरपालिका हुँदै केही गा.बि.स.बाट पनि कार्यक्रम हटाएको छ । अब यसको महत्व योगदान कति थियो र रहेछ भन्नको लागि हाल कार्यक्रम सञ्चालन भइरहेका विद्यालयहरूमा र पहिले कार्यक्रम सञ्चालन भएका विद्यालयहरूको विभिन्न क्षेत्रको अनुसन्धान गरि तुलना गरियो भने यसको योगदान र महत्व थाहा हुन्छ ।

हामी शिक्षा र खाद्यान्न व्यवस्थापन क्षेत्रमा काम गरिरहेका कर्मचारीहरूको अनुभव, अनुसन्धान, र निष्कर्ष हो यो । बालबालिकाहरूलाई विद्यालयमा पढ्ने वातावरण बनाउन राम्रा शिक्षकहरू छन्, शैक्षिक सामग्रीहरू छन्, भवन छन्, पोसाक छन्, खेल्ने सामग्री र चौर छन् । तर तिनिहरूलाई प्रयोग गर्नको लागि स्वास्थ्य र पोषण खाना चाहियो । यदि शरीर स्वस्थ छैन भने दिमाग पनि स्वस्थ रहँदैन । दिमाग स्वस्थ छैन भने जति सेवा सुविधा भए पनि पर्ढाईको गुणस्तरमा सुधार आउँदैन ।

आजका नेताहरू हिजोका बालबालिका थिए र तिनिहरूले विद्यालयमा पोषणयूक्त खाना नपाएको कारण देशको राजनीतिक अवस्था अस्थिर र अस्तव्यस्त भएको छ भन्दा अत्युक्ति नहोला । शायद यिनीहरुले विधालयमा पोषणयुक्त खाएको भए देश अनिर्णयको वन्दी हुने थिएन होला । देशमा ६०१ जना सभासद् चाहँदैनथ्यो होला । तर्सथ आजका बालबालिकाहरूपनि भोलिका नेता, राज नेता हुन सक्छन् र यिनिहरुलाई विद्यालयमा नै पौष्टिक खाजा खुवाई गुणस्तरिय शिक्षा प्रदान गरि देशलाई सहि दिशा र गतिमा लैजाने कोसिस आजै देखि गरौं ।

तर्सथ नेपाल सरकार, राष्ट्रिय योजना आयोग, विभिन्न दातृ संस्थाहरू, विभिन्न बौद्धिक व्यक्तित्वहरूमा अनुरोध गर्न चाहन्छु, शिक्षा क्षेत्रमा बनाइएका योजनाहरू मध्ये विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्रथमिकतामा राखेर योजना बनाउन आवश्यक छ ।

 

तपाइँको प्रतिक्रिया