यूरोप र अमेरिकाका नेपालीपनि लखेटिन के बेर ?
सयौं वर्ष अघि देखि भारतको मेघालयमा बस्दै आएका नेपालीका बाबु त्यहीँ हुर्किए । आमाले त्यहीँको धरती चिनाइन् । भाषा नेपाली भए पनि त्यहीँको माटोमा रमाए । त्यहीँको हावापानी लिए । त्यहीँ माया गड्यो । त्यहीँ तिनले आफ्नो भविष्य देखे । वर्तमान भेटे । दश नङ्रा त्यहीँ खियाए । आफ्नो देश भनेर त्यहीँ लडीबुडी गरे । अरू भारतीय भन्दा ती केही कुरामा भिन्न थिएनन् । तर अहिले ? हातमा भारतीय नागरिकता, मनभरि त्यहीँको माया र ममता साँच्दा साँच्दैपनि ति लखेटिएका छन् । धपाइएका छन् । ती भारतीय प्रशासनको यातना खप्दै हिँडेका छन् । आँखाभरि आशु, मन भरि पीडा र आत्माभरि पीरै पिरको भारी बोकेर ती भौँतारिन बाध्य भएका छन् । वर्षौ वर्षदेखि मेघालयमा बसेका नेपाली यसरि खेदिन्छन् पुस्तौं पुस्ता पछि भने जापान र अमेरिका, युरोप र अष्ट्रेलिया बस्ने नेपाली के सुरक्षित रहलान् ?
अहिले अलि सक्नेहरु यूरोप र अमेरिका, जापान र अष्ट्रेलिया हानिन्छन् । पढ्न, केही सिक्न, पैसा कमाउन त्यतैको आकर्षण छ । पश्चिमी मुलुकको स्वतन्त्रता र स्वच्छन्दताले तानेको छ । नसक्नेहरु कोरिया र खाडी राष्ट्रसम्म भएपनि मुलुक छोडेर हिँड्न तम्तयार छन् । देशभित्र आफ्नो भविष्य र वर्तमान देख्नेहरुको संख्या झन घट्दो छ । अहिले सक्ने र पाउने हो भने नेपालको आधा भन्दा बढि युवा विदेश हानिने थिए ।
पढ्न पुगेका विद्यार्थीको ध्याउन्न पढ्ने भन्दा कसरी ती मुलुकमा लामो समय बस्ने भन्ने छ । पढ्नतिर भन्दा नेपाल फर्किनु नपर्ने खोजी गर्न तिर लाग्छन् ती छोटो समयका लागि जानेहरु पुग्नासाथै समय बढ्याएर बस्ने उपाय खोज्छन् । ती त्यहीँको मुलुकको स्थायी आवाशिय भिसाका लागि मरिमेट्छन् । अनि बिस्तारै नागरिकता लिएर त्यहीँको नागरिक भएर बस्ने । थुप्रै नेपालीको वर्तमान र भविष्यको आकर्षण बनेका छन् पश्चिमी मुलुक । तिनले आफू र आफ्नो पिँढीको भविष्यपनि त्यतै भेटेका छन् ।
तर के ति सुरक्षित हुने रहेछन् ? हातमा सिप, कानुनत: त्यहिँको कागज र मनमा माया भएपनि के ति अर्काको मुलुकमा सुरक्षित रहने रहेछन् ? मेघालयको घटनाले देखाउँछ- जतिसुकै मेहनत गरेपनि ति सुरक्षित हुने रहेनछन् । चाहे तिनले जे सुकै दिउन्, जे सुकै बाँडुन्, जतिसुकै माया गरुन् तिनलाई विदेशी माटोले सहजै स्विकार्ने रहेनछ। जतिसुकै पुस्ता हुर्के बढेपनि, जतिसुकै रगत बगाएपनि, मेहनत र सिपले अर्काको भूमिलाई स्वर्ग जस्तो बनाएपनि तिनलाई सधैं पराईका रुपमा ब्यवहार गरिने रहेछ । ति कुनैपनि बेला लघारिन, लखेटिन, धपाइन र रित्तो हात थात थलो छोडेर हिँड्न बाध्य हुनुपर्ने रहेछ । त्यस्तो बेला तिनकालागि न त्यो मुलुकका अरु नेपाली, न त त्यहीँका अन्य जात र जाति, न नेपाल सरकार कसैलेपनि साथ र सहयोग गर्ने रहेछ ।
मेघालयको घटनाले देखाउँछ, अहिले जतिसुकै मेहनत गरेर यूरोप र अमेरिका बसेपनि, अष्ट्रेलिया र जापानमा आफ्ना सन्ततीको भविष्यको देखेपनि, अहिले जतिसुकै सुबिधाभोग गरेपनि त्यो क्षणिक हुन सक्छ । कुनैपनि दिन ति देशका नागरिकबाट पनि नेपाली त्यसैगरि अपमानित हुन सक्छन् । लखेटिन सक्छन् । मेघालयको घटनाले त्यहि देखाउँदैन र ?





