बिपत्तिमा परेकालाई सहयोग नगर्ने ?
कोशीको बाँध फुटेर सयौं नेपाली बगे । हजारौ बस्तुभाउ र करोडौ करोड धन सम्पत्तिको नोक्सान भएको छ । लाखौ मानिसको अवस्था नाजुक छ । अझै कयौ परिवारको अवस्था अज्ञात छ । सारा गुमाएर बाँचेकालाई पनि भोलीको भविष्य संझिएर निन्द्र लाग्दैन । कोही अस्पत्तालमा छन त कोही सहयोगको याचाना गरिरहेका । त्यसैले अहिले पूर्वी नेपालमा परेको दुख र पिडा सानो होइन । यस्तो बेला राज्य र नागरिकको सबै शक्ति, समर्थन र सहयोग पिडितलाई राहत दिन खर्चिनु पर्ने हो । तर नेपालका नेताहरु न हुन, जहाँ, जहिले, जसरिपनि र जुन घटनालाई पनि राजनीतिसँग मिसाउँछन । बिपतमा परेर रोइरहएका मानिसको दुख र पिडाबाटपनि राजनीतिक फाइदा लिन खोज्छन । आज राजधानीमा भएको एक कार्यक्रममापनि त्यसै गरे नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरुले । माओवादी र एमाले बिगतको सरकारले भारतसित घुँडा टेकेर मनलागि कोशी संझौता गरेकाले यस्तो दुख आइलागेको भनेर काँग्रेस तर्फ चोर औंला देखाउने । नेपाली कांग्रेस चाहिँ लौ त्यसो भए कोशी संझौता रद्द गरेर नेपालको हित हुने गरि नयाँ सम्झौता गरेको हेरौंन त भन्ने । राहत को जुन मुल पक्षनै ओझेलमा ।
यो कुरालाई यहिँ थाँति राखेर अब लागौ न हामी आफुले के गर्न सकिन्छ भन्ने तिर । पिडितहरुलाई सहयोग गर्न कति सक्ला यो सरकारले त हेर्नै बाँकि छ । तर प्रधानमन्त्रीले राम्रो सक्रियता र आशा देखाएका छन । कोशी बाँधबारे भारतसँग नयाँ ढंगले अगाडि बढाउनेपनि भनेको सुनिएको छ। ति पछिका कुरा भए । तत्कालकालागि चाहिएको चाहिँ आर्थिक सहयोग हो । प्रधानमन्त्री स्वयंले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूदायसँग सहयोगको आव्हान गरेकालेपनि ठुलो सहयोगको आवश्यकता छ भनेर बुझिन्छ । त्यसैले अब बिदेशमा बस्ने तपाइ हामी सबै नेपालीले कसरि के कति सहयोग गर्न सकिएला त ?
एउटा नेपालीको घर आँगन उजाडिएका बेला, रोइरहेका बेला, बिपत्ति परिरहेका बेला अर्को ठाउँमा बस्ने नेपालीको मनपनि खुशि हुन्न नै । हुनु हुँदैनपनि । त्यसैले कोशी बाँध कसले किन गरायो, सरकारमा को छ भन्ने कुरातिर नसोचि जति सकिन्छ सहयोग उठाउन तिर लागौ । बाढी पिडितहरु अधिकांश तराइमुलका छन । यो बेला सहयोग गर्ने हो भने तराइलाई बिपत पर्दा अन्य ठाउँका नेपालीको मन पनि पग्लिन्छ भन्ने देखिन्छ । यसले हामी मधेश, तराइ, पहाड र बिदेशमा बस्ने नेपालीको भावनालाई एकिक्रित गराउँछ । अहिले सहयोग गर्नुको सकारात्मक पाटो यो पनि हो । बिदेशमा बस्ने नेपालीहरु आफ्नालागि कमाउने, मोज मस्ति गर्ने मात्रै होइन आफ्नो मात्रिभूमिमा आइपरेको आपत बिपतमा साझेदार बन्छन भनेर देखाउने अवसर पनि हो यो ।
अहिले बिदेशमा बस्ने नेपालीहरुको सबै भन्दा ठुलो र सशक्त संस्था भनेकै एन आर एन हो । त्यसको जति पहुँच र बिस्तार नेपालीहरुबिच अन्यको छैन । एन आर एनले चाहेको खण्डमा तत्कालै सँसारभरिका नेपालीसँग सम्पर्क हुन्छ । त्यसैलेपनि अहिले नेपालमा आइपरेको यो संकटका बेला एन आर एनले ढिलो नगरि सहयोग गर्न थालिहाल्नु पर्छ । मुलरुपमा त एन आर एन आफैँ जाग्नु पर्यो र अन्य नेपाली संस्थाहरुलाईपनि जगाउनुपर्यो । कुनै ठाउँमा सुति बसेका भए त्यस्ता संस्थालाई उठाएर सहयोग जम्मा गर्नतिर लाग्नु सबै नेपालीको कर्तब्य हो । के छ त तपाइंको बिचार सहयोग गर्ने होइन ? (फोटो साभार-विक्ली नेपाल) ।





