पर्यटकलाई दुख दिएर आउँछ माओवादी सत्ता ?
जनयुद्दकालमा सेतो छाला देख्यो कि साम्राज्यबादीहरुको जासुस भन्दै कि तर्साउने, कि अपहरण गर्ने गर्थे माओवादीहरुले पश्चिमाहरुलाई । सेतो छाला देख्नासाथ सबैलाई अम्रिकाने भने जस्तो । अनि सोझासाझा, अध्ययन र अनुसन्धान गर्न आएका, सामाजिक काम गरेर नेपालीको सेवा गर्न आएकालाईपनि दुख दिन्थे । अहिले ठ्याक्कै त्यस्तै गरेर फेरी बिदेशीलाई दुख दिँदै छन् चितवनमा । बिदेशीलाई दुख दिँदा आफ्नो कति बदनाम भैरहेको भन्ने हेक्का राखेका छैनन् माओवादीले ।
हाम्रो रन वन घुम्न आएका बिदेशीलाई आन्दोलनको के मतलब । बाघ, गैंडा र चरा हेरेर रमाउन आउनेलाई आम हडताल र जुलुसको के अर्थ ? तिनले के बुझ्छन् ? दुई तिन रात प्रक्रितिको स्वाद चाखेर प्रफुल्ल हुन आएका बिदेशीलाई नेपालको राजनितिको के अर्थ ? माधव नेपालको कुर्सी गुम्नु र प्रचण्डले पाउनुमा तिनलाई के फरक पर्छ ? अनि के हात्ती चढ्न नदिएर, डुंगा चढ्न रोकेर, जंगल जाने बाटोमा रोकेर लघार्दा ति पर्यटक माओवादीको आम हडतालमा आउँछन् लठ्ठी र गुलेली बोकेर ? ति माओवादीको आम हडतलामा सडकमा गुन्द्री हालेर बस्छन् ? पर्यटकलाई जंगल घुम्न रोक्दा कहाँनिर के फाईदा छ माओवादीलाई ?
माओवादीहरुले तिनै बिदेशी नागरिकलाई दुख दिएर आफ्नो र देशको बदनाम गरिरहेका छन् । चितवन घुम्न आएका पर्यटकहरुलाई हात्ती र डुंगा चढ्नबाट बञ्चित गरेर पठाएछन् माओवादीले । चितवन आउने अधिकांश पर्यटकले हात्ती चढ्ने चाहना राख्छन् । अनि तिर्छन् तोकेको रकम । हात्ती चढ्न बन्देज गर्नु, डुंगा चढ्न नदिनु, जंगल घुम्न अवरोध पुर्याउनु गरेपछि तिनले साँच्चै के सन्देश लिएर जालान् ?
सोमबार चितवन सौराहाका होटेलवालालाई थर्काउँदै माओवादी कार्यकर्ताहरुले हात्ती र डुंगा चलाउन रोक लगाए । त्यसो गर्दा महिनौं महिना अघिदेखि त्यसैको लागि रकम तिरेर आएका बिदेशीले हेर्न र घुम्न पाएनन्, ब्यापारीले दिन्छु भनेको सेवा दिन पाएनन् । त्यसो गर्दा कम्तिमा दुई सय पर्यटकको मन कुँडियो माओवादी देखेर । हडताल त भयो नै, फेरी ति बसेको ठाउँमै गएर अवरोध पुर्याउने ? अनेक अवरोधका बिच बस्ने खाने ठाउँमा पुगेकालाई फेरी ति बसेकै ठाउँमा गएर तर्साउने ?
ति दुई सय जना कति मुलुकका हुँदा हुन् ? कम्तिमा दुई दर्जन मुलुकका । अनि एकै दिन दुई दर्जन मुलुकका नागरिकले माओवादी बारे के सन्देश लिएर फर्किन्छन् आफ्नो थलो ? माओवादी जबर्जस्ति गर्छ, ब्यापार गरेर खान दिन्न, बिदेशीलाई दुख दिन्छ, ब्यपारीलाई धम्काउँछ, ब्यापार र राजनिति छुट्ट्याउन सक्दैन आदि आदि। अनि यसरि हरेक दिन त्यसो गर्दा माओवादीको कति देशमा बेइज्जती हुन्छ ?
अनि स्थानिय ब्यापारीबिच ? लुकी छिपी भएपनि माओवादीलाई चन्दा र सहयोग दिएकै छन् ब्यापारीले । ब्यापारीलाई जुनसुकै सरकार आ ओस के मतलब ? यता पर्यटक चिढिए, उता संसारभरि माओवादी बिरोधे सन्देश फैलियो अनि अर्को तिर स्थानिय ब्यापारीपनि चिढिए । माओवादीको बदनाम एकै चोति, चौतर्फी घाटैघाटा ।
कूटनितिक संबन्ध राम्रो बनाउनु पर्छ भन्ने माओवादीको यस्तो ब्यवहारले के कूटनिति राम्रो हुन्छ ? ति हरेक नागरिकले आफ्नो देशमा गएर भन्छन्-माओवादी भनेको खत्तम पार्टी हो, जबर्जस्ति गर्ने पार्टी हो । बरु तिनको शासन आयो भने तिनलाई किन सहयोग गर्ने भनेर नेपालनै जानु हुन्न भन्लान् । यत्तिपनि सोच्न सक्ने स्थानिय नेता छैन माओवादीको ?





