मन्दिरमा चट्याङ र बज्र रोक्न टुँडालमा नांगा चित्र
[हाम्रा टुँडालहरुमा किन नांगा कलाहरु कुँदिएका छन् भन्ने जिज्ञासा, कौतुहलता र खुल्दुली अझै प्रशस्तै बाँकि छन् जनमानसमा । यस विषयलाई खोतल्ने प्रयास गरेका छन् उपन्यासकार क्रिष्ण धरावासीले आफ्नो उपन्यास टुँडालमार्फत । टुँडाल संबन्धि बुझ्न थप सहयोग पुगोस भनेर उनको त्यहि उपन्यासबाट जानकारि यहाँ साभार गरिएको हो] ।
स्वर्गका राजा ईन्द्र आफुलाई सम्पूर्ण भगवानकापनि राजा भएकाले पुजनिय हुँ भनि गर्व गर्थे । कामकलाका पारङ्गत र स्रिङ्गारयुक्त शैलीका प्रशंसक इन्द्र हरेक समय नाचगान, यौन र मनोरञ्जनमै समय बिताउँथे । उनलाई लाग्थ्यो, उनको शासनमा त्रिलोकभरि नै सुखशान्ति छ र उनैको मात्र पूजा आराधना भइरहेको छ । एकदिन इन्द्रलाई भ्रमण गर्ने इच्छा भएछ । उनी भ्रमण गर्न प्रिथ्वी लोकतिर झर्दा माथि आकाशबाटै देखेछन्- एउटा ठूलो खाल्डोमा सहर र मन्दिरैमन्दिरहरु । रमाउँदै आफ्ना मन्दिर रहेछन् भनी हेर्न आउँदा त उपत्यकाभरिका त्यत्रा धेरै मन्दिरमा आफ्नो भने एउटैपनि मन्दिर रहेनछ । रिसले आकुल भएका इन्द्रले ती मन्दिरहरुमा बज्र प्रहार गर्न थालेछन् । उनको बज्र प्रहारबाट सबै मन्दिर ध्वस्त भएछन् । त्यसपछि एकाएक उपत्यकामा वर्षा हुन छोड्यो । अनिकाल र महामारी बढ्न थाल्यो ।
इन्द्रका त्यस रिसबाट डराएका मानिसहरुले कैयौं वर्षसम्म फेरि कुनै मन्दिरहरु बनाएनछन् । धेरै वर्षपछि एक जना सिद्धपुरुष कतैबाट उपत्यकामा आइपुगे । तिनले यहाँ ध्वस्त भएका मन्दिरहरु र सुख्खा र अनिकाल देखेर स्थानिय मानिसहरुसँग जिज्ञासा राखेछन् । समाजका केहि बुज्रुकहरुले मन्दिर ध्वस्त हुनाको कारण बताई तिनको पुन: जीर्णोद्वार नगरिएकोमा दुखेसो पोखेपछि सिद्धपुरुषले बताएछन्-
“”इन्द्र धेरै अहम् भएका घमण्डी देवता हुन् । उनलाई आफु जति सुन्दर र शक्तिशाली अरु कोहि भएकोमा विश्वास लाग्दैन । कामकला, सिँगार र मोजमस्ती नै उनको दिनचर्या हो । उनका तिनै अवगुणहरुका कारणले त्यति पूजा आराधना पनि हुँदैन । आफ्नो पूजा र प्रशंसा नभएकोमा तिनी प्राय: सधैं असन्तुष्ट रहन्छन् । इन्द्रलाई खुशि पार्ने र उनको रिसलाई कम गर्ने एउटा उपाय छ । त्यो उपाय प्रयोग गरेर मन्दिर बनायो भने ती मन्दिरमा चट्याङ र बज्र पर्दैन।”
सिद्धपुरुषको कुरा सुनेर मानिसहरु खुशि भए । सिद्धपुरुषले भने- “यौनका सबैभन्दा प्रशंसक हुन् इन्द्र । कसैका राम्रा पत्नीहरुपनि इन्द्रले मौका पाएसम्म छोड्दैनन् । पुराणमा यस्ता अनेकौं उदाहरणहरु छन् । त्यसैले यी मन्दिरका टुँडालहरुमा सोह्र कलायुक्त ‘रतासन’ का आक्रितिहरु खिपेर अड्याउने हो भने इन्द्रको कोपबाट यी मन्दिरहरु सुरक्षित रहन सक्छन् । साथै इन्द्रध्वजा लिई नगरपरिक्रमा गरि उत्सव मनाएमा ईन्द्र खुशि हुनेछन् र वर्षा भएर सहकाल फर्किनेछ ।”
सिद्धपुरुषको सल्लाह मुताबिक मन्दिरका टुँडालहरुमा ‘रतासन’ आक्रितिहरु कपी मन्दिरको जिर्णोद्धार तथा नवनिर्माण गर्न थालिएको र इन्द्रको आवेशबाट मुक्त रहेको तथा त्यसपछि मन्दिरहरुमा चट्याङ पर्न छोडेको कुरा पुराना बुढाबुढीहरु बताउँछन् । त्यसैबेलादेखि प्रत्येक वर्ष भाद्रशुक्ल द्वादसीका दिन ईन्द्रजात्रा मनाउने चलन चलेको किंवदन्ति पाइन्छ ।
अर्को कथा:
काठमाडौं उपत्यका अत्यन्त मलिलो थियो । प्रिथ्वीको उत्पतीदेखि नै एउटा विशाल तालको रुपमा रहेको यसलाई मञ्जुश्रीले चोभारमा काटेर पानी बगाइदिएको कयौं वर्षपछि बस्ती बस्न योग्य भयो । त्यसपछि वरपर डाँडाकाँडातिर बसेका मानिसहरु विस्तारै खाल्डोभित्र पसी यालाई अवाद गर्दै गए । कालान्तरमा यो एउटा देशमै परिणत भयो । यहाँ अनेक प्रकारका संस्क्रिति र पर्वहरु विकसित हुँदै गए । माटैमाटो भएको यस मलिलो जमीनमा जेपनि मौलाएर आउँथ्यो । अन्न, फलफूल, जडिबुटी, बिभिन्न मरमसला, वनस्पती आदि यति धेरै फल्थ्यो कि त्यसलाई खाएर वा संग्रह गरेर राख्नै कठिन हुन्थ्यो । सम्पन्नताले र सहकालले मोजमस्ती गर्ने, भोज गर्ने, पर्व मनाउने, जात्रा चलाउने, कमिएको सम्पत्तिलाई सार्वजनिक क्षेत्रमा खर्च गर्ने, मठमन्दिर, देवस्थलहरुको निर्माण गर्ने कार्य हुन थाल्यो ।
आर्थिक सम्पन्नताले मानिस दुई बाटामध्ये कुनै एकलाई रोज्न थाल्छ । मोक्षमार्ग र काम मार्ग । मोक्ष मार्गमा लाग्नेहरु धार्मिकतातिर देखिन्छन् र काम मार्गतिर लाग्नेहरु इहलौकिक शरीरसुखतिर लाग्दछन् । (समाप्त) ।
टुँडाल संबन्धि अघिल्ला ब्लगपनि पढ्नुस्-
नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र





