राम्रो ‘म’ को महात्मय

-रामजी बलामी /मकवानपुर

कपुरी ‘क, भकारी ‘भ’ को त्यती गुणगान नगाए पनि राम्रो ‘म’ को प्रयोग भने नेपालमा अधिकतम रुपमा नै भइरहेको छ । खै ‘भ’ लाई पुकार्दा भकारी बोक्नु पर्ला भनेर हो की ? अनि ‘म’ राम्रो भएर नै ‘म’ लाई जताततै सजाएको हो, एकछिन त अलमल मै परें । जे होस यो ‘म’ भन्ने शब्दको प्रयोग नहुँदो हो त आज नयाँ नेपालको गन्ध नै नपाउने थिएँ हुँला सायद । बालक देखी बृद्धसम्म सबलाई मन पर्ने “म’ लाई हामीले मात्र कसरी नकार्ने त होईन ?

त्यसैले ‘म’ लाई नै पुकार्दै यो गुणगान गाउन लागेको छु । हामी भन्दा पनि ‘म’ र मलाई भन्ने थेगोले आज नेपाली शब्दकोषलाई नै चुनौती दिलाएको छ । मस्ट पपुलर र मस्ट रिपिटेडको सुची बनाउने हो भने ‘ऋ’ र ‘ज्ञ’ ले त स्थान नै नपाउने भै सक्यो । कसरी भन्नुहोला फेरी, ऋषी र ज्ञानी बन्न लायक नेपाली को छन त ? यदि सबैले ज्ञानीको भाव ब्यक्त गरेका भए अहिले जस्तो वर्षमा दुई पटक सरकार फेर्नुपर्थ्यो ?

लुइ चौधौंले “म नै राज्य र राज्य नै म हुँ” भनेर प्रचार गर्दा जे परिणाम भोग्नु पर्‍यो आखिर नेपाली हालत पनि त्यो भन्दा कम नहोला जस्तो लाग्छ । किनभने यहाँ ‘म’ को प्रचार हरेक क्षेत्र अर्थात “नुन देखी सुन” सम्म नै फैलीएको छ । अझ राजनीतिमा त झन ‘म’ बिना केही पनि हुदैन । कतै ठुलो पदपूर्ती गर्नु पर्‍यो कि मेरो मान्छे । कतै चोर, गुण्डा छुटाउनु परे पनि मेरै मान्छे । अनि चिल्लो कुर्सीमा घुम्न त ‘म’ भन्दा अरु योग्य नै छैन भन्ने भावना यत्रतत्र र्सवत्र र्छाईसकेको छ । “मै खाँऊ, मै लाउँ मोजमस्ती मै गरुँ अरु सवै मरुन् दूर्बलहरु” भनेर त्यसै भनेका हैन रहेछ ।

गिरिजाबावुले सुजतालाई उपप्रधानमन्त्रीको कुर्सीमा बसाउँदा अनौपचारीक रुपमा विरोध भए पछि सूर्यको अगाडी चन्द्रमाको प्रकाश जस्तै विलाउन बाध्य भए । विजय कुमार गच्छेदारले आफ्नो गच्छे भन्दा बढी अरबौको पुल बनाउन तम्सिए । प्रधानमन्त्रीज्यू ले त झन ‘म’ को ठाडै स्विकार गर्दै भाइहरुको समेत भलाइ गरिदिनु भयो ।

यो त केही यसो उदाहरण मात्र हो । उता भारतले पनि ‘म’ कै अनुसरण गरेर झन्डै झन्डै नेपाल मेरै हो भन्न लागि सक्या थे । आखिर गौतम बुद्ध भारतमा जन्मेको भनेर टार्‍यो । ‘म’ को प्रयोगले केहीले राहत पाए पनि कोहीले भने नरकको दुःख भोग्न बाध्य छन् । मेरै श्रीमती हो भन्दै भारतको कोठीमा पूर्‍याइएका नेपाली चेलीको वेदना पनि ‘म’ भित्रको रामकहानी नै हो । अनि मेरै मान्छे भनेर बिश्वास गर्दा दलालीले र्सवस्व पचाइदिएको घटना पनि कम दुःख दायक पक्कै छैनन् । अनि आफ्नै मान्छे भनेर विश्वास गर्दा आफ्नो र्सवस्व सहित अर्कैको दुलही भएको घटना पनि सहि सक्नुको छैन ।

त्यसैले “म” शब्दको चमत्कारी उपयोग अझ भनौं बहुउपयोगले त नेपाली समाजमा निकै भूइँचालो ल्याईसकेको छ । ‘म’ बिना अब नेपालीहरु बाँच्न पनि अर्समथ छन् । ‘म’ को भरमा नै दैनिकी चल्ने हुनाले नै नेपालमा स्वार्थ र अस्थिरता जस्ता कुराहरुले आश्रय पाईरहेका छन । अनि एकअर्कामा दोषारोपण गर्दै अमूल्य समयको दुरुपयोग गरिराखेका छन् । यस परिवेशमा फाइदा पुग्ने भनेको त्यही ‘म’ लाई नै हो अनि जो इमान्दार छ, जो सहयोगी र अर्काको हित चाहन्छ त्यसलाई यो समाजले कुल्चेको छ । अनि माथी उक्लिने भर्‍याङको खुट्किलो फुत्काईदिएको छ र खुट्टा तान्ने प्रवृतीले स्थान जमाएको छ । फलस्वरुप नयाँ नेपालमा ‘म’ शब्दको उपयोग ब्यवहारिक र लिखित रुपमै सदुपयोग होस ता कि विदेशी ‘प्रभु’हरुको आँखा नलागोस ।

(बज्रबाराही, मकवानपुरका बलामी हाल जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वरमा अध्ययन गर्छन्)

[email protected]

तपाइँको प्रतिक्रिया