स्वस्थ बन कोइराला !! स्वस्थ

कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला निकै गलेछन् । प्राय: दुई घण्टाजति प्राणवायू (अक्सिजन) दिने र दुई घण्टा नदिने गरिएकोमा अहिले २४ घण्टै अक्सिजनमा राखिएको रहेछ । यो सामान्य अवस्था होइन । चिकित्सकहरुलेपनि यस अघि कोइरालाको स्वास्थ्यका बारेमा त्यत्ति मुख खोल्दैनथे । तर अहिले खोलेका छन् । कोइरालाको स्वास्थ्य निक्कै खराब भएको खुलेरै बताएका छन् । यसले दुखको संकेत गरेको हो कि भन्ने भय छ । दुई साता लामो यूरोप भ्रमणमा रहेकी परराष्ट्र तथा उपप्रधानमन्त्री गिरिजापुत्री सुजाता कोइराला बाबुको स्वास्थ्य स्थितिकै कारण भ्रमण छोट्याएर स्वदेश फर्किने भएकि छन् । स्रोतहरुका अनुसार छोरी सुजातालाई चिकित्सकहरुले बाबुको स्वास्थ्य चिन्ताजनक अवस्थामा रहेको र कुनै भर नभएको बताइदिएपछि स्वदेश फर्किन लागेकि हुन् ।

कांग्रेसभित्र नेत्रित्वकालागि रामचन्द्र पौडेल, सुशिल कोइराला, शेरबहादुर देउवा, खुमबहादुर खड्का लगायतका नेताबिच लडाभाँती चलिरहेको छ । तिनलाई मिलाएर लैजान सक्ने एक मात्र नेता उनै कोइराला हुन् । भारतले यहि बेला नेपालको राष्ट्रियतालाई कमजोर बनाएर दाइँ हाल्न खोज्दै छ । रामचन्द्र पौडेल, खुम बहादुर खड्का लगायतका नेतालाई प्रभावमा पारेर प्रयोग गर्न खोजिरहेको छ । एमाले, नेपाली कांग्रेस, माओवादी र फोरम लगायतका पार्टीमा तिब्र चलखेल गरेर फुटाउने र आफ्नो हितमा प्रयोग गर्न उद्दत पनि छ भारत यहि मौकामा ।

यस्तो बेला कम्तिमा नेपाली प्रजातान्त्रिक खेमाबाट होस् वा नेपाली कांग्रेस बाट अथवा वर्तमान सरकार बाटनै । भारतसित नगल्ने र सबैलाई हप्काएर, थर्काएर, फकाएर वा तर्कले साथै लिएर हिँडाउन सक्ने नेता उनै गिरिजा प्रसाद कोइराला हुन् । नेपालको प्राजातान्त्रिक आन्दोलनमा उनका दोष र गुण मनग्गेनै छन् । तरपनि अहिलेको कमजोर अन्यौलपूर्ण राजनितिक अवस्थामा कोइरालाको भूमिका महत्वपूर्ण छ ।

यतिखेर  देशमा संबिधान छैन । अन्तरिम संबिधानमा चलेको छ । संबिधान सभा बिघटन हुने हल्ला छ । देशमा शान्ति र अमन चयन फिटिक्कै छैन । दशक लामो जनयुद्दबाट आएको पार्टीको जनसेना शिविरमा छन् । सरकारमै सम्मिलित केहि दल र तिनका नेता युद्द भड्काएर फेरी देशलाई रगतको पोखरीमा धकेल्न चाहिरहेका छन् । देशमा भोली कतिखेर के हुने हो संशयपूर्ण अवस्था छ । यस्तो बेला  छलफल, बहस र समझदारी बनाएर सबै पार्टीलाई विश्वासमा लिई संबिधान बनाउन लागिपर्ने अग्लो कदका सबैले पत्याउने नेता उनै हुन्। त्यसैले यो अवस्थामा उनको खाँचो ठूलो छ ।

दशक भन्दा लामो हत्या र हिंसाको राजनीतिलाई शान्तिपूर्ण मार्गमा ल्याउने एक प्रमुख भूमिका उनको थियो ।  देशबाट गन्हाएको राजतन्त्र मिल्काउन अग्रसर पनि उनी भए । यद्द्पी उनको पार्टी त्यतिबेला संबैधानिक राजतन्त्रको वकालत गर्थ्यो । संबिधान सभाको निर्वाचन पनि सन्तोषजन्य रुपमा फत्ते गरे। त्यसैले पनि कोइरालालाई कम्तिमा देशमा नयाँ संबिधान बनेको देख्ने, शान्ति संझौता टुंगोमा पुगेर देशले आर्थिक क्रान्तितिर पाईला चालेको हेर्ने अवसर र जिम्मेवारी दुबै ईतिहासले दिनुपर्छ । त्यसैले, स्वस्थ बन कोइराला !! स्वस्थ।

तपाइँको प्रतिक्रिया