हाम्रो…हाम्रो…भनेर थाल ठटाउने कि बच्ने र बचाउने ?

-रामजी बलामी / मकवानपुर

केही समय देखि भूकम्पको प्रभावले हरेक मानिसको मनमा चिसो पसिरहेको छ । अघिल्लो वर्ष चिनमा गएको शक्तिशाली भूकम्पले ठुलो भौतीक तथा मानवीय क्षती पुर्‍याएको थियो । यस वर्षपनि नयाँ वर्षसँगै हाईटीमा आएको प्रलयले करिब २ लाख मानिसको ज्यान टप्प टिप्न भ्यायो । यसको हल्ला ननिभ्दै पुनःचिलीमा गएको ८.८ रेक्टर स्केलको भूकम्पमा परि थुप्रै भौतीक क्षती हुनुको साथै हजारौले ज्यान गुमाएका छन् ।

नेपालमा पनि रसुवालाई केन्द्रविन्दु बनाएर धेरै पटक भूकम्पले चेतावनी स्वरुप लक्षण देखाईसकेको छ । त्यसैले यो भन्न सकिन्न कि नेपालमा भूकम्प आउँदैन । त्यसैले रोग लागेर उपचारको लागि भौंतारिनु भन्दा रोग नै लाग्न नदिनु बेश भनेझै अहिले चलाखी अपनाउनुपर्ने बेला आएको छ । कहिलेकाही फैलीने डरलाग्दो हल्ला र विश्वासले त झन हाम्रो मनलाई त्रसित पार्ने काम पनि भइरहेको छ ।

वि.सं. १९९० र वि.सं. २०४५ सालमा आएको भूकम्पले नेपालमा ठुलो जनधनको क्षती भएको थियो । जसको स्मरण गर्दै अझै पनि हाम्रा बा,बाजेहरु झस्कने गर्छन । भूकम्पको विषयमा जुनसुकै समाजमा जस्तोसुकै धारणाले बुझिए पनि आखिर यो भनेको महाप्रलय नै हो जसले जिउँदो प्राणीलाई कर्‍याक्क निमोठेर लैजान्छ ।

भूकम्प आउनु भन्दा अगाडी चाल पाउन जनावरहरुको सहारा लिन सकिन्छ भन्ने धारणा पनि पाइन्छ । तर त्यो त्यती संभव भने होइन । भूकम्प भने पछि सानोमा एक पटक भूकम्प आउँदा हाम्रो…. हाम्रो ….भनेर थाल ठटाएको याद आउँछ । तर हाम्रो भन्दैमा यसले रोक्नेवाला पक्कै छैन  । अब पनि नेपालमा पहिले जस्तो भूकम्प आएमा त्यो बेलाको भन्दा निकै धेरै क्षती हुने संभावना छ । अब्यवस्थित शहरीकरण, पौराणिक भौतीक संरचनाहरु, स्पष्ट सुरक्षा नितिको अभाव अनि सरकारी उदासिनताका कारण हामीले अकालमा मृत्यु वरण गर्नुपर्ने छ ।

नेपालमा भौतीक संरचना बनाउँदा ठेकेदारीमै दादागीरी गर्छन । जसको छर्लङ्ग रुप भनेको नेपालमा फैलीएको तिब्र भ्रष्टाचारको जालो हो । ठुल्ठुला महल, ब्यापारीक भवन देखि विकास निर्माणका कामहरुमा समेत बजेटलाई खल्तीमा हाल्दै कमसल स्रोत साधनको प्रयोग गर्छन । बाहिर चिल्लो भित्र खस्रो घर बनाएर घरको ठेकेदारी गर्ने  ठेकेदारहरुको ब्यापारीक प्रतिस्पर्धाले त अझ भूकम्पलाई सघाउ पुर्‍याएको छ । असन जस्तो ब्यस्त अनि टेकू लगायतका क्षेत्रमा भूकम्पको प्रभाव कस्तो रुपमा पर्ला ? के सरकारले केहि नीति बनाएको छ त्यसलाई रोक्न ?

बरु अब नेपालमा तदारुकताका साथ जनचेतना अभियान संचालन गर्नुपर्छ जसले केहि मात्रामा भए पनि दूर्घटना न्युनीकरणमा सघाउ पुग्दछ । कुनै पनि काम परेर,पढेर वा देखेर जानिन्छ भने झै अब हामीले भूकम्पको महामारी धेरै देखिसकेका छौ । त्यसैले अब पनि केहि नसोची पर्छ तर्छ भनेर बस्नु भनेको बाघको गुफामा गएर बस्नु सरह नै हो ।

झाडापखाला, जण्डिस, टाइफाइड जस्ता रोगले हामी जस्ता गरिबी नेपालीलाई मात्रै लैजान्छ । तर भूकम्प भन्ने यो रोगले धनी, गरिब, असल, खराब, नेता, भ्रष्त सवैलाई कुप्लुक्क निलिदिन्छ । त्यसैले अरुबेलामा चिल्लो कुर्सीको लागि टाउकोको मूल्य तोकेपनि आपत्तमा सहयोगको भावना जाग्रित गरौ, भूकम्पबाट आफु पनि बचौं , अरुलाई पनि बचाऔं ।

(बज्रबाराही, २ मकवानपुरका बलामी हाल जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वरमा अध्ययन गर्छन्)

तपाइँको प्रतिक्रिया