आफुभन्दा बढी छोरीको चिन्ता

-खम्मसिंह खत्री/अछाम

‘चिन्ता त मेरो भन्दापनि छोरीको पो लाग्नथाल्यो, पेटबाटै एचआईभी संक्रमित भएर जन्मिएकी छोरीको भविश्य पनि मेरोजस्तै दुःखैमा वित्नेभयो ।’ आफ्नो चार वर्षे संक्रमित छोरीको भविष्यप्रति कलशीदेबी साँउदले गहिरो चिन्ता ब्यक्त गरिन् । ‘आफू त मरेर गए तर हामी दुई आमा छोरीलाई मर्नु न बाँच्नु बनाएर छोडे’ आफ्नो श्रीमानलाई इङ्गति गर्दै कलशीले भनिन् । अछामको नन्देगडा गाविस वडा नम्बर १ मौभेरीकी २८ वर्षिया कलशी एचआईभी संक्रमित महिला हुन् । कलशा मात्र होईन उनको चार वर्षे कान्छी छोरी धनकला साँउद पनि संक्रमित छिन् ।

कलशाका श्रीमान झंकर साँउदको ३२ वर्षे उमेरमै एचआइभी संक्रमणबाट दुई बर्ष पहिले मृत्यु भएको हो । १४ वर्षे उमेरदेखी नै घरपरिवारको लालन पालनका लागि भारत नोकरी गर्दै आएका झंकरले एचआईभीकै कारणले आफ्नो ज्यान त गुमाए । निर्दोष श्रीमती र छोरीलाई पनि एचआइभी संक्रमित बनाएर गए । उनको आठ वर्षे जेठो छोरी बिन्द्रा भने एचआईभी संक्रमित छैनन् ।

श्रीमानको मृत्यु एचआइभी एड्सबाट भएको थाहा भएपछि तीनवटै आमाछोरीको रगत परिक्षण गर्दा दुई आमाछोरी पनि संक्रमित देखिएको उनले वताईन् । ‘श्रीमानले गरेको गल्तिको सजाय आज म र नावालक छोरीले भोगिरहनु परेको छ ।’ आँखाबाट आँसु झार्दै कलशीले भनिन्-‘दैवपनि कस्तो रैछ गल्ति नगर्नेलाई पनि सजाएँ भोगाउने ।’ धनकलालाई अहिले गाँउकै मंलासैनी प्राविले निशुल्क रुपमा पढाएको छ । उनी अहिले कक्षा १ मा पढ्छिन् । जन्मदैमा एचआइभी संक्रमित

भएकी छोरीको जिन्दगीको बारेमा उनलाई धेरै चिन्ता छ । ‘यसको जिन्दगी कसरी वित्ने हो ? भोली कसैले बिहे गरेर लिन्छकी लिँदैन् ।’ धनकलालाई काखमा राख्दै कलशीले भनिन्-कसरी लालन पालन गर्ने भन्ने पनि निकै चिन्ता बढेको छ ।

गरिबीका कारण बर्षभरी काम गरेर पनि साँझ बिहान खानलाई नपुग्ने कलशीको परिवारलाई धन कमाउने श्रीमानको मत्यु भएपछि थप आर्थिक संकट परेको छ । गाँउमा कसैलाई रुपैँया सापटी माग्दापनि पत्याँउदैनन् । उनले भनिन् ‘डाक्टरले पोसिलो खानेकुरा खानु भन्छन् । घरमा खानलाई सुख्खा भात र रोटीपनि छैन । सुरुमा एचआइभी परिक्षण गर्नुपर्छ भन्ने संस्थाहरु आजभोली भने कता गए थाहै भएन’ उनले भनिन् । ‘म जस्ता एचआइभी संक्रमितहरुलाई सहयोग गर्ने धेरै संघ संस्था छन् भन्छन् । तर मलाई भने कोही पनि सहयोग गर्न आएका छैनन् ।’

जेठो छोरी आठ कक्षामा पढछिन् । दुबैजना छोरीको लालन पालन र जेठो छोरीको पर्ढाई खर्च जुटाउन निकै समस्या परेको उनले वताइन् । आफ्नो जिवनप्रति दिक्क भएर उनले अगाडी भनिन् ‘मैलै त अब बाँचेर केही काम छैन् । एकातर्फ साँझ बिहान के खाने भन्ने चिन्ता त अर्कोतिर जन्मदै एचआईभी संक्रमित भएकी छोरीको भविष्य के हुने हो ?’

एचआईभी संक्रमित भएको थाहा भएपछि दुवै आमा छोरीलाई गाँउमा सबैले हेलाको नजरले हेर्ने गरेको उनले वताईन् । ‘सुरु सुरुको तीनचार महिनामा आफ्नै सासु ससुरा र देवर देउरानीले एचआईभी सर्छ भनेर दुवै आमा छोरीलाई छुन पनि दिएनन्’ उनले भनिन् । ‘अरुलाई छुनत कता हो कता आफ्नै जेठो छोरीलाई पनि म र मेरो छोरीको नजिक आउन दिएनन् ।’

आफुसँग बसेपछि एचआईभी सर्छ भनेर गाँउका जेठानी देउरानीहरुले महिनावारी भएको समयमा सँगै गोठमा पनि बस्न नदिएको उनले वताईन् । सँगै गोठमा बस्न नदिएपछि असाढ, श्रावणको बर्खे झरीमा खुल्ला आकासमुनी मकैबारीमा पाल टाँगेर सुतेको उनले अनुभव सुनाईन । उनले घरपरिवार तथा गाँउलेहरुले पहिलेको भन्दा आजभोली केही कम भेदभाव गर्ने गरेपनि छुँदैमा एचआईभी र्सर्दैन भनेर ढुक्कले ब्यवहार भने अझैपनि नगरेको वताईन् । एचआईभीका कारणले दिन प्रतिदिन शरिर कम्जोर हुँदै जान लागेको समयमा घरपरिवारको माया पाउनुको सट्टा उल्टै छोयो भने र्सछ भन्ने गलत सोचाईबाट परिवारले गर्ने ब्यवहारले उनी झन् कमजोर बन्दै गइरहेकी छिन् । उनका ससुरा गोरे साँउदले आफूहरुलाई एचआईभी संक्रमित भएकाहरुलाई छुँदा यो रोग र्सर्दैन भनेर थाहा नभएको वताए ।

सौजन्य : एचआईभी खबर बुलेटिन, धनगढी, कैलाली

तपाइँको प्रतिक्रिया