लाचार ग्रिहमन्त्री टाँस्सिइरहने पदमा ?
हाम्रो देशमा जसले जे गरेपनि हुने रहेछ । जति नैतिकहिन भएपनि पद छोड्नु नपर्ने । जति लाचार भएपनि कुर्सीमा टाँस्सिइरहने । आफ्नो जिम्मेवारी एक चिम्टी पुरा गर्न नसकेपनि मन्त्री हुँ भन्दै राज्यको सुबिधा लिएर मस्ति गर्न पाइने । त्यस्तै लाचार, नैतिकहिन, गैह्र जिम्मेवार र नालायक रहेछन् हाम्रा ग्रिह मन्त्री भिम रावल ।
देशको त्यत्रो सञ्चार ग्रिहका मालिक जमिम शाहको हत्या भयो । प्रहरीनै मिलेछन् । देशमा त्यत्रो घटना हुँदा सुरक्षा अंगका तिनै जना प्रमुख लिएर बिदेश भ्रमण गर्न गए सबै लाज पचाएर । जमिमका हत्यारा पत्ता लगाउन अहिलेसम्म सकेका छैनन् नालायक ग्रिहमन्त्रीले ।
हिजो फेरी जनकपुरमा अर्का सञ्चारकर्मी टुडे एफएमका सञ्चालक तथा जनकपुर टुडे दैनिकका प्रकाशक अरुण कुमार सिघानियाको हत्या भयो । दिउँसै हत्या गरेर हत्यारा फरार भए । उनको सुरक्षा गर्न त परैजाओस मोटरसाईकलमा मज्जाले आएर दिउँसै हत्या गर्नेलाई समेत उनले पक्राउ गर्न सकेनन् । त्यस्तो असक्षम हुँदापनि पदमा टाँसिइरहेका छन् उनी ।
जनकपुरवासीलाई सत्य तथ्य समाचार दिएर साथ र सजक गर्दै आएको स्थानिय लोकप्रिय सञ्चार संस्थाकै सञ्चालकको सुरक्षा गर्न त सकेनन् ग्रिहमन्त्रीले । हत्यापछि अपराधीलाई पक्रनपनि सकेका छैनन् । गत वर्ष हत्या गरिएकी पत्रकार उमा सिं पनि यहि एफएममा कार्यरत थिईन ।
हरेक नागरिकको सुरक्षा गर्ने जिम्मेवारी लिएर, कसम खाएर तिनको नामबाट उठेको कर कुम्ल्याउँदै आएका ग्रिहमन्त्रीलाई लाज लाग्नुपर्ने हो पदमा टाँस्सिइरहन । ग्रिहमन्त्री रावलले शाहका हत्यारा पक्राउ पर्नै आँटे भनेर ढाँटेको निक्कै भयो। अहिले सम्म पक्राउ त के सुइँको सम्म पाउन सकेका छैनन् । अब हिजो हत्या भएका सञ्चारकर्मीको विषयमा के भनेर ढाँत्ने हुन् । पदमा टाँस्सिएर राज्य लुट्नकालागि उनले फेरी केहि न केहि बहाना बनाउने छन् ।
ब्यापारी, सञ्चारकर्मी, सामान्य नागरिक कहिँ कसैको जिवन सुरक्षित गर्न नसक्ने लाचार ग्रिहमन्त्री किन पदमा बसिराख्ने ? बरु देशमा ग्रिह प्रशासननै छैन भन्ने भए त बरु सर्वसाधारण नागरिकले नागरिक सुरक्षा समूह बनाएर आफ्नो सुरक्षा गर्दा हुन् । नागरिकलाइ अलिकति भएपनि करको भर पर्थेन । यदि ग्रिहमन्त्रीसित अलिकतिपनि नैतिकता, ईमान्दारिता र जिम्मेवारीबोध छ भने तुरुन्त राजिनामा दिनुपर्छ । नागरिक सुरक्षा जे सुकै होस् तर पदको लागि मरिजाने यस्ता नैतिकता नभएका ग्रिहमन्त्रीले राजिनामा नदिए प्रधानमन्त्री स्वयंले कुर्सिबाट खुर्मुर्याएर झार्नुपर्छ ।





