छोरो हिँडेपछि बुहारीसँग गुनासो
राजगद्दि गयो । हिजो सम्मका इष्टमित्रपनि टाढिएकै थिए। अगेनामा धपधपि आगो बलिन्जेल पो सबैले तापे । दाउरा सकिए, आगो निभ्यो। अगेनो सेलायो अनि बस्छ को चिसो अगेनो तापेर ? लागे सब लाखा पाखा । हुँदा हुँदा त एउटै छोरो पनि घुर्क्याउँदै र थर्काउँदै, ठुस्सिँदै र झर्किँदै लाग्यो सिंगापुर । झन केहि समयपछि त नातिनातिना र बुहारीले पनि छोड्न कत्ति बेर छैन । मनका बह कहाँ पोख्ने ? बेदना कसलाई सुनाउने ? पूर्व राजा ज्ञानेन्द्र र रानी कोमललाई दिन काट्न सजिलो भएको छैन । त्यसैले पूर्व राजा र रानीले हिजो आफ्नो छोरो सिंगापुर हान्निएको दोस्रो दिन नाति नातिनासँग बिताए ।
स्रोतका अनुसार उनीहरु साँझ निर्मल निवास आएका थिए नाति नातिना खेलाउन, बुहारीसँग गुनासो पोख्न । साँझको खाना निर्मल निवासमै खाए । निराश मुद्रामा निर्मल निवास छिरेका उनीहरुले निकै बेर बुहारी हिमानीसँग छलफल गरेका थिए । उनीहरुले बुहारीलाई संझाउने कोसिस गरेका थिए । छोराको सिंगापुर यात्राबारे धारण बुझ्नपनि खोजेका थिए । बाबुकै कारण आफु राजा हुन नपाएको भन्दै आफुसँग आगो भएकाले पनि निर्मल निवासमा पूर्व राजा र रानीको आगमन सहज थिएन । त्यहि असहजता र मूर्ख छोराले जे पनि गर्नसक्छ राजा हुन नपाएको झोंकमा भन्ने डरले हुनुपर्छ ज्ञानेन्द्र छोरो हिँडेपछि बल्ल निर्मल निवास छिरे नाति नातिना र बुहारी भेटन ।





