नेपाल नपुग्दा त्रास, पुगेपछि क्या शान्त !

नेपाल जाने भन्नासाथ धेरैको मनमा त्रास उत्पन्न हुने रहेछ । झैझगडा छ । बाटो बन्द हुन्छ । हड्ताल उत्तिकै । घण्टौं बस रोकिएर बाटोमा बिजोक पर्छ अनि खान पाइँदैन । हत्या र हिंसाले आफ्नै ज्यान जोगिएला कि नजोगिएला के जानु ? गएपनि ओहो कसरि जानु ? नेपालै नगएकालाई मात्रै होइन, नेपाल पटक पटक गएकालाईपनि त्यस्तै हुने रहेछ । अध्ययन र अनुसन्धानको थलोका रुपमा नेपाल रोज्नेमापनि त्यस्तो त्रास हुने रहेछ नेपाल जानु अघि ।

अघिल्लो महिना म जर्मनीको पूर्वी भाग लाइपजिख पुगें । त्यहाँ लाईपजिख विश्वबिद्यालयकि अनुसन्धानदाता डायना साकोसित अन्तर्वार्ता गरें । उनी नेपालको याख्खा भाषामा अनुसन्धान गरिरहेकि छन् पूर्वी नेपालको एउटा गाउँमा । अन्तर्वार्ता लिईसकेपछि त्यहि विषयमा मात्रै सिमित रहने कुरै भएन ।  नेपालका अन्य विषयमापनि यस्ता जर्मन विशेषज्ञहरु के ठान्ने रहेछन् भन्ने लाग्नेनै भयो ।

भाषातिर अहिले नजाउँ । उनले भनेको त्यहि प्रसंग अलि घत लाग्यो । यि र यि जस्ता नेपालमा अनुसन्धान गर्ने अनुसन्धानकर्मीलाई नेपाल घरि घरि गैराख्नु पर्छ । अनि जर्मनीको शान्त वातावरण । बाउ बाजेले युद्द लडेपनि यिनले लड्नु, देख्नु परेको छैन । त्यहि भएर यिनको मानसपटलमा कम्तिमा आफ्नो गाउँठाउँको युद्द र मारामारले घर गर्न पाएको छैन । त्यसैले पछिल्लो पिढी छिटो तर्सिन्छ । आतंकित बन्छन् ।

यिनीपनि जर्मनीमा रहँदा नेपालका समाचार हेर्छिन् । मारामार गरेको । सडकमा ढुंगा तेर्स्याएको । नारा र जुलुस । सडकमा रोकिएका बसका ताँती । राजनितिक द्वन्द । सञ्चार माध्यममा यिनै प्रमुखताका साथ आउँछन् । अनि लाग्छ, नेपाल जान निक्कै गाह्रो छ। अशान्ति छ । मन भरि त्रास मडारिएर आउने रहेछ । “यहाँ रहुन्जेल नेपाल जाने सोच बनाउँदापनि मनमा त्रास निस्कन्छ” सुनाउँदै थिईन उनले ।

अध्ययन र अनुसन्धानको क्षेत्र नै नेपाल बनाएपछि नगै भएन । फेरी नेपालका गाउँठाउँमा पुगेर हेरेका सुन्दर द्रिष्य, गाउँको स्वच्छ हावा, प्राक्रितिक छटा, खुलेका हिमाल र गाउँले जिवन, कत्ति कपट नगरि पाइने आत्मियता ! त्यसकोपनि संझना आउने रहेछ । अनि कामका सिलसिलामा चाखे भोगेका तिनै क्षण टिल्पिलाउँदै उनी नेपाल पुग्छिन् । ओहो त्यहाँ पुग्दा त त्यस्तो केहि लाग्दैन ।

जिवन उसैगरि चलिरहेछ । घाच्च घुच्च यदा कदा होला नत्र त्यत्रो भयंकर कठिनाई केहि भोग्नु पर्दैन । शहरतिर केहि कोलाहल र बन्द हड्ताल भएपनि गाउँ गाउँ घुम्ने लाई त्यसले छुँदैन । गाउँको ढिकी र जाँतो पर्दैनन् हडतालभित्र । खोसिँदैनन् गाउँका निर्मल मुस्कान । छहरा र कुवाहरुको पानीलाई शहरको राजनितिक हडतालले अवरुद्द गर्दैन । गाउँ र पाखामा चर्ने गाइभैसीं र भेडा बाख्रा उत्तिकै दौडिरहेका हुन्छन् । न त पर्छन् गाउँमा सत्ता ढाल्ने, सम्हाल्ने र फेरी लडाउने गफ नै प्राथमिकतामा । स्याउलाको भारी, दाउराको डोको बोक्नेको लस्कर उसैगरि देखिन्छ । चौतारोको गफ र खेतबारीको जिवनलाई शहरका बन्द हडताल र राजनितिले हस्तक्षेप गर्न सकेको हुँदैन । त्यसैले गाउँघर फन्को लाउँदा त्यहि भेटिन्छ । उस्तै भोग्न पाइन्छ । डायना शहरमा जे भएपनि गाउँमा काम गर्ने, बस्नेलाई खासै फरक पर्दैन भन्ने तर्क गर्छिन् । बिदेशमा सुनिएझैं, सञ्चारमा देखिएझैं नेपालमा खतरा नहुने अनुभवपनि सुनाउँछिन् । “यसैपनि शहर मा बसिराखिने होइन, शहर बस्न र घुम्न योग्य पनि छैन । आखिर घुम्ने नै गाउँवस्ती नै हो, शहरमा जे जसो भएपनि नेपाल जानेले केहि डर मान्नु पर्दैन” सुनाईन उनले ।

बिदेशमा नेपाल भनेपछि किनपनि त्रास हुन्छ भने नेपालमा निक्कै ठुला घटना भए मात्र तिनले प्राथमिकता पाउँछन् पश्चिमी सञ्चार माध्यममा । नेपालको समाचारले कि त भयंकर बाढिले ठुलो क्षती गरेको, कि त ठुला चौकी आक्रमणमा सयौं मारिएका, कि त दरबार हत्याकाण्ड जस्तै घटना । यस्ता घटना आएपछि नेपालको चर्चा हुने गर्छ । ति सेलाउँछन् । समाधान हुन्छन् तर त्यसपछि सञ्चार माध्यमले नेपालका बारेमा चर्चा नै गर्दैनन् । आफ्नो देशको सञ्चार माध्यममा नेपाल बारे जे देखियो त्यसपछि साम्य भएको, स्थिति बदलिएको नदेखिँदा मानिसहरुमा त्यसैको चित्रले ओगटेर बस्छ । अनि लामो समयसम्म उनीहरु नेपालको नकारात्मक चित्रण साँचेर बस्छन् ।

तपाइँको प्रतिक्रिया