मध्यराति सुटुक्क बाहिरिनुअघि पारसको पीँडाः
बीसजना मर्दैमा बुबाले गद्दी छाड्नुपथ्र्यो ?
काठमाडौं । ‘आन्दोलनका बेला मलाई गद्दी छाडिदिएको भए अहिले हाम्रो यो हालत हुन्थ्यो ?’
नेपाल छाड्नु अघिल्लो साँझ निर्मल निवासमा भेला भएका पूर्वशाही नातेदारहरूसँग पूर्वयुवराज पारसले भने– ‘बुबाले त्यहीबेला मलाई गद्दी नछाड्दा त्यहीँबाट बिग्र्यो कुरा, छाडे पनि कि १५–२० हजार मारेर छाड्नुपथ्र्यो, कुनचाहिँ देशमा २० जना मरेर यति ठूलो चेन्ज भा‘छ ?’
अन्तिम अवस्थामा सहजै नारायणहिटी छाडेर गणतन्त्र संस्थागत गर्न सहयोग पुर्याएका पिता ज्ञानेन्द्रप्रति मात्र पारसले असन्तुष्टि जनाएनन्, नेपाली जनताप्रति पनि उनले आक्रोश पोख्दै भोलिपल्टै सिंगापुरतर्फ हान्निए । ‘गणेशमानले त्यत्रो संर्घष गरे, आखिर तिनलाई यिनै जनताले सडकमा पुर्याए, आज १५ हजार मान्छे मार्ने माओवादीलाई यिनले भोट खन्याएर जिताए‘- कहिल्यै श्रीपेच लगाउन नपाउने युवराजमध्येका दोस्रा (पहिला त्रैलोक्य) पारसले नेपाली जनतालाई यसरी सरापे– ‘नेपाली जनता सेल्फिस (स्वार्थी) छन्, यिनको कुनै भर छैन ।‘ सोमबार बेलुकी निर्मल निवासमा भएको जमघटमा पूर्वयुवराज पारसले यस्तो नैराश्यता मिश्रति आक्रोश पोखेका हुन् ।
गद्दी छाडेर नागार्जुन वनवासतर्फलागेका पिता ज्ञानेन्द्र, गणतन्त्र स्थापना गर्ने नेपाली जनताप्रति तीव्र आक्रोश पोखेका उनी राति १२ बजे सबै पाहुनालाई बिदा गरेर निवासबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले भने– ‘वी ह्याभ टु गेट ब्याक ह्वाट वी लस्ट ।‘ अर्थात्, ‘हामीले त्यो चिज प्राप्त गर्नुपर्छ, जुन हामीले गुमाएका छौ ।‘ राति १२ बजे पारस निर्मल निवासबाट बाहिरिए पनि हिजो मंगलबार बिहान सात बजे फेरि उनकै उपस्थितिमा भाञ्जादाइ र भाउजूहरू दिवसविक्रम शाह र प्रीति शाह, आशिषविक्रम शाह र प्रमदा शाह, पूर्वकुमार मोहनबहादुर शाहीका छोरी मनुजा शाही र छोरा हिममान शाही, ज्वाइँसहित बहिनीहरू पूजा, शिताष्मा, दिलासा र प्रेरणा आदि थिए । उनीहरूलाई हरिणको सुकुटी, उसिनेको बँदेल, फ्राइड राइस, आलु–काउलीको तरकारी, खिर, मुलाको अचार ख्वाएर बिदा गर्दै पारस आफू पनि निर्मल निवासबाट सवा १२ बजे सबैसँग अंकमाल गरी बिदा भएका थिए । पारसले बा.१च५७४३ नम्बरको मर्सिडिज कार आफैँ हाँकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका थिए । उनका साथमा बहिनीज्वाइँ राजबहादुर सिंह र सैनिक प्रहरीका क्याप्टेन पनि थिए । विमानस्थलसम्म उनको सुरक्षाका लागि सशस्त्रको पिकअप गाडी अगुवाको रूपमा थियो भने पछाडिपट्ट सैनिक प्रहरीको गाडी थियो । चक्रपथ हुँदै विमानस्थलतर्फ लागेको उनको गाडी चाबहिल चोकमा केहीबेर जाममा परेको थियो । उनी सिंगापुरतर्फ जाने कुरा अघिल्लै दिन सार्वजनिक भएकाले कतै–कतै माओवादी वा वाइसिएलले रोकिदिने पो हुन् कि भनेर मिति सार्ने विषयमा निर्मल निवासमा सल्लाह पनि भएको थियो, तर अवरोध नहुने देखिएपछि पारस निर्मल निवासबाट निस्केका थिए । उनलाई स्व. धीरेन्द्रका ज्वाइँहरू राजीव शाही, अविनेश शाह र आदर्श राणाले बा.५च५४९४ नम्मबरको जिपबाट पछ्याएका थिए ।
बताइएअनुसार आदर्श आज (बुधबार) राति सिंगापुरबाट अमेरिकाको कोलोराडो राज्यमा पर्ने डेन्भरतर्फजाँदै छन् । पारसले सिंगापुरतर्फलाग्नुअघि निर्मल निवासमा जम्मा भएका युवापुस्ताका आफन्तहरूलाई सिंगापुरमा रहूदाका आफ्ना योजना पनि सुनाएका थिए । मंगलबार बिहान उनले भनेछन्– ‘म उता (सिंगापुर) मा छोटा राजन या दाउद इब्राहिमसग कोअर्डिनेट गर्छु तिमीहरूले यहाँ बसेर मलाई सहयोग गर्नुपर्छ ।‘ सम्भवतः उनको भनाइको आशय माओवादी र अन्य गणतन्त्रवादीलाई छानी–छानी सिध्याउनुपर्छ भन्ने थियो । उनको सिंगापुर बसाइका लागि भारत हुँदै हुण्डीबाट रकम पठाइसकिएको छ । कालो चस्मा र सुटमा सजिएका पारस विमानस्थलको भिआइपी कक्ष हुँदै सिल्क एयरतर्फलम्केका थिए । ठीक त्यसैबेला माओवादी नेता एवं वनमन्त्री मातृका यादव थाई एयरबाट आउँदै थिए । झन्डै पारस र मातृकाको जम्काभेट भएन । साँच्ची भेट भएको भए त्यहाको स्थिति कस्तो हुँदो हो ? मातृका र पारसको जम्काभेट नभए पनि विमानसम्म पुग्न बस चढ्ने क्रममा भेट भएका एक सरकारी कर्मचारीले पारसलाई ‘सरकार, कहिले फर्किबक्सन्छ ? ‘ भनी सोधेका थिए । आफू नेपाल नर्फकने संकेत गर्दै पारसले ती कर्मचारीलाई जवाफ दिए– ‘नट स्योर । ‘पारसको सिंगापुरगमनको उद्देश्यबारे नातेदारले समेत भेउ पाउन सकेका छैनन् । उनले सँगै जाऊँ भनेर समवयका नातेदार युवाहरूलाई भने पनि राजीव शाही सेनामा डाक्टर छन् भने अविनेश शाह कुण्डलिनी हेल्थ क्लबको म्यानेजिङ डाइरेक्टर छन्, त्यसैले पारससँगै जाने कुरामा उनीहरूले सहमति जनाएका छैनन् ।
हिन्दु अतिवादी र तर्राईका तत्त्वहरूले नसकेपछि नेपालमा बबण्डर मच्चाउन दाउद इब्राहिम वा छोटा राजनसँग सम्बन्ध विस्तारका लागि सिंगापुरतर्फगएका हुन् भने उनीहरूलाई भेट्ने उपयुक्त थलो सिंगापुर होइन, दुबई हो । हिँड्ने बेला पत्नी हिमानीसहित सबैलाई अँगालो हाली हिडेका उनले दसैं–तिहार मान्न आए मात्रै, नत्र आफू नेपाल नर्फकने निकटस्थहरूलाई बताएका छन् । पारस सिंगापुरको आर्चर रोडतिर बस्ने स्रोतले बताएको छ । पूर्वराजपरिवारको थुप्रै व्यापार–व्यवसाय रहेकाले त्यसै प्रयोजनका लागि गएको हुनसक्ने बलियो सम्भावना छ । हिजो बुधबार, १९ असार २०६५ को जनआस्था साप्ताहिकबाट । तस्बिर-नयाँ पत्रिका ।





