आफैं कम्मर कसौं आफ्नो गरीबी हटाउन
-राजेन्द्र लाल
नेपालमा २०१३ साल देखि योजनाबद्ध रुपमा विकासको शुरुआत भएको हो । विगत वर्षहरुमा आवधिक र वार्षिक योजनाहरु कार्यान्वयन हुँदै गरेको झण्डै पाँच दशक पुग्न लाग्दा पनि लक्ष्य, उद्धेश्य अनुसार योजनाहरुमा प्रगति हुन नसक्दा हामी बहुसंख्यक नेपाली दिन प्रति दिन गरीवीको रेखामुनि पर्न बाध्य हुनुपरेको छ । विभिन्न निकायहरुका प्रतिवेदनमा नेपालमा गरीवी ४१% वाट ३९% झरेको देखाए पनि वास्तबमा अवस्था झन दयनिय बन्दै गएको देखिन्छ । उदाहरणको लागि, सन् २००७ तिर दक्षिण कोरिया, थाईलैण्ड जस्ता देशहरु हाम्रो जस्तै आर्थिक अवस्थाको हाराहारीमा रहेका थिए । हाल तिनीहरुको अवस्था धेरै माथि पुगेको छ र सन् १९७१ मा मात्र स्वतन्त्रता पाएको छिमेकी देश वंगलादेश भन्दा पनि हामी पछि परेको छौं ।
२०६३ सालमा नेपालमा गणतन्त्र आएपछिपनि अवाधिक तथा वाषिर्क योजनाहरुमा गरिवी निवारण गर्ने प्रमुख उद्धेश्य अनुसार समाजमा आर्थिक असमानताको खाडल कम गरी समतामुलक समाज र लोक कल्याणकारी राज्य व्यवस्था कायम गर्ने लक्ष्य लिएको पाइन्छ । त्यसैले हामी साँच्चैनै विकसित वा सुखी सम्पन्न भएको छ वा छैन भन्ने थाहा पाउन, स्थानिय तथा प्राकृतिक स्रोत साधनको पहिचान, संरक्षण र परिचालन अधिकतम् गरिएको हुन्छ । आवश्यक न्यूनतम सेवाहरु हामीलाई उपलब्ध भएका हुन्छन् । तिनिहरुको उपयोग पनि भएको हुन्छ । हामी आयमूलक क्रियाकलापमा लागेका हुन्छौ । हामी संगठित हुनुको साथसाथै नागरिक संगठनको उपयोग गरेका हुन्छौं । सामाजिक कार्यहरुमा जनसहभागिता जुट्दछ । भेदभावको अन्त्य भएको हुन्छ । स्वायत शासनको विकास हुन्छ र स्थानिय नेतृत्वको विकास भएको हुन्छ ।
जव हामीलाई आफ्ना वास्तविक समस्याको कारण सहित महसुस हुन्छ, जव आफनै प्रयासवाटपनि अगाडी वढ्न सकिन्छ भन्ने विश्वास जाग्दछ, जव नकारात्मक सोचवाट मुक्त हुन्छन् तव मात्र परिवर्तन सम्भव छ । तसर्थ, गरिवी भनेको सर्वप्रथम दिमागको नकारात्मक सोचवाट शुरु हुन्छ । यसलाई मानसिक विपन्नता पनि भन्न सकिन्छ । हामी निराशाको मनस्थितिमा आफुलाई अनुपयोगी र वेकम्मा ठान्दछौ । आफ्नो व्यक्तिगत विकासको लागि अरुमाथि भर रहन्छौं । हाम्रो जीवन शैली त्यसै अनुरुप वन्नगई हामी वास्तविक रुपमा आर्थिक रुपवाटै पनि विपन्न हुन्छौं । यही अवस्थालाई गरिवी भनिन्छ । त्यसैले आजको चुनौती भनेको हाम्रो सोच्ने तौर तरिकामा परिवर्तन गर्नु, आफूमा आशा, हिम्मत र आत्म विश्वास जगाउनु तथा आफनो विकासको लागि मनमा अठोट र संकल्प सृजना गराउनु हो जसको लागि आफू स्वःचालित नभै सम्भव छैन ।
आफू अगाडी वढ्न आफू जहाँ उभिएको छ त्यहीवाट शुरु गर्नु पर्दछ । आफूसँग जे छ त्यसैवाट शुरुआत गर्नु पर्छ । गीतामा भगवान् श्री कृष्णले निष्काम कर्मलाई जोड दिनुभएको एंव कुनै पनि असल कार्यलाई यज्ञ सरह पवित्र मानी उद्धेश्य तर्फअग्रसर भएको खण्डमा अवश्य पनि सफलताले हाम्रो साथ दिन्छ भनिएको छ । अतः हामी स्वाबलम्वी र मिहिनेती हुनुपर्छ । यसो हुँदा हामीले काम पाउँछौं । सानो आम्दानीको लागि छिमेकी देशमा भौंतारिनु जरुरी हुँदैन। आफ्नो स्थानिय आवश्यकता अनुसार उपलव्ध स्रोत साधनलाई भरमग्दुर सदुपयोग गरी विभिन्न आयमुलक कार्यक्रमहरुलाई सफल पार्ने हो भने हामी गरिवी निवारणतर्फ उन्मुख हुनेछौं ।
तर्सथ, हामी राजनैतिक झै झगडामा नलागी ठाँउ अनुसार नगदेबालीहरु (आलु, अदुवा, तरकारी) र फलफूल खेती गरी, पर्यटन क्षेत्रमा रोजगारी गरी आय आर्जनको माध्यमले गरीवी निवारणमा टेवा पुर्याउन सकिन्छ । उदाहरणको लागी, पश्चिमकी मीना थापा एक मिहिनेती महिला हुन् । श्रीमान् विदेशमा गएको तीन वर्ष भइसक्दापनि यिनले आफूले वर्षभरिकोलागि धान उत्पादन हुने दुई रोपनी खेतमा तरकारी र फलफूल खेती गर्दै धान गहुँ भन्दा चार गुणा वढी आम्दानी गरेर आज आफनो कमाईले श्रीमान्लाई विदेशमा पढाउने र धर परिवार पाल्न सफल भएकि छिन । यसरी उनी बेफूर्सदी र आत्मनिर्भर भएकोमा आफूमा गर्व गर्छिन् ।
नेपाललाई साँच्चै नै समृद्ध, अग्रगामी बनाउन र वातावरणीय जोखिमबाट बचाउन आज राजनैतिक र सामाजिक भन्दा पनि वढी हरित क्रान्तिको आवश्यकता छ । यही नै समयको माग पनि हो भन्दा अतियुक्ति नहोला । वाहृय सहयोगमा निर्भर रहेको हाम्रो देश र यी गिरिजा कोइराला, माधव नेपाल र प्रचण्ड जस्ता नेताहरुमा भरमा नपरी भोली आफनै खुट्टामा उभिएर गाउँ, समाज, जिल्ला र राष्ट्रको टेवा पुर्याउँ । यसैबाट पाठ सिकेर आफनो गरीबी हटाउन आफै कम्मर कसौं ताकी भोलि कसैवाट सहयोग नहुँदा पनि हामी स-सम्मान बाँच्न सकौं ।
जगत जननी माता जानकीले नयाँ वर्ष २०१० को शुभ उपलक्ष्यमा हामीलाई यहि आशिर्वाद दिउन् !!!





