मुक्तिनाथै पुग्दापनि मुक्ति पाउन कठिन

अनिल रुपाखेती / मुक्तिनाथबाट फर्केर

anil1योजना र यौबन अत्यन्तै चन्चल हुँदोरहेछ । दुबैलाई पाउन र जोगाउन गाह्रो तर अनिबार्य । यो दशैको योजना परिबारसँगै मलेशियामा बिताउने यिथो । तर बिबिध कारणले योजना कार्यान्यबन भएन । त्यसमा कता कता एक कारण मेरो कथित राष्ट्रप्रेम पनि थियो । राष्ट्रप्रेमले मुस्ताङ घुम्ने आन्तरिक योजना बनायो । त्यसोगर्दा तिर्थाटन र बसन्तबिहार पनि हुने । श्रीमतिजीबाट मेरो योजना काटछाँट सहित सदर भयो । हामी चार बाट दुई भयौं । लेक लाग्ने र चिसो पनि हुने भएकोले छोराछोरी नलाने उनको निर्णय मलाई पनि चित्त बुझ्यो । हामी घरबारीको रेखदेख छिमेकीलाई जिम्मा दिदैँ राजाको राँगो झैं काठमाडौं बसपार्क पुग्यौं । रु ३२५ मा टिकट कीनेर कलंकीबाट पोखरा हिड्यौँ । बस्ने होटल र पोखरा देखि मुस्ताङ्ग हवाइ टिकटको लागि पोखराका मित्रहरु ज्ञानेन्द्र र ओमले ब्यबस्था गरीसकेका थिए । बस अलि लोकल गर्ने परेछ । सात घन्टा लगायो । दश बजे राती होटल पसीयो । ज्ञानेन्द्रजी मित्रता निभाउन त्यही होटलमा नै रहेछन, दश बजे राती सम्म पनि। सामान्य भलाकुसारी बिच उनले भोलि बिहान ६ बजे नै बिमानस्थल पुग्नुपर्ने बताए ।

राती अवेर सुतेकोले उठ्दैमा अबेला भएछ। हतारमा बिमानस्थल पुगियो । तर मौसमको खराबीले गर्दा एक घन्टा जहाज ढिलो भएछ । घोरेपानी, तातोपानी हुँदै सिता एयरले हिमालपारिको नेपालमा हामीलाई चुरोटको सर्कोमै पुर्यायो । घामको किरणले टल्केको हिमालको आनन्द बाँड्न जोमसोमबजार आतुर यिथो । विमानस्थलमा ओर्लिने बितिकै चिसो सिरेटोले शरिरमा नयाँ तरंग ल्यायो ।  दुई चार फोटो खिचेर हामी बाहिरियौं । बजारको बनाबट र ब्यबस्थापन पनि  निकै गतिलो लाग्यो मलाई। बजारको चहलपहल हेर्दाहेर्दै हाम्रो चिनजान प्रोफेसर कार्कीसँग भयो । उनि एक्लै भौंतारिदै रहेछन । गफ सगैं चिया पियौं । हामीलाई नयाँ देखेर होटेल्नीले चियाको पैसा लिदैं भन्नुभयो -मुक्तिनाथ जाने भए बजार पारि जिपपार्क छ । राम्ररी जानु होला । २० मिनेट हिँडेर हामी जिपपार्क पुग्यौं ।

झोलामा बम र बन्दूकको सिरानी हालेर वलिदानको लागि निस्केको सिपाहीझैँ जिप कूद्न थाल्यो । २,३ जना बिदेशी बाहेक हामीहरुको (प्रोफेसर, म र श्रीमतीजी) जिपको गति देखेर मुस्ताङको चिसोमा पनि पसिना निस्कीन थाल्यो । मैले चालकजीलाई अलि बिस्तारै हाँक्न अनुरोध गरें । तर त्यसले काम गरेन। न पाएँ तिमीलाई, न बिर्सें तिमीलाई गितको रन्कोमा जिपको गति अझ बढ्दो थियो । सबै भावुक बनेको चित्र मुहारमा झल्किरहेको थियो । सबैले आफ्नो ज्ञात अज्ञात दिन र मायाको ऋण सम्झदै थिएकी भन्ने भान हुन्थ्यो । चकमन्न थिए सबै ।  म चाहिँ तस्वीरको धुनमा क्यामरा घुमाउँदै थिएँ । कालिगण्डकीको तिरमा आफ्नो बचपन खोज्दै थिएँ । कति सुखद थिए ति दिनहरु कल्पना गर्दागर्दै मेरा आँखाबाट भल बग्न थालेछन ।

ओहो ति दिन ! बिहान घामसँगै उठ्यो, बाख्राको स्याहारसुसार गर्दै आमाले दिएको दुध मकैको मिठो खाजा खायो । बाख्रा र दौंतरीसँग खेल्दाखेल्दै बिहान बितायो । दुध, रायोको साग, ढिँडो अनि भात खाएर कुद्दै स्कुल । गृहकार्य नगरेकोले निलकण्ठ गुरुबाको सिम्कीनु खाएको ।अहिले जस्तो लाग्छ तर के गर्नु ! कामको चापाचापले यसरी सोच्न पनि नसकेको रहेछु मैले । धन्य मुक्तिनाथ मलाई एकछिनको लागि बर्तमानको झंझटबाट मुक्ति दिइ यो आनन्दमय क्षण दिएकोमा ।

Mandir mati ko Gumbba[1]अब भने चिया खाने हो भन्दै जिप कागबेनीमा रोकियो । दुबै ओर्लियौं । हामी आलुको सुप मागेर कागबेनी किनारमा पितृअर्पण  दिन गयौं । मैले मेरो पूर्खा सम्झें । मन, बचन, कर्म र शरीरले गरेको पाप पनि थिए । तिनिहरुलाइपनि संझेर तिलान्जलि दिएँ । श्रीमतीजी भने मोबाइल फोनमा ब्यस्त थिइन, सायद संगीहरुलाइ स्थान महिमा सुनाउँदै । यो स्थानबाट फोन गर्नूको छूट्टै मज्जा नी !

कागले मोक्ष पाएको कागबेनीको किनार कृष्ण र काली गण्डकी संगमस्थल हो। जिपको गति कागबेनी उकालोले गर्दा अलि मत्थर भयो । साह्रै रमाइलो रहेछ हगी ! मैले कलेजमा पढाउने पाठमा यो ठाउँको बारेमापनि उल्लेख थियो । ‘तर अब म त्यो पाठ फेरी दोहोर्याउछु । अबको मज्जा बेग्लै ।’ प्रोफेसरले एकै सासमा आफ्नो कुरा राखे । हो नी दाई भन्दै मैले उनलाई हौस्याएँ । हामीहरु अब २८०० मिटर बाट ३८०० मिटर तर्फदौडदै थियौ । हिडेको भए लेक लाग्ने संभावना बढि हुन्थ्यो । तै पनि नाक सुख्खा हुदै गएको जिकिर प्रोफेसर र श्रीमतीजीको थियो । मैले दुबै जनालाई लसुन पोटी खान सल्लाह दिए ।

भौतिक विकास गर भन्दै चिच्याएका डाँडा !

बाटो तल, नदि पारी र माथीपट्टीका मनमोहक दृश्यहरुमा मन लगाउँदै लेक लाग्ने खतरालाई उनिहरु पन्छाउँदै थिए । जारकोट पुग्दा मलाई तिब्बतको पठार पुगेको भान भयो । प्राक्रितिक विकासमा हामी अगाडी, भौतिक विकासमा तिब्बत । एउटा डाँडाले अर्कालाइ केही भनिरहेको जस्तो भान भयो मलाई । कराउँदै थिए । चिच्याउँदै थिए ति डाँडा । चाडैं हामीलाई पनि भौतिक विकासमा तिब्बत बनाउ भनेर । मेरो आत्माले त्यो चित्कार सुन्यो । म मर्माहत भएँ । क्षणीक भाबनामा बगें । तर कलियुगको मनले आत्माको कुरा सुनिरहन सकेन । मनले भन्दै थियो-सुन्दर दृश्यहरुको यौवनरसपान गर्ने छोडेर नांङ्गा डाडाको पछाडी किन ? आत्मा गम्भिर भएर भन्दै थियो “ति नाङ्गा डाँडाहरु मेरा चेलीहरु हून। मैले भौतिक विकासरुपी कपडाले तिनिहरुको लाज छोप्नूछ । तब मात्र मैले कागबेनी किनारमा दीएको तर्पणले काम गर्नेछ । त्यो पछि मात्रै सच्चारुपमा मेरो राष्ट्र र पितृहरु तर्नेछन” ।

म झसंग भएँ, हो त नी, यो उमेरसम्म आउँदा राष्ट्र र पितृले म माथी गरेका लगानी बालूवामा हालेको पानी भएको छ तर । अब मैले त्यसमा सीमेन्ट, रोडा हाल्नुछ । केही बनाउननुछ । सके पूरै नसके ब्याज भने पनि तिर्नु छ भन्दै आत्माको आवाज भौतिक मूखबाट नीस्केछ । के तिर्ने खै महंगी र अब्यवस्थाले बच्चाको स्कूल फि त बांकी रहला र ! जस्तो भो । श्रीमतीजी बैकको कर्जाको मासिक किस्ताको पिरमा परेछ भन्ने अन्दाज गर्दै गनगनाउन थालिन । कूरा बूझाउन कठिन पनि हूने । ‘सुत्दा, हिँड्दा ऋण नसंझनु खाँदा घिन नसंझनु’ भन्ने सनातन उक्ति बिचार गरेर हो नी भन्दै कुरा मिलाएँ । अब भने १ घन्टा ४० मिनेटमा २४ किलोमिटर कुदेर मुक्तिनाथको फेदीमा रहेको बजारमा जिपको गति सून्य भयो ।

यहाँबाट मन्दिर १ किलोमिटर टाढा छ, मोटरसाइकलले एक सय रुपियाँमा मुक्तिनाथको ढोकामा पुर्याइदिन्छु जाने हो भन्दै ठिटाहरुले यात्रुहरुलाई घेरी हाले । हिडेर नै प्राकृतिक सौँर्न्दर्यपान गर्ने बिचारले हामी झोला बोकेर लम्किन थाल्यौं । टमक्क मिलेका दाँत जस्तै घरहरुको यो पूरानो बजार नीकै राम्रो रहेछ । तिर्थयात्री र पर्यटकहरुको लागि धर्मशाला, होटल र बिश्रामगृहहरु प्रशस्तै रहेछन । मेरो आंखाले पनि राम्रो बिश्रामगृह खोज्दै थियो । आंखाले आर्कषक बबमार्ली होटललाई चुन्यो । कलात्मक सजावट सहित स्वादिष्ट देशिय र अन्तरदेशिय भोजनको लागि यो होटल यहाँ प्रख्यात रहेछ । जाडो र भोकले पेट खाली भएकोले हामी खानेकुरा खाएर मात्रै मन्दिरको उकालो लाग्ने बिचार पौराणीक चलनको बिरुद्ध भए पनि सहमत भयौं । स्थानीय आलुको तात्तातो सुपले फेरी मनै जित्यो ।

मन्दिरको उकालोको खुट्किला बिच बिचमा रहेको बेन्चमा थकाई मार्दै हामी प्रभुचरणमा पुग्यौं । भारतिय र स्वदेशीहरुको मनग्गै भिड रहेछ । मन्दिरको सुचनापाटी नेपाली, अंगेजी र हिन्दी भाषा देखेपछि यो स्थानमा समुन्द्रपारबाट पनि मनग्गै पर्यटक आउने कुराको अन्दाज पुजारीसंगको कुरा पछि प्रष्ट भयो । बौद्द र हिन्दू दूबै धर्माबलम्बीको केन्द्रिय आस्था र अन्य धर्माबलम्बीको पनि समान आस्थाको यो स्थानको १०८ धारा, पाप र धर्म कुण्ड प्रमुख धार्मिक धरोहर रहेछ । यहांसम्म आएपछि  १०८ धारा, पाप र धर्मकुण्डमा ननुहाउने कुरै भएन । पानी असाध्यै चिसो।

२ घन्टा मन्दिर परिसरमा बिताएर हामी तल झर्यौं । प्रोफेसरजी चाहिँ जोमसोम फर्किए । हामी दम्पती बबमार्ली होटलको पाहुना बनियो । बिहान फापरको रोटीको खाजा खाएर जीप चढियो । जीपको गति उहि थियो तल झर्दा माथि गइएला जस्तो । जे होस मुक्तिनाथको नाम जप्दै सांघुरो बाटो १ घन्टामै काटेर जोमसोम  पुगियो । बजार घुमेर होटेल फर्किँदा मार्फा जाने जीप देखियो । हामी पनि भात मार्फा मै खाने बिचारमा जीप चढ्यौं । आधा घन्टामा हामीलाई जीपले मार्फाको बागवानीको ढोकामा छोडेर बाग्लुङ्ग तिर झर्यो ।

मार्फाको बागवानी स्याउ, ब्राण्डी र वाइनको लागी प्रसीद्ध रहेछ । ब्राण्डी, वाइनको सरकारी भट्टी हेरेर हामी बगान घुम्दा शितोष्ण तरकारीको रहर लाग्दा पाटाहरु देख्दा मनै हरियो भयो । घुम्ने मौका पनि र खाने मौका पनि पाइने मार्फाको सबै घरको बनावट देख्दा रोमको प्राचिन शहर घुम्दै गरेको भान हुन्थ्यो । सेतो रंगकोले पुरै गाउँको घर उज्यालो थियो । स्याउको सुकुटी खाँदै, बगान हेर्दै हिँड्दा मिल्ने छुट्टै मजाको अनुभुति लिदै थियौं हामीहरु । ३ घन्टा त ३ मिनेट जस्तो भयो । घाम त नेटो काटेर जोमसोम माथी पो पुगेछ । ‘बिहान जहाज चाडै नै हुन्छ होला । त्यसैले जोमसोममै बास जानु पर्ला ।’ श्रीमतिजीको मत आयो ।

(बाँकि अर्को भागमा । अनिलको मुस्ताङ क्षेत्रकै बारेमा फोटो फिचरपनि आउँदै छ प्रतिक्षा गर्नुहोला-नेपालप्लस)

-अनिलका अघिल्ला रचनापनि हेर्नुस

लेक होइन देश लागेर हुम्लामा रोएको त्यो दिन

जाने हो हुम्ला घुम्न ?

हुम्लाको सेरोफेरो

स्वर्गकै एक टुक्रा खसेजस्तो रारा

तपाइँको प्रतिक्रिया