तपस्पी बम्जन र चित्र गुप्तको कथा
–गम्भिर सिं ऐर / अमेरिका
मैले मित्रहरुसँग बस्दा सँगै काम गर्ने एक जना मित्र हुनुहुन्थ्यो टेक खडका । कामबाट फुर्सद भएको समयमा कथा, ठट्यौली भनेर रमाइलो गर्नुहुन्थ्यो । यस्तैमा एक दिन त्यहि मित्र टेक जीले भनेको ठट्यौली मलाई याद आयो । तपस्वी रामबहादुर बम्जन केटी सहित भेटिए भन्ने प्रसंगमा मिल्ने भएकाले सबैसित बाँड्दै छु ।
यमराजको न्यायालयमा पाप र धर्मको फैसला गर्ने मुख्य ब्यक्ती थिए चित्र गुप्त । चित्र गुप्तको न्यायालयमा जानका लागि सबैले एउटा नदी तर्नु पर्दो रहेछ । त्यो नदिमा पुलको ब्यबस्था रहेनछ । नेताहरु हाम्रा जस्तै भए । त्यसैले, पुल नबनाएको होला भन्ने सोच्नु भएको होला । त्यसो होइन । त्यो नदिमा पुल नबनाउनुको अर्कै प्रायोजन रहेछ । जो मानिस सरासर त्यो नदी तर्यो त्यो धर्मी कहलाउँदो रहेछ । जो तर्न सकेन त्यो पापी ठहरिने रहेछ । अर्थात ठान्नुस् पौडिबाज पनि यदी पापी छ भने वा मनमा पाप चिताएको छ भने डुब्ने भयो । त्यसै प्रायोजनका लागि त्यो नदिमा पुल निर्माण नगरिएको रहेछ ।
नेपाल राज्यबाट जती मानिस मरेर जान्छन ति सबैले त्यो बैतरणी नदी तर्नै पर्ने । यस्तैमा एक दिन के संयोग परेछ भने पश्चिमा देशहरुको प्रभाबमा परेर अत्यन्त छोटा लुगा लगाउने नानीको नेपालबाट चलन भोग सकियो । यसलाई यसरि पनि बुझ्दा हुन्छ कि ति नानीको प्राण पखेरु उड्यो । तिनको मिती पुग्यो र ति नेपालबाट सोझै पुगिन त्यो नदिको किनारमा । चित्र गुप्तको दुर्भाग्य भन्नु पर्ला, त्यहि समयमा चित्र गुप्त पनि त्यहि बाटो आफ्नो कचहरि (भेला, छलफल) मा जान जान लागेका रहेछन् ।
ति नेपालबाट गएकी नानी, हिमाल पुत्री, गोरी थिईन । चट्ट मिलेको जिउ थियो । उज्यालो मुखाक्रिती थियो । अत्यन्तै सुन्दर थिईन । हेर्दा जस्तो सुकै लोग्ने मानिसका मनमा पनि पाप जन्माउने सुन्दरता थियो जसलाई शब्दमा उनेर पस्किदा कन्जुस्याइ गरेको हुन सक्ने रहेछ । त्यत्रो जीवन त्यो न्यायालयमा फैसला सुनाएर बसेका चित्रगुप्तको मनमा त्यो नानीको छोटो लुगाले आन्दोलन ल्याइदियो । अर्थात त्यो नदी तर्दै गर्दा चित्रगुप्त नदिमा झ्वाम्मै भए रे । कसो कसो यम राजाका दुतहरुले चित्रगुप्तलाई बचाएर ल्याएछन् । कथा वा ठट्यौली मै भएपनि यम राजाका चित्रगुप्त त त्यसरी डुब्छन भने तपस्वी रामबहादुर बन्जन त डुबेको कसैले देखेको छैन । फगत पुलिसले केटीसँगै हिंडेको देखेको भरमा दोष नै त नलगाइदिउँ कि ? कि कसो ?
(यो रचना ‘केटीसित हिँड्दै गर्दा लिटील बुद्द झ्याप्पै’ शिर्षकको समाचारमा पाठक प्रतिक्रियाका रुपमा प्राप्त भएको थियो । समाचारसित संबन्धित चाखलाग्दो कथा भएकाले प्रमुख प्रिष्ठमा छापिएको हो-नेपालप्लस) ।





