“भिजिटिङ कार्ड” बाँड्दै ढाँट्दै गर्छन नेता
भिजिटिङ कार्ड, नेम कार्ड वा बिजनेश कार्डपनि भन्छन कोहि कोहि। आफ्नो ठेगाना खुलाउने न हो जे भनेपनि। त्यो कसैलाई दिनु भनेको मलाई आवश्यक परे फलानो ठेगानामा सम्पर्क गर्नु होला भन्ने होला। होइन र? कि कार्ड भनेर देखाउनकै लागि मात्रै त होइन होला। कार्ड जसलाई दिइन्छ उसले सम्पर्क गर्दा त सम्पर्क हुनु पर्यो नि। अथवा सम्पर्क गर्न मन नलागे नदिनु नि कार्ड। जति गर्दापनि नलाग्ने फोन, गएर फेला नपर्ने ठाउँमा कार्ड लेखेर किन दिने ? तर नेकपा माओवादीका एक वरिष्ठ नेता दिनानाथ शर्माले त्यसै गरे। सुरेश आले मगरसँगै यूरोप आएका थिए गत साल उनी। पेरिसपनि आइपुगे। भाषण ठोके मजाले। अनि बाँडे भिजिटिङ कार्ड। भुमिगत जिवशैलिबारे सुनेका पढेका नेपालीहरु कुनै ब्यापारी वा कर्मचारीले झै भिजिटिङ कार्ड चट्ट निकालेको देखेपछि खुव स्वाद माने, चाख दिए नेपालीले।
त्यसको केहि समय पछि ओखलढुंगाकि एक नानी बिमला विश्वकर्माले उनलाई फोन गरिछन। उनको कोही आफन्त हराएको रहेछ जनयुद्दकालमा। निकै भयो, माओवादी शान्तिवार्तामा आए। तर आफन्तको कुनै खबर छैन। लौ पेरिस आएका नेतालाई आग्रह गर्नुपर्यो भन्ने सोचेर फोन गरिन। धेरै पैसा सकिए फोन कार्डबाट गर्दा गर्दा उनको। तर अँहँ कहिल्यै नलाग्ने। अनि उनले एक दिन भनिन-लौ न दाई सम्पर्क गराईदिनु पर्यो। तैपनि आफन्तको कुनै खबर बुझिदिन सक्थेकि। अब जहा जसो भएपनि आफन्तको खबर पाउनुपर्ने हो। मरे बाचेकै निधो पाइएन, परिवारमा तिक्तता छायो भन्दै।
अरु केहि नेपालीले पनि त्यसैगरि सम्पर्क गरेछन शर्मालाई। तर अँहँ कसैको एक जनाकोपनि सम्पर्क भएन उनिसित। सुरेस आलेमगर चाहिँ अलि झर्केको अनुभव गरेकाले उनिसित सम्पर्क गर्न खासै चाहेनछन।
त्यसैको केहि महिनापछि नेकपा (एमाले) का बिदेश बिभाग प्रमुख भिम रावल आएका थिए। त्यो बेला उनले पनि त्यसैगरि बाँडे कार्ड सान देखाएर। समस्या मलाई भन्नु भयो भने म निराकरण गर्छु भनेझैं । हुन त मैले त लिँदा पनि लिइन। पछि कार्ड लिने केहिसँग बुझेको त उनको पनि कुनै प्रत्युत्तरनै छैन रे । होइन यस्ता कार्ड किन बाँड्छन हँ नेताहरु सम्पर्क नै नहुने हो भने ? के नेपालीहरुलाई ढाँट्न ? समस्याबाट टाढिन ? पन्छिन ? कि बिदेश आउन्जेल काम पट्याउन ? कि त्यस्तो कार्डको उपयोगितानै नबुझेर ?





