कैदी नं एक ?
छेरिसकेपछि दैलो देख्यो भन्ने नेपाली उखान छ । त्यो भनेको दैलामा बिस्ट्याएपछि सफा गर्न कष्ट हुन्छ भन्ने होला। अहिले ज्ञानेन्द्र शाहमा संभवत त्यस्तै अनुभव भएको हुनुपर्छ । उनले सधैं राजा बनौंला भनेर दाजु भनेनन। भाउजुको माया गरेनन। भतिजाप्रति मन पग्लेन। निर्दोष भतिजिपनि बाँकि राखेनन। भाइप्रति दया जागेन। वंशमा कलंक लाग्ला भन्ने हेक्का रहेन। कलंकित नै भएपनि राजसिहासनमा बस्ने महत्वाकांक्षाले उनले आफ्नो परिवार बाहेक सबैलाई एकै घान पारेर हत्या गरे।
त्यसपछि राजा घोषित भए। स्वघोषित राजा। अपराधि राजा। जनताले नमानेको राजा। अनि चलाए उनले पारिवारिक मोजमस्ति । तबल बढाउने । टेण्डर हाल्ने देखि सिंगो विमान एक्लै बिदेश उडाउने । हत्यारो छोरोलाई जनताको आँखामा छारो हालेर राजकुमार घोषणा गर्ने । देशको सार्वजनिक सम्पत्ति हडप्ने । अघिपछि नेपाली सेना र प्रहरि। दरबारमा हजारौं सुरक्षाकर्मिको परेड। वाह ! कसले छुन सक्ने त्यत्रो शक्ति सम्पन्न व्यक्तिलाई ?
उनलाई लागे होला उनको राज बाहेक अरु सारा संसार झुटो हो। तर अति गरेपछि खति हुन्छ भने झैं उनको अतिले गर्दा सम्पूर्ण शाहवंशिय इतिहासलाइनै खति पुगेको छ। उनिमाथि तिनै पापहरु कुर्लिइरहेकाछन । तर नेपाली जनता उनलाई राज सिंहासनबाट खसालेर मात्रै सन्तुष्ट हुने छैनन। राजगद्दि ल्याग्दैमा उनले क्षमा पाउनु हुन्न। त्यतिमै उनले सम्पूर्ण अपराधबाट मुक्ति पाउनु हुँदैन। सारा अपराधिहरुले मुक्ति र उन्मुक्ति पाउने गणतन्त्र नेपालको कल्पना नेपालीहरुको होइन। उनमाथि सबैभन्दा पहिले राजदरबार हत्याकाण्डबारे निष्पक्ष छानबिन गरेर यसैगरि जेलमा कोच्नु पर्छ। बाँकि उनका काला धन्दा र तस्करिबारे अनुसन्धान गरिनुपर्छ। त्यो जिम्मेवारी पुरा गर्लान त हाम्रा नेताले ?
गत साल नेपाल राष्ट्रिय जनजाती महासंघले नेपालमा संबिधान सभाको निर्वाचनको माग गरि प्रदर्शन गरेको थियो काठमाडौं हनुमान ढोका दरबार क्षेत्रमा। त्यहि बेला उनीहरुले गरेका केहि कलाहरु मध्ये एउटा हो यहाँ राखिएको तस्बिर । तस्बिर स्वतन्त्र समाचार सेवाको हो।




