फिरंगी बलभद्र र म्याचफिक्सरहरु

  • सुमन सापकोटा अजय

suman-sapkota युद्द र फुटबल खेलमा लगभग समानता देखिन्छ । फरक यत्ति मात्रै हो की फुटबल खेलमा युद्दमा जस्तो हार र जित हुन्छ । तर दुई पक्षबिच काटामार र मृत्यु भैहाल्दैन । ईतिहासका पानाहरु पल्टाउँदा यस्तै यस्तै भेटिए । भक्ति थापालाई अंग्रेज फिरंगीहरुले ‘युद्दमा कि लेनदेनमा सम्झौता गर कि आत्मसमर्पण गर’ भनेपछि उनको जवाफ यस्तो थियो “म सिनो खाने स्याल होईन बाघको डमरु हुँ ” ।

ठ्याक्कै त्यस्तै गरि फिरंगी सिपाहीका प्रमुख जनरल जिलेस्पिले नालापानी युद्दका क्रममा नेपालका कमाण्डर वीर बलभद्र कुवंरलाई ‘कि लेनदेनमा सम्झौता गर कि आत्मसमर्पण गर’ भनेपछी उनको जवाफ यस्तो थियो “जनरल जिलेस्पी तिमी साँच्चै बाहादुर छौ भने युद्द गरेर मलाई हराउ या तिमी हामीसंग युद्द गर्न तयार हौ ।” यो ईतिहास अहिले ३० वर्ष वरिपरी पुगेका हरेक नेपालीले कक्षा १ देखि ८ सम्मको विचमा पढेको हुनुपर्छ । पढेर पनि नपढेको भान पार्ने कुलंघारसंग त्यति सरोकार रहेन ।

मर्म केहो त यो ईतिहासको ? आफ्नो मार्तिभुमी प्रति कुनै प्रकारको गद्दारी नगरेस । बरु जस्तोसुकै कठिनाई या युद्दको निम्ति तयार भएस । आफ्नो देशको निम्ति ज्यानको बाजी थापेर लड़ेस आदि । अझ एउटा घटना थपी हालौं । नालापानीको युद्दमा अंग्रेजहरुले पानीको मूल समेत बन्द गरिदिएका थिए । तर पानी नखाई नखाई भएपनि बलभद्रहरुले लडाई लडेका थिए। खान पाईएको छैन । पिउन पाईएको छैन भनेर के बलभद्रहरुले पनि फिरंगीहरुसंग विक्न पर्थ्यो त ? विक्न प्रस्ताव आएकै हो । बरु बलभद्रले मृत्यु रोजे तर फिरंगीहरु संग झुकेनन् । केका निम्ति कसका निम्ति त ? ति बलिदानले स्थापित गरेका केहि मुल्य र मान्यता त पक्कै होलान नि ?

युवाहरुको प्रसंग आएकै हुनाले एउटा अर्को युवाकै ईतिहास हेरौं । राणाहरुले त्रिचन्द्रमा पढ्ने कलिला नवयुवा गंगालाल श्रेष्ठलाई राज्यद्रोह गरेपनि आत्मसमर्पण गरिस भने तँलाई माफ दिन्छम भने । त्यस्तो प्रस्ताव आउँदा पनि दुध पिउँदै गरेको आफ्नो सानो छोरो र जीवन संगीनिको परवाह नगरी बलिदानको निम्ति किन तयार भए त ? खान नपाएर भन्दा पनि खान नपाउनेहरुको निम्ति गंगालालले आवाज उठाएका थिए । उनलाई आफ्नो भोक र ज्यानको परवाह भएन । उनले देश र जनता बाहेक आफु र आफ्नो ज्यानलाई खासै महत्व दिएनन् ।

त्यसपछिको सबैभन्दा ठुलो युद्द जनयुद्द हो । जनयुद्दको क्रममा भएका दुईवटा घटनाहरु चर्चा गरौं । कृष्ण सेन ईच्छुकलाई महेन्द्र पुलिस क्लवभित्र सोधपुछ्को क्रममा ‘तँ पनि ठकुरी, म पनि ठकुरी, राजा पनि ठकुरी । अनि ठकुरी ठकुरी मिल्नुपर्छ । ठकुरी भएर ठकुरीको विरुद्द बोल्ने, लेख्ने,लाग्ने हो ? त्यसो गर्नुहुन्न’ भन्दा ईच्छुकले ‘समाजमा दुईवटा वर्ग हुन्छ । एउटा गरिखाने, अर्को शोषि खाने । त्यसैले मैले चाहिँ गरिखाने वर्गको निम्ति आवाज उठाएको हुँ’ भनेर किन भन्नुभएको थियो होला ? उहाँलाई पनि अनेक आश्वासन प्रलोभन आएका थिए । तर उहाँले त्यो स्वीकार नगरी किन हाँसी हाँसी बलिदान दिनुभयो त  ?किन दिन परेको त ज्यान ?

ठ्याक्कै त्यस्तै काठमाण्डौ सतुंगलको नेवार परिवारमा हुर्किएका प्रख्यात शहरी छापामार कमाण्डर निश्चल नकर्मीलाई त्यतिबेलाको शाही सेनाले गिरफ्तार गरेर हिरासतमा सोधपुछ गर्ने क्रममा एउटा नेवार मुलका मेजरले ‘तँ पनि नेवार, म पनि नेवार । त्यसैले हामी नेवार नेवार मिल्नुपर्छ’ भन्दा उहाँले पनि ‘नेवारमा दुईवटा वर्ग हुन्छ । म चाहिं तल्लो वर्गको अर्थात शोषित वर्गको निम्ति लडेको हुँ’ भनेर किन भन्नुपरेको होला ? त्यसरी वर्गपक्षधरता लिए वापत उहाँले आत्मसमर्पण नगरी किन बेपत्ता हुन तयार हुनुभएको होला त ?

खान नपाएर म्याच फिक्सिंग गरेका हुन् भन्नेलाई अर्को प्रश्न पनि छ । जनयुद्दको क्रममा थवाङका आमाहरुले कलिला बच्चाहरुलाई काँधमा बोकेर हप्तौं हप्ता सातुको भरमा कुन मुल्य र मान्यताको निम्ति लडाई लडेका थिए ? के आफुले खान पाईएन, लाउन पाईएन भनेर मात्रै हो त ?

अब युद्द छोडौं र फुटबलकै कुरा गरौँ । फुटबलका हस्तीहरुको नाम क्रमश लिंदा पेले, म्यारोडोना, रोनाल्डो, जिनेदिन जिदान,बेकह्याम, मेसि, क्रिस्टियानो रोनाल्डो आदि पर्छन् । माथिका मध्ये पेले, जिनेदिन जिदान र मेसिहरु गरिव परिवारका हुन् । अरु उनीहरु भन्दा केहि मात्रामा मध्यम परिवारका हुन् । पेलेले फुटबल जीवन सुरु गर्दा एक जोर जुत्ता पनि पाएनन् । एउटा गतिलो बल पाएनन् । तर के पेलेले हार माने ? खान लाउन परिवारमा समस्या पक्कै थियो होला । तर खान र लाउन समस्यानै भएका कारण उनले आफ्नो देश र समाजलाई धोका दिएनन् ।

जिनेदिन जिदानका बुवा रातमा चौकीदारी गर्ने काम गर्थे भने कहिले कुनै फुटबल रंगशालाको सरसफाई गर्ने काम पनि गर्थे । जिदानले सानो छँदा आफ्नो बुवालाई काममा  सघाउँथिए । गरिव परिवार थियो । खान लाउन धौ धौ परेको हुनाले नै उनीहरुले रातमा वाचम्यानको रुपमा काम गर्न परेको थियो । तर जिदानको फुटबल खेल्ने सौख गरिवीले मार्न सकेन । जस्तोसुकै कठिनाई बाबजुत उनि अघि बढे । जुन रंगशालामा सरसफाई गर्थे त्यहि फुटबल खेल्ने अवसर उनले पाए । देश र फुटबलप्रेमी र मानवताको निम्ति धेरै खेलहरु खेले । तर के उनले म्याच फिक्सिंग जस्तो जघन्य अपराध गरे ? उनी सफल भैसकेपछिको कुरा होईन । उनले आफुलाई त्यो सफलताको शिखरमा पुराउन दुख र कस्ट झेल्नु परेन होला र ?

लिओनल मेसि सानो छंदाको अचम्म लाग्दो रोग (Growth hormone deficiency)  देखापर्यो । त्यो रोगको उपचार गर्न परिवारले सकेन । तर वार्सिलोना क्लवले उनको उपचार गरिदिने र त्यो उपचार गरेवापत त्यो क्लवबाट खेल खेलिदिनुपर्ने सर्त उनले स्वीकार गरे । त्यसपछि उनले आजसम्मपनि त्यहि क्लवबाट खेलिरहेका छन् । आफ्नो देशबाटपनि खेलेका छन् । उनी गरिव परिवारका मान्छे हुन् । के उनले दुई छाक खानैको लागि म्याच फिक्सिंग गरे त ? के उनले आफ्नो देश र क्लव विरुद्द गद्दारी गरे ? अनेक क्लवले धेरै प्रलोभनहरु देखाउंदापनि उनी कुनै क्लव गएनन् । उनले वार्सिलोनाले लगाएको गुन आजसम्म तिरिरहेका छन् । के ईमान हुँदैन र खेलाडीहरुमा ? के का निम्ति मेसीले त्यस्तो गरे त ? एउटा खेलाडी हुनुको कर्तव्य आज यिनीहरुले देश र सिंगो संसारलाई दिएका छैनन् ?

नेपालमा नै त्यस्ता धेरै खेलाडीहरु छन् जसले जस्तो सुकै गरिवी भए पनि देशभक्तिमा कुनै धोका र गद्दारी गरेनन् । उदाहरणकै रुपमा हामीले बैकुण्ठ मानन्धरलाई लिन सक्छौं । बैकुण्ठ मानन्धरले आफ्नो देश र जनताको निम्ति कति कस्ट दुख सहेर खेल खेले होलान् ? बिबिसीसंगको अन्तरर्वार्तामा उनले भक्कानो छोड्दै आफ्नो परिवारको त्यतिवेलाको विपन्न अवस्थामा पनि आफ्नी आमाले खेल खेल्नको लागि  हौसला प्रदान गर्नुभएको थियो भनेर भनेका थिए । तर बैकुण्ठ मानन्धरको खेल प्रतिको रुचिलाई गरिवीले रोक्यो ? के नेपालका बैकुण्ठ मानन्धर जस्तो गरिविमा बाँचेका थिए सागरहरु  ? के सागर थापाहरु  पेले, जिदान, मेसिको परिवार जस्तो गरिबीमा बाँचेका थिए ? अवस्य पनि छैनन् । तर यिनैबाट किन त यस्तो राष्ट्रघात ?

फेरी युद्द र फुटबलकै कुरा गरौं । युद्द र फुटबल गर्ने र खेल्ने आफ्नै स्थापित नियम छ, हुन्छ । युद्दमा मार्ने, मारिने, आत्मसमर्पण गर्ने वा सम्झौता हुन्छ । युद्दमा जित, हार या सम्झौता हुन्छ । फुटबलमा पनि जित हार या बराबर हुन्छ । फुटबलमा जसले बढि गोल गर्न सक्छ त्यो टोलीले नै जित हाँसिल गर्छ । म्याच फिक्सिंग गर्ने भन्ने नियमनै हुँदैन जसरि वार फिक्सिंग गर्ने भन्ने हुँदैन । स्पष्ठ नियम अनुसार खेलिने खेलमा आफ्नो हुति नभएपछी हुतिहाराहरुले हो हुँदै नभएको नियम बनाउने अनि म्याच फिक्सिंग गरेर सिंगो जगतलाई उल्लु बनाउने गर्छन् । युद्दमा एउटा फौजका लडाकुहरु या कमाण्डरले दुश्मनको फौजसँगको मिलेमतोमा आफ्नो देशमाथि विदेशी फौजलाई कब्जा गर्ने वातावरण दिएका थिए भन्ने कुरा देशका जनताले थाहा पाएपछि तिनीहरुले आफ्नो देश फर्किने आँट गर्लान त ? यदि फर्कीहाले पनि के तिनीहरुलाई त्यो राष्ट्रले जीवित राख्ला ? यदि स्वदेशी सेनाले उनीहरुलाई राजद्रोहको मुद्दामा गिरफ्तार गरेर ल्याएपछि के कस्तो सजाय देला ?ईतिहासमा नेपाल वीरहरुको भूमिको रुपमा अंकित छ । पुर्खाहरुको रगतको ओज र गरिमालाई आँच पुर्‍याउने खालको गतिविधि गर्ने छुट कसैलाई पनि हुँदैन । देशमा नयाँ संबिधान बनेको छ । यस्ता जघन्य अपराधीहरुलाई के कस्तो सजाय मिल्ने हो त्यो हेर्न बाँकी छ ।

तपाइँको प्रतिक्रिया