नयाँ संविधान : प्रक्रियामा गए महँगो पर्ला
पहिलो संविधान सभाबाटै संविधान बनाउने सकिने संभावना थियो । यदि प्रक्रियागत रुपमा गएको भए । त्यो बेला प्रधानमन्त्री डा बाबुराम भट्टराईले गद्दारी गरिदिए । त्यसमा माओवादी अध्यक्ष अध्यक्ष प्रचन्डले ताली बजाइदिए । त्यो संविधान सभा भंग गरियो । बाँकी पहिचान पक्षधरलेपनि साथ दिएको भए, प्रचन्ड र बाबुराम भट्टराई पर्याप्त दबाब दिन सकेको भए पहिचानका पक्षमा संविधान बन्थ्यो । किनभने पहिलो संविधान सभाको निर्वाचनमा पहिचान सहितको संघियताका पक्षधरहरूको बहुमत थियो । तर त्यसो गरेनन । एक त प्रधानमन्त्री भट्टराईले खुट्टो लर्खराए, आत्तिए, तर्सिए । वा वामपन्थीहरूलाई सिध्याउने आन्तरिक विदेशी चासोमा सहमती गरेर संविधान सभानै भंग गरिदिए । दोस्रो संविधान सभाको निर्वाचन भयो । पहिचान पक्षधरहरूको बहुमत भएन, संविधान सभामा । नेपाली कांग्रेस र एमालेले बाजी मारे । अहिले संविधान बनाउने बेला सहमति होइन, अब प्रक्रियागत रुपमा जाउँ भन्दै छन् । प्रक्रियागत रुपमा गए त्यो नेपाली कांग्रेस र एमालेले केही समयकालागी जित्लान् । केही समयकलागी संविधान बन्यो भन्नपनी पाउलान । तर त्यो तिनलाई महँगो पर्ने छ । समग्र देशलेनै पीडा खप्नुपर्ने छ । नेपाली जनतालेनै चर्को मूल्य चुकाउनुपर्ने छ । त्यो मूल्य नेपाली कांग्रेस र एमाले अझ बढी चुकाउनुपर्ने छ ।
पहिलो पहिचान पक्षधरहरुले प्रभावकारी भूमिका, दबाब र प्रक्रियामा गएर संविधान बनाउने साहस गर्न हिच्किचाए । तीनले सहमतीकै रटान लगाए । किनभने ठूला भनिएका दल नेपाली कांग्रेस र एमाले संविधान सभामा अल्पमतमा परेका थिए । आफू अल्पमतमा परेका बेला कांग्रेस र एमालेले प्रक्रियागत रुपमा गएर संविधान बनाए द्वन्द बढ्छ, असहमती हुन्छ । दलहरुबिच अविश्वासको खाडल खनिन्छ । टक्करको भड्खालो गहिरिन्छ । सहमतिमै बनाउनुपर्छ संविधान । सबैलाई मान्य हुनेखालको संविधान भनेर जोडजुलुमा गरे । जुम्ले हात लगाए । त्यतिखेर प्रक्रियामै गएर बनाउँ संविधान भनेर पहिचान पक्षधरमध्ये केहीले भनेका हुन् । तर भट्टराई र प्रचन्डले यात खुट्टो कमाए । यात नेपालको बामपन्थी आन्दोलनलाई सिध्याउन बिदेशिको षडयन्त्रमा लागे । आफ्नै पार्टीमा पर्याप्त छलफल र सहमति नगरिकनै संविधान सभा भंग गराए । यहि मूल कारणले माओवादी टुक्रियो । पहिचान पक्षधर सबैलाई थाङ्नामा सुताएर, आफ्नै पार्टी टुक्र्याएर, वामपन्थीहरूलाई बदनाम र असक्षम देखाएर संविधान सभा भंग गराईयो । पहिचान पक्षधरहरुले जितेरपनी हारे ।
पहिचान पक्षधरहरुमा अर्को भ्रम पलायो, संविधान सभा संविधान बनाउनकालागि हो । जनताले पहिचान सहितको संघियताका पक्षधरलाई बहुमत दिए । संविधाननै जनताले पहिचान सहितको संघियता खोजेपछि अर्को निर्वाचनमापनि हामीलाईनै दिन्छन् । निर्वाचन भयो । पहिचान पक्षधरको बहुमत आएन । किनभने जनतालाई संविधान बनाउने भन्दापनी माओवादी र पहिचान पक्षधरहरू असफल भएको सन्देश दिइयो । आफ्नै बहुमत हुँदा प्रक्रियामा गएर संविधान बनाउन नसक्ने ती असक्षम देखिएपनि, जनताका अगाडी । अर्कोतिर माओवादी फुटेकाले बैध्य पक्षनै एमाओवादीलाई खुइलाउन लागे । जनतालेपनी माओवादीको हेलिकोप्टर चढेर चुनावमा जाने शामान्ती शैलि पचाउन सकेनन । लिम्बूवानकालागी लडिरहेका कुमार लिङदेङहरुपनि पहिचानका पक्षधरहरुसित मिल्न सकेनन्, आआफ्नै ढंगले लागे । समग्रमा पहिचानका पक्षधरहरू छिरलिए । तितरबितर भएर आफैं कमजोर बने । तीनले हारे ।
एमाले र नेपाली कांग्रेसको बहुमत आयो । आफ्नो बहुमत आएपछि नेपाली कांग्रेस र एमालेले पहिलो संविधान सभामा गरिएको सहमति भुल्दै छन् । पहिचानका पक्षधरले लगाएको गुण पनि भुलेका छन् । पहिलो संविधान सभामा गरिएका सहमतिलाई न्याक्दै र कुल्चँदै छन् । शासकिय स्वरुप र केही महत्वपूर्ण बिषयमा पहिलो संबिधान सभामा प्रकृयामा जाउँभन्दा ज्यान गएपनि मानेनन कांग्रेस र एमालेले । अहिले आफ्नो बहुमत छ भन्दैमा प्रक्रियामा जाउँ भन्न कुन मुखले सुहाउँछ ? कुन इमान्दारिताले दिन्छ ? तर उनीहरू त्यहि रटान गर्दै छन् । प्रक्रियामा नजाने सहमति गरेर संविधान बनाउने भन्ने नजिर त एमाले र कांग्रेसको सहमतीमा पहिलो संविधान सभामा बनेको हो । आँफैले नजिर बसाएपछि अब त्यो नजिरलाई नमानी सुख ?
आफ्नो बहुमत आएपछि नेपाली कांग्रेस र एमालेले लखरमखर गरिरहे शुरु देखिनै । टार्न खोजे । त्यो ‘सहमती, छलफल गर्ने समय गुज्रियोस । समय सकिनलागेपछि प्रक्रियागत रुपमा जाउँला, हाम्रै बहुमत त छनि’ भन्न खोजेका हुन् । नभन्दै संविधानका मूलभुत बिषयमा सहमति गर्न अब एक हप्तापनी बाँकी छैन् । संविधानका मूलभुत विषयमै सहमति भएको छैन् । त्यसैले कांग्रेस र एमालेले ‘अब प्रक्रियामा गएर संविधान बनाउँ’ भन्न थालेका छन् । यो ‘सहमति भनेको गोलीमारौं, अर्काको बहुमत हुँदा भनियो, अब आफ्नो बहुमत छ पेलेर गईन्छ’ भन्न खोजेको हो । पहिलो संविधान सभालेनै सहमति गरिसकेको विषय ‘पहिचान सहितको संघिय संविधान’ लाई कसरी मान्दैनौं भन्ने ? सहमतीका आधारमा त्यो मान्नुपर्छ । प्रक्रियामा गएर बहुमतले उही देखाउनकालागी संघिय संविधान बनाउने, हेपिएका, पछि परेका, मिचिएका र थिचिएका, उत्पिडनमा परेका, भाषिक सांस्क्रितिक अन्याय र अत्याचारमा परेका, अल्पसंख्यकहरूको पक्षमा यदि संविधान बनेन भने त्यसले अर्को दूर्घटना निम्त्याउने छ ।
आफ्नो पक्षमा बहुमत छ भनेर एमाले र नेपाली कांग्रेस फुरुंग हुनु । पहिचानका पक्षधरहरुलाई जनताले हराएका हुन् दोस्रो संविधान सभाको निर्वाचनमा । ती कमजोर छन् । तिनका पक्षमा जनता छैनन् । यसरी बुझेका छन् भने त्यो घातक हो । संविधान सभाको निर्वाचनलाई अस्वीकार गर्दा २०५२ सालमा माओवादी द्वन्द कसरी झ्यांगियो ? पहिचानका पक्षधरहरूको दम्भ, ह्याउ, बल, समर्थन् र शक्ति त्यो भन्दा सयौं गुणा बढि छ । गाउँ गाउँ, टोलटोलमै जनता जाग्रित, संगठित र एकमत छन् । आफ्ना पक्षमा, जनताका पक्षमा, राज्यद्वारा हेपिएका, दबाइएका, उत्पिडनमा परेकाको पक्षमा संविधान बन्छ की बन्दैन भनेर कुरेर मात्रै बसेका छन् । लौ धोका भयो भन्ने सुन्नु मात्रै पार्छ ती अरिंगालका गोलो झैं सिंहदरबारतिर ओइरिन्छन । बल्खु, सानेपा र पेरिस डाँडातिर जाइलाग्छन । २०४७ सालकै संविधानलाई संघियताको टालटुले नयाँ जामा लगाइदिएर बाहिरबाट चम्किलो रंग घसेकै भरमा ल्याउन खोजिएको हो भने त्यो टिक्दैन । त्यसलाई चुनौती दिन गाउँ गाउँबाट पहिचानसहितको संघियताकालागी उठ्ने आन्दोलन् देशले एक महिनामहिनापनि धान्न सक्दैन । त्यसले कांग्रेस र एमालेलाई टिक्न दिन्न । देशलेपनी ठूलो क्षति ब्यहोर्छ । दूरदर्शी नेताहरूले बेलैमा सोच्छन । ।





