संविधान सभाको घाँडो बिसाउन सडक र सदनमा भिडन्तको तयारि
पहिलो संविधान सभा नेपाली कांग्रेस र एमाले लगायतका केही दललाई घाँडो भएको थियो, शुरुमा । संविधान सभाको अन्तिम समयसिमातिर आइपुग्दा संविधान सभाकै सबैभन्दा ठूलो दल एकिक्रित माओवादीलाई घाँडो बनेको थियो । अहिलेको दोस्रो संविधान सभा त झन् संसदमा रहेका सबै दललाई घाँडो भएको छ । संविधान सभामा एमाले र नेपाली कांग्रेसको बहुमत पुग्छ । मतदानबाट संविधान बनाउँ पेलेरै भने त्यो टिक्दैन । सर्वत्र बिरोध हुन्छ । आन्दोलन् हुन्छ । त्यसैले पेलेर बनाए टिक्दैन भनेर उनीहरू त्रसित छन् । नबनाउँ भने संविधान सभामा बहुमत छ । बहुमत हुँदा बनाउन नसके कहीले बनाउने ? यो मौका गए संविधान नबनाएको मुख्य दोष भोग्नुपर्छ भन्ने स्पष्ठ बुझेका छन् । भंग गरौं अघिल्लो संविधान सभा भंग गराएको दोष माओवादीले भोगेझैं अब नेपाली कांग्रेस र एमालेले भोग्छन । त्यसैले नेकपा एमाले र नेपाली कांग्रेस दुबैलाई यो संविधान सभा घाँडो भएको छ । यहि घाँडोले गर्दा उनीहरु सदन र सडक दुबैतिर भिडन्तको तयारि गर्दै छन् ।
यता एकिक्रित नेकपा माओवादीसित मोर्चा बनाएका दललाईनै यो संविधान सभामा तिमीहरूले चाहे जस्तो संविधान बनाउ भनेर दिएपनि बनाउन सक्ने स्थिति छैन् । किनभने उनीहरू पहिचान पहिचान त भन्छन् तर पहिचान र सामर्थ्य अनि कति प्रदेश कसरी बनाउने भन्नेमै बिबाद छ । कस्तो संविधान बनाउन चाहेका हुन् त भन्ने खाकापनि दिनसकेका छैनन् । किनभने त्यहि खाकामा ३० दलका आआफ्नै स्वार्थ र अडान छन् । त्यसैले संविधान बन्न दिए पेलिने । आफैंलाई बनाउन दिएपनि सहमति गरौं न त भन्दापनि सहमति गर्न नसक्ने अवस्थाले यो संविधान सभा प्रचन्ड नेत्रित्वको ३० दलिय मोर्चाका लागिपनि घाँडो साबित भएको हो । त्यसैले संविधन सभा भित्र र बाहिर आआफ्ना दम्भ देखाउँदै दुबै पक्ष भिडन्तको तयारीतिर उन्मुख छन् ।
संविधान सभामा बहुमत भएका एमाले र नेपाली कांग्रेसले संविधान नामको केही पेज, केही हरफ लेखिएको खोस्टो जारी गर्ने । बाँकी सहमतीमा पछि टुंगो लगाउने भन्दै झारा टार्ने पाराले माघ ८ मै संविधान जारी गर्न खोजेका छन् । त्यसरी जारी गर्न पाए माओवादीको सरकारले सकेन हामीले बनायौं भनेर जनताका अगाडी भन्न पाइन्थ्यो भन्ने उद्देश्य राखेका छन् । त्यसैले संविधान सभाबाट सानो खोस्टो जस्तो अपूर्ण संविधान जारी गर्न सकिन्छ की भन्ने दाउमा एमाले र नेपाली कांग्रेस छन् । उनीहरू अहिलेसम्म त्यहि तयारीमा जुटेका छन् ।
उता पहिचान सहितको संघियता संविधानमा लिपिबद्द नभए त्यसलाई नमान्ने अडान जनजाति र प्रचण्डपक्षिय मोर्चाले राखेको छ । ति मुद्दालाई नसमेटी संविधान जारी गरिए सडक र सदन दुबैतिर आन्दोलन गर्ने उद्घोष प्रचन्ड नेत्रित्वको मोर्चा र जनजाति संगठनहरूले गरेपछी एमाले र नेपाली कांग्रेसको सरकारले संविधान सभा भित्रै सेना परिचालन गर्ने तयारि गर्दै छ । त्यसरी सेना परिचालन गरिए आफूहरू मर्न तयार रहेको र भिड्ने भनेर पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भनिसके । त्यसलाई टक्कर दिँदै यदि त्यसरी लड्न खोजे आफूहरू भिड्न तयार रहेको धम्की एमाले नेता रघुजी पन्तले माओवादीलाई दिए । यता जनजाति संगठनहरुलेपनि संविधान सभा बाहिर र सडकमा आन्दोलन गरेर एमाले कांग्रेसको योजना बिफल पार्ने धारणा सार्वजनिक गरिसकेका छन् । यसले अब संविधान सभा भित्र र बाहिर दुई पक्ष एक अर्काबिरुद्द भिडन्तको तयारीमा रहेको स्पष्ठ बुझिन्छ ।
संविधानसभाभित्र अन्तरिम संविधानका केहि धारा निलम्बन गर्ने, त्यसपछि प्रकृयागत रुपमा संविधान जारी गर्ने तयारिलाई अघि बढाउने कामसमेत चाँडै सभामुखले गर्न खोजेको बुझेका छन् बिपक्षी दलहरूले । अन्तत : सरकारले माघ ८ गते नै संविधान जारी गर्नका लागि सेना परिचालनको समेत तयारी गरेको सुइँको पाएपछि एकिक्रित नेकपा माओवादीको भात्री संगठन योङ कम्युनिष्ट लिग नेपालका अध्यक्ष गणेश पुनले त्यसका बिरुद्द वाईसिएलले प्रतिरोध गर्ने बताएका छन् । उनीहरूले युवाहरूलाई अग्र दस्तामा राखेर भिड्ने संकेत गरेका छन् ।
यो सबैको स्वार्थ के हो भने संविधान सभामा संविधान बनाउन भनेर गएका दलहरू कुनैपनि जनताले चाहे जस्तो संविधान बनाउन जिम्मेवार देखिएनन् । किनभने बहुमत पक्ष सहमति गर्न नचाहने । पेलेरै भएपनि अपूर्ण संविधान जारी गरेर संविधान बनाएको जस मात्रै लिने । उता प्रतिपक्षी, प्रचन्ड नेत्रित्वको ३० दलिय मोर्चा र जनजातिहरुपनि आफूहरूले कस्तो संविधान बनाउन चाहेको हो त भनेर संविधानको खाका दिन नसक्ने । पहिचानका लागि भनेर लडेकै दलहरूको मोर्चामा साझा सहमति देखाउन नसक्ने । एमाले र नेपाली कांग्रेसले आफूले चाहे जस्तो संविधान बनाइदेओस भनेर् घुर्की त लाउने तर आफ्नै बीचमा सहमति बनाउन नसक्ने । एमाले र नेपाली कांग्रेसलाई संविधान बनाएको जस नजाओस भन्ने भित्रि आकांक्षा राख्ने । त्यसैले यी सबै दलहरूको उद्देश्य आफ्ना मुद्दामा अरुले संविधान बनाइदेओस । संविधान बनाउन नसकेको भनेर दोष लगाएर आफूहरू जनताको पक्षमा रहेको भ्रम दिन सकियोस ।
नेपाली कांग्रेस र एमालेको उद्देश्य संविधान जस्तो होस् जारी गरेर जस मात्रै लिन पाइयोस र आफूहरू बहुमतमा रहेकाले प्रतिपक्षीहरूले मानुन्, नमाने पेलेरपनि जारी गरिन्छ । त्यसैले संविधान सभामा भएको अहिलेको लडाई संविधान गतिलो बनाउनेमा सरकार, ३० दलिय मोर्चा र जनजाति संगठनहरूको संविधान नबन्नु, बनेमा अपूर्ण बन्नु अनि संविधान सभा भंग हुनुको दोष कसरी अरुलाई लगाउने भन्नेमै देखिन्छ । त्यसैले यो संविधान सभा सबैलाई घाँडो भएको छ । त्यहि घाँडे अर्काको काँधमा बिसाउन संविधान सभा र सडकमा भिड्ने तयारि गरेका हुन् ।





