यो के हुँदैछ र कता जाँदैछौँ हामी ?
-अकेला
आजको र्सवाधिक जरूरत भनेकै बिकास हो, जसलाई बुझ्न जीव र प्रकृति वीचको अनोन्याश्रित सम्वन्ध पनि बुझ्नुपर्ने हुन्छ । जीव र प्रकृति वीच सन्तुलन राख्न, प्राकृतिक र साँस्कृतिक सम्पदाहरूको रक्षा र सर्म्वर्द्धन गर्न, समानुपातिक विकास र समतामूलक समाजको निर्माण गर्न सटिक र बैज्ञानिक आधारको आवश्यकता पर्दछ, जसले भू-उपयोग, खाद्यान्न उपलव्धता, आवास, सुविधा, शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरूको सटिक पहिचानमा मद्धत गरोस । तर यसको महत्व र उपादेयतावारे बुझ्न नचाहने, प्रयोग गर्न नचाहने र प्रयोग नगर्ने प्रवत्तिले बिकास निर्माणका काम कुराहरू पाखुरा खैँचाईँ र दाताहरूको सदाशयतामा निर्भर हुनुपर्ने स्थिति छ । बिना कुनै बैज्ञानिक आधार मकै बाँडे झैँ बाँडिने हँचुवा योजना र बजेटले विकासको वहुआयामिक र गतिशील सिद्धान्तको अपब्याख्या गर्ने मात्र नभै पूरै पद्दतीलाई नै लाठी- मुड्कीमा अनुवाद गर्दछ र हाम्रा प्रशासकहरूको मुखमा झुण्डिने गरेका बैज्ञानिकता, पारदर्शिता, बिकेन्द्रीकरण, सुशासन जस्ता शब्दहरूलाई शब्दकोशबाटै हटाउनुपर्ने स्थिति पैदा हुनथाल्दछ ।
प्रकृति अपराजय छ । किनकि, प्रकृति छ त जीवन छ, नत्र छैन । यो वरदानलाई विकासमा परिचालित गर्नु, संरक्षण र सर्म्वर्द्धन गर्नु भनेकै प्रकृतिको पूजा गर्नु हो, जुन बैज्ञानिक तथ्यबाट मात्र सम्भव छ । सबै वस्तु, प्रकृतिकै उपज भएकाले हावा, पानी, माटो, वनस्पति, खनिज पदार्थ तथा जीवजन्तु जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदाहरूलाई मानव जातिले पहिचान गर्न र उपयोग गर्न जान्यो भने यी सम्पदाहरू हाम्रा लागि प्रकृतिको अमूल्य वरदान सावित हुनसक्दछ । यो बरदान, जो युगौँदेखि विकास र विनाससँगै हामी बीच रहँदै आएको छ । यसको अत्यधिक दुरूपयोगबाट प्रकृतिको सन्तुलन बिग्रिन गै वाढी, पहिरो, अतिबृष्टि, अनावृष्टि जस्ता प्राकृतिक विपत्तिसँगै भुखमरी जस्तो मानवसृजित बिपत्तिहरू पैदा भैरहेका छन् । यसलाई हामी आज ग्लोबल वार्मिङ भनिरहेका छौँ । यो खतरा आज विश्वमा यसरी मडारिएको छ कि पूरै देश नै समुद्रमा समाहित हुने स्थिति देखिएको छ । र समुद्रभित्र क्याविनेट बैठक बसेर दुनियालाई खवरदारी गर्नुपर्ने स्थिति छ ।
जन्म, मृत्यु, बर्साईसर्राई, प्रजनन दर, मृत्युदर तथा वर्साईसर्राई दर जस्ता जनसंख्यामापनका तत्वहरूवारे योजना तथा नीति निर्माताहरूले जान्नैपर्ने हुन्छ । यो बिना जनसंख्यामापनका निर्धारक तत्वहरू वारे बुझ्न कठिन हुन्छ र बिकास निर्माणका कामकुराहरू हँचुवा, टेबुल ठोकाई र दाताहरूको सदाशयतामा भर पर्नुपर्ने हुन्छ । कुन क्षेत्रमा जनसंख्याका निर्धारक तत्व र त्यसका मापन तत्वहरूको अवस्था के छ, सोको समुचित व्यवस्थापनका लागि आगामी रणनीति कस्तो बनाइनुपर्छ र भविष्यमा बनाइने योजना वारे सचेत हुन राजनीति गर्नेहरुका लागि अति जरुरी छ ।
नेपाल अपार प्राकृतिक सम्पदाको भण्डार हुँदाहुँदै पनि रोजगारीका निम्ति अर्काको शरण पर्नुपर्ने बाध्यताका पछाडि अर्काको कुरा सुन्न नचाहने, सुने-अर्को कानले उर्डाईदिने र आफ्नै कुरो लाद्नखोज्ने हाम्रो यस्तो प्रवृत्ति छ, जसलाई हामीले चाहेरै पनि त्याग्न सकिरहेका छैनौँ । यी प्राकृतिक सम्पदाहरूको पहिचान गर्ने र यसको उचित स्याहार-सम्भार मात्रै गर्ने हो भने तीन करोड नेपालीलाई सुतिसुति खानपुग्दछ । तर एउटा स्वस्थ्य मानिसको लागि चाहिने दैनिक २२५० क्यालोरीका बदला १८१५ क्यालोरी मात्रै प्राप्त गरिएको र अझै दैनिक ४३ प्रतिशत क्यालोरी बराबरको भोजन प्राप्त गर्नुपर्ने जुन स्थिति छ, त्यसबाट जनता कुपोषण, सुकेनास, रक्तअल्पता, गलगाँड जस्ता मामुली रोगबाट समेत ग्रसित हुनुपर्ने अवस्था छ । त्यसको निम्ति यहाँको पद्दती र हामी स्वयँ नै जिम्मेवार छौँ । किनकि, हामी आफु र यो सिष्टमलाई बदल्न सकिरहेका छैनौँ ।
पर्याप्त जनचेतनाको अभाव र गरिएका कार्यक्रमहरू सत्ता- भत्तामै सिमित हुने र मुलुकमा विश्व प्रकृति कोष, विश्व संरक्षण संघ, विश्व खाद्य तथा कृषि संगठन, विश्व वालकोष, संयुक्त राष्ट्र जनसंख्या कोष तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम जस्ता अनगिन्ति अन्तर्राष्ट्रिय संस्थाहरू क्रियाशील छँदाछँदै पनि जनसंख्या वृद्धिको अत्यधिक चापका कारण मृत्युदर वृद्धि हुन गै वर्साईसर्राई अनियन्त्रित रूपमा वृद्धि हुने र त्यसबाट मुलुकमा वेरोजगारीता बढिरहेको र गास, बास, कपास तथा जनसंख्याको अत्यधिक बृद्धिका कारण डम्पिङ र्साईट, खेतीयोग्य जमीन तथा वनजंगलको अभावले पूरै वातावरण नै बिग्रेको स्थिति छ, जसको पछाडि आफुलाई पूरै पद्दतीकै प्रतिनिधि ठान्ने र आफु बिना त्यो पद्दती नै नचल्ने दम्भको महारोग छ । त्यसको जिम्मेवारी नमीठो नखाने, नमीठो नबोल्ने, नराम्रो नलगाउने, सस्तो र थोत्रो गाडी नचढ्ने हाम्रा राजनीतिज्ञ, नीतिनिर्माता र योजनाकारहरूले नलिए कस्ले लिने ? बिहारको लालुप्रसाद यादवले ?
यस वाहेक अत्यधिक जनसंख्याको कारणवाट वन जंगलको फडानी, हावापानी र जमीनहरू व्रि्रदै जानु, वाढीपहिरो, भू-क्षयवाट पुरै क्षेत्र मरूभूमीमा परिणत हुनु, कलकारखाना र चिम्नीहरूवाट निस्कने कार्वनर्डाईअक्र्साईड तथा कार्वनमोनोअक्र्साईड जस्ता धुँवाले पुरै वातावरण नै दुषित हुनु, रासायनिक मल तथा कीट्नाशक औषधीहरूको अत्यधिक प्रयोगले निर्मल खोलानाला, पोखरी तथा तालतलैयाका कञ्चन पानी दुषित हुनु र माटोको अम्लीयपना बढेर उर्वराशक्तिमा ह्रास आउने जुन क्रम छ, त्यसले निकट भविष्यमा भूखमरीको भयाहव स्थिति सिर्जना गर्नेवाला छ । एउटा प्रतिवेदन अनुसार पुरै दक्षिण एसियाबाट गिद्धहरू लोप हुँदैजानुका पछाडि बढी उब्जनी लिन खेतबारीमा प्रयोग गरिने यस्ता रासायनिक मल तथा कीट्नाशक औषधीहरू छन्, जसलाई खाएर चौपायाहरू मर्दछन् र ती चौपाया खाएर गिद्धहरू प्रकृतिबाटै विलुप्त हुने स्थितिमा छन् । यो स्थिति, न सिर्फ जटिल छ, डरलाग्दो पनि छ ।
कहाँ, के के र कति कुराको खाँचो छ । जल, जमिन र जङ्गलको अवस्था के छ । यी कुराहरूलाई राजनीतिको विषय बनाईनु हुन्छ-हुँदैन । भए-त्यसको नतिजा के हुन्छ । आफ्नो भूमी, सिमारेखा आदिको स्थिति के छ ? त्यसको सटिक व्यवस्थापन कसरी गर्ने जस्ता तथ्यहरूको पहिचान, त्यसवारे अध्ययन, अनुसन्धान, चिन्तन-मनन नितान्त वैज्ञानिक तरिकाले गरिनुपर्ने हुन्छ न कि हँचुवा, सदाशयता वा राजनीतिका भरमा । यहाँ विकासको सिद्धान्त र सिष्टमले हावा खाएको पनि यही भएर हो । नत्र, लगभग भारतसँगसँगै स्वतन्त्र भएको यो मुलुकले विकास निर्माण जस्ता कुराहरूमा यतिविधि माथापच्ची गर्नुपर्ने अवस्थै थिएन । प्रकृतिको अमूल्य बरदानलाई राजनीतिक कलहको विषय बनाउने र त्यसैका निम्ति पाखुरी सुर्कने, खैँचाखैँची गर्ने भएपछि यी अमूल्य सम्पदाको संरक्षण, सर्म्वर्द्धन र यसको विकास गर्न यहाँ पशुपतिनाथ त पक्कै आउँदैन ।
ठूलाको ठूलै दाउ, सानाको शू गर्ने ठाउँमा घाउ भनेझैँ ठूला र बिकसित राष्ट्रहरू यतिखेर हातेमालो गर्दै वातावरणीय समस्या, सैनिकीकरण र युद्धको खतरा, जनसंख्याको विष्फोटन, गरिवी र दुःख, मानवाधिकार उल्लंघन, भविष्यको योजना जस्ता विश्वव्यापी समस्यासँगै आतङ्कवादसँग जुझिरहँदा र खरबौँ डलर खर्चिईँदा पनि हामी र हाम्रा नेताजीहरूलाई राजनीतिक बितण्डाबाट फूर्सद् हुँदैन भने असली बिकास कहाँबाट हुने ? कतिखेर गर्ने र ग्लोबल वार्मिङ्गसँग हामी जुध्ने कहिले ? सगरमाथाको चट्टान उपहार दिईँदैमा ढुक्क हुने स्थिति त छैन दुनियामा ।
बन्द, जाम, हडताल, धुँवा-धुलो, चुल्हो-चौको, गाँठ, सोमरस, तरूनी र तात्तो न छारोका फोस्रा राजनीतिक गफबाट हामीलाई फूर्सद् मिले न हामीबाट बिकास सम्भव हुन्छ । हामीलाई न सिर्फएक अर्काको कुरा काट्न, खुट्टा तान्न र एक अर्कालाई निचा देखाएर फूर्सदै छैन । जालझेलको राजनीतिलाई शीघ्रातिशीघ्र सल्टाएर टाउकामा मडारिएको ग्लोबल वार्मिङ्गको खतरासँग जुझ्ने चटारो पनि हामीलाई छैन, र यसैलाई हामी आज बिकास भनिरहेका छौँ । यो पनि बिकास हो ? यस्तो पनि बिकास हुन्छ ? यो त र्सवनाशको रिहर्शल हो । एक यस्तो र्सवनाश, जसले हामीभित्रका पाखण्डपन, पोङ्गापन, कुसँस्कार, कुरीति, अन्धभक्तिलाई पोल्नखोज्दैछ र त्यसैमार्फ नयाँ सभ्यता पल्लवित हुनखोज्दैछ । त्यो नभएसम्म अरु त सम्भव छैन ।
बञ्जड भूमीहरूमाथि गगनचुम्वी महलहरू ठडिनु, विद्यालय, कलेज-क्याम्पसहरू बन्नु, बाटाघाटा, पुलपुलेसा, कर्ल्भर्ट निर्माण हुनु, जमिनको भाउ आकास्सिनु, खरानी हुने देह गहनाले सुशोभित हुनु र हातहातमा मोबाईल, घरघरमा कम्प्युटर, टिभी र बच्चाबच्चाका हातमा आईपट हुनु पनि बिकास होईन । भाइ-भाइ, मित्र-मित्र, समाज-समाज, वर्ग-वर्ग, धर्म, समुदाय, सम्प्रदाय एक अर्कादेखि दूर हुनु पनि बिकास होईन । असली बिकास त त्यो हो, जसले मानिसलाई कुसँस्कारबाट सुसँस्कारतिर डोर्याउँदछ । बिकास त त्यो हो, जसले भाइ-भाइ बीच, मित्र-मित्र बीच, समाज-समाज बीच, वर्ग-वर्ग बीच, धर्म, समुदाय, सम्प्रदायहरु बीच सामिप्यताको अहशास गराउँछ । जुन खालको बिकासबाट हामी आज मख्ख र हैरान छौँ, त्यसले कतै हामीलाई त्यतैतिर डोर्याइरहेको त छैन, जता हाम्रो र्सवनाशको तिथिमिति पहिल्यैदेखि तय छ ? नत्र, यो के हुँदैछ र कता जाँदैछौँ हामी ?





