मान्छेमात्र होइन, देशै विरामी
-रमेश गौतम “पाल्पाली“/काठमाडौ
धुम्बाराही, शिवस्थलीमा क्रियापुत्रीहरूको सुविधाकोलागि शौचालय र स्नानगृह निर्माणको काम भइरहेको छ । कामदारहरूले के कसरी काम गरिरहेका छन् ! भनेर हेर्नको लागि घरबाट निस्केको थिएँ । बाटोमा एकजना पूर्व परिचित गफाडी मित्र भेटिए । हाम्रो रीतिरिवाज, धर्म संस्कृति र परम्परा अनुसार बन्धुबान्धव, इष्टमित्रहरू भेट भएपछि बोलिने पहिलो वाक्य हो-“के छ ?, यहाँलाई आरामै छ ?, घरपरिवार सबैमा सुखशान्ति छ होला के रे !” मैले पनि रेडिमेट त्यही वाक्य दोहोर्याएँ र आफ्नो कर्तव्य पूरा गरेँ । मित्रबाट पनि त्यस्तै प्रश्न आउँछ होला भनेर उत्तर दिनको लागि तयार भएर उनको मुखमण्डलमा हेरेर बसेँ । मित्रबाट आज त्यस्तो बनिबनाउ उत्तर होइन कि अर्कै उत्तर आयो । “कहाँ आराम हुनु ! देशै विरामी भएको बेलामा हामी नेपालीलाई कसरी आराम हुने ? आराम हुन त तनमात्र स्वस्थ भएर कहाँ हुन्छ र ? मन पनि स्वस्थ हुनुपर्छ ।” भनेर उनी आफ्नो बाटो लागे म शिवस्थलीतिर झरेँ ।
मित्रको भनाईले मलाई शल्यक्रियाका विशेषज्ञ सुश्रुतको तलको स्लोकको संझना भयो-
“समदोषः समाग्निश्च समधातुमलक्रियाः ।
प्रसन्नात्मेन्द्रियमनः स्वस्थ इत्यभिधीयते ।।”
यसको आसय के भने जसका दोष -आयुर्वेदमा दोष भनेर वात, पित्त र कफ यी तीनलाई भनिन्छ (सम -ठीक) हालतमा छन्, जसको अग्नि (खाएको पचाउने जठराग्नि) ठीक छ, रस रक्तादि आठ धातुहरूको निर्माण र पोषणका साथ मलमूत्रादिको निष्कासन प्रक्रिया जसका ठीक समयमा र मात्रामा हुन्छन्, अनि आत्मा, इन्द्रिय र मन जसको स्वस्थ छ त्यही व्यक्ति स्वस्थ हो । अर्थात् त्यही व्यक्तिलाई आराम भएको मान्न सकिन्छ । तर आज हाम्रो अवस्था हेर्दा शारीरिक सञ्चो भए पनि आत्मा र मन स्वस्थ भएको व्यक्ति त ०.००१ प्रतिशत पनि पाउन सकिन्न होला । मित्रको भनाइमा शतप्रतिशत होइन कि एक सय एक प्रतिशत सहमत हुन करैलाग्यो ।
आज साँच्चै देश विरामी छ । देशलाई दुःखीरहेको छ । देशका हरेक अङ्गप्रत्यङ्ग पीडित छन् । थिल्थिलिएका छन् । न त यहाँ सही राजनीति छ । न त प्रशासन ठीक छ । यहाँ महिनौँ महिनौँ संसद् चल्दैन । तर ६०१ को तलब, भत्ता र आतेजाते भाडामा कमी हुँदैन । संविधान समयमा बन्ला भन्ने आशा जनताले कम लिएका छन् । त्यति भएर पनि चित्त दुःखाई भने र्सवसाधारण निमुखा जनताले नै गर्नुपर्छ । न त नेताको चित्त दुख्छ । न त नेताका झोले, हुक्के र सुसारेहरूको । आफ्नो कर्तव्य पालन नगर्ने मन्त्रीज्यूहरू आफ्नो भनाई राख्न जानुपर्यो भने दलबल सहित नारा जुलुस लिएर वैठकमा जानुहुन्छ । हुन त अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिन जाँदा त दलबल लिएर नारा लगाउँदै झण्डा हल्लाएर जानसक्ने मन्त्री नेताहरू भएको देशमा आफ्नै संसदीय दलको वैठकमा जाँदा नारा लगाउनु ठूलो कुरा भएन । तर ‘के जातेलाई भन्दा के जातेलाई लाज’ भनेजस्तै लाज मान्नुपर्ने भने यिनै निमुखा जनतालाई हुँदो रहेछ ।
यो देशले स्थायी सरकार कहिल्यै पाउन सकेन । दश वर्ष बाह्र थरी सरकारको अनुभव पनि यही देशले गर्नुपर्यो । आफ्नै दलको अत्यधिक बहुमत हुँदासमेत पूरा कार्यकाल सरकार नचलाउने नेता भएको देशमा सहमतिको सरकारबाट राजिनामा गरेर पुर्पुरो समाउने नेताको बारेमा के भन्ने ? जस्तो सरकार त्यस्तै प्रशासन । प्रशासकलाई राजनीतिको झोला बोक्न विवस गराउने सरकार सञ्चालकहरू भएपछि स्वच्छ एवं सुशासन खोज्ने जनतालाई नै वेबकुफ भन्ने हो कि ? जहाँ अस्थिर सरकार हुन्छ र कर्मचारीलाई राजनीतिको मुख ताक्नुपर्ने गराइन्छ त्यहाँ यस्तो हुनु स्वाभाविकै पनि हो । त्यसैले सरकारलाई राजस्व बुझाउन जाँदा पनि मुख्य रीत पुर्र्याउनुपर्छ । होइन भने लाइनमा बस्नुपर्छ, पालो कहिले आउँछ वा हाकिम साहबको दया कहिले आउँछ र काम बन्छ । चाहे लाइसेन्स नवीकरण गर्न जानुस्, चाहे कर बुझाउन जानुस् । हालत उही हो । नामसारी गर्ने, मोठ भिड्याउने आदि काम त जनताका आफ्नै हुन्, यस्तो कामको त कुरै भएन । या त आफ्नो मान्छे हुनुपर्छ या त चलनचल्तिको काम गर्नुपर्छ । अन्यथा काम गर्न मुस्किलै पर्छ । यदि समय अनुसार चल्नसक्ने हो भने घरै बसेर लाइसेन्स लिन पनि सक्नुहुन्छ । लिएकै छन् धेरैले । भन्न खोजेको कुरा सबैले बुझनुभए नै होला । यसो हुनुमा कर्मचारीको मात्र दोष छैन । राजनैतिक चरित्रको हात बढी हुन्छ यस्ता कुरामा । फेरि यस्तो अवस्था वर्तमान सरकारको पालामा मात्र भएको भने होइन, पूर्ववर्ती सरकारहरूका पालामा पनि यस्तै थियो । साथै राजनैतिक नेतृत्वको मनोवृत्तिमा सुधार नभएसम्म प्रशासनिक सुधार हुन पनि सक्दैन ।
हामीकहाँ ‘महानगरपालिका’ छ । यसको काम कार्यवाही वा प्रशासनिक व्यवस्था अझ भिन्न किसिमको छ । त्यहाँको व्यवस्था र अवस्था जान्न समाज सेवी भएर जानुपर्छ ठेकेदार भएर होइन । त्यहाँका हाकिमदेखि कार्यालय सहकारीहरूसम्मको हप्कीदप्की र अपमान सहन नसक्ने व्यक्ति समाजसेवी हुन सक्दैन । आफ्नो पैँतीस वर्षो प्रशासनिक जीवनमा यहाँको प्रशासनिक व्यवस्था नौलो भएको लेखकलाई लागेको छ । त्यही कार्यालयमा ठेकेदारसित गरिने व्यवहार भने फरक देखिन्छ । यो कुरा पनि पाठकलाई बुझन गाहारो पर्दैन होला ?
नेपालमा सुशासन लागू गर्ने भाषणमात्र होइन अठोटसमेत प्रत्येक सरकारका प्रधानमन्त्री र मन्त्रीहरूबाट सुनिन्छ । प्रशासन सुधारका नाममा करोडौँको बजेट पनि छुट्याइन्छ । तर व्यवहारमा फरकपन भने जनताले पाएको छैन । जनताले कर तिर्छन्, त्यही करबाट मन्त्री, सांसद् र कर्मचारीको जिविका चलेको छ । सुशासनको कुरा धेरै टाडा छ । जनताले त सरकारबाट पाउनुपर्ने जिउधनको सुरक्षा समेत पाउन सकेका छैनन् । यसो हुनुमा हामीकहाँ नैतिकता र इमानदारिताको मूल्याङ्कन गर्ने परिपाटि छैन । आचार संहिता, सामुदायिक जबाफदेही र कर्तव्यप्रतिको लेखाजोखा हुने गरेको छैन । कर्मचारीले राजनैतिक नेतृत्वको दोष देखाउने राजनैतिक नेतृत्वले कर्मचारीलाई दोषी मान्ने । यी दुईको सहयोगमा प्रशासन चल्नुपथ्र्यो । तर आपसी खिचातानी, काखा र पाखा, फुट र छुटजस्ता अराजक व्यवस्थापनले प्रशासन लथालिङ्ख छ । राजनैतिक दलहरूको आपसी वैमनश्यले देशको हालत झन् खस्किँदो छ । जनताप्रति सरकारको जिम्मेवारी के हो ? र कर्मचारीको कर्तव्य के हो ? विपक्षी दलले कसका लागि काम गरिरहेको छ ? यस्ता कुरा कागजमा सीमित हुन्छन् । मूल्याङ्कन गर्ने फुर्सद कसैलाई छैन । हत्या हिंसा, लुटपाट, अपहरण, फिरौती, चन्दा सङ्कलन, सम्पत्ति जफतजस्ता क्रियाकलाप आम रूपमा हुने गरेका छन् । यस्ता अपराधहरूमा अधिकांशले राजनैतिक संरक्षण पाउने गरेको हुँदा दण्डहीनताले सीमा नाघेको छ । मान्छेको मन रोइरहेको हुन्छ र आत्माले चित्कार गरेको हुन्छ । लथालिङ्ग देशको भताभुङ्ग चाला देखेर देश साँच्चै विरामी परेको छ । यस अवस्थामा मान्छे कसरी स्वस्थ हुने ?
राजनैतिक नेतृत्व, शासक वर्ग र बुद्धिजीवीहरूले सोच्नुपर्ने भएको छ । यसरी कति दिन चलाउने हो देशलाई ? “भाइ फुटे गँवार लुटे” । भित्रबाट हामीले लुटिरहेका छौँ । बाहिरबाट अरुले लुटिरहेको छ । र्सार्वजनिक ओहदामा बस्ने र राजनैतिक नेतृत्वबाट निष्पक्ष र प्रभावकारी सेवाको अपेक्षा जनताले गरेका हुन्छन् । नेतृत्व वर्गमा मानसिक परिवर्तन नभएसम्म नयाँ नेपाल नाराले मात्र बन्दैन । जनताको न्यूनतम सेवासुविधा पनि दिन नसक्ने नेतृत्वबाट नयाँ नेपालको कल्पना असम्भव हुन्छ । राज्यको सफलताको आधार भनेको प्रशासनिक संयन्त्रको सबलीकरण र क्रियाशीलता हो । शासन प्रणालीलाई सुशासित बनाउन र्सार्वजनिक सेवालाई जनमुखी एवं सेवामुखी बनाउनु जुरुरी छ । यसको लागि दलहरूले राम्रो काम गर्न खोज्नेको खुट्टा तान्ने काम नगरौँ । नेतृत्वमा मेलमिलाप र परिवर्तनकारी सोच ल्याउँ । देशलाई अरु विरामी नगराउँ ।





