आत्महत्याको बाटो रोज्दै तरुण दल र प्ररायु संघ
नेपाली कांग्रेसको युवा संगठन तरुण दल र नेकपा एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा गज्जवको भुत चढेको देखिएको छ। सारा देश, जनता र प्रमुख पार्टी तथा नागरिक समाज १५ गते कसरि गणतन्त्र घोषणा र कार्यान्वयन गर्ने भन्ने ध्याउन्नमा छन। तर सरकारमा रहेका पार्टीका यि दुई संगठन भने कसरि त्यसलाई अवरुद गर्ने भन्ने च्याँखे थाप्दैछन। गणतन्त्र घोषणा नगर्न राजावादीहरुले चलखेल गरिरहेका छन। राजा चल्मलाईरहेका छन। राजावादीहरुले धम्कि दिइरहेका बेला सारा प्रजातान्त्रिक शक्ति एक ढिक्का गराउनुको साटो यिनिहरु त्यो शक्तिलाई फुटाउनै उद्दत देखिएका छन।
नेकपा माओवादी र राज्यले ब्यापारी रामहरी श्रेष्ठका हत्यारा पत्ता लगाएर तिनलाई कारवाही गरि श्रेष्ठ परिवारलाई उचित क्षतिपूर्तिदिने वाचा गरे। छानबिन समितिपनि बन्यो। तर यि दुई तरुण दल र प्ररायुसंघ भने श्रेष्ठ परिवारलाई उचालेर आन्दोलनमा होमिएको घोषणा गरेका छन। अब यिनले आन्दोलन चर्काउने रे। नेपाली कांग्रेसले राखेका सात शर्त पुरा नहुन्जेल सडक आन्दोलन गर्ने रे। वाईसिएल बिघटन नगराई नछोड्ने रे। अब झन उपत्यका भरिनै टोलटोलमा प्रदर्शन गर्ने घोषणापनि गरेका छन। अझ अचम्म र नाटकिय कुरा त गणतन्त्र घोषणा हुने थलोमै नेकपा माओवादीका सभासदहरुलाई छिर्नबाट रोक्ने धम्कि दिए आज बिहान यिनले ।
गणतन्त्र घोषणा गर्ने लाई नै घोषणास्थलमा छिर्न नदिने घोषणाको अर्थ के ? कसलाई र कसको पक्षमा लागिरहेको छ यो समूह? गणतन्त्र घोषणामा ब्यवधान खडा गरेर कसको हित गर्दै छन यि दुई यूवा संगठनहरु ? कसको निर्देशन, परिचालन र नितिमा त्यो गर्न गइरहेका छन। कुन शक्तिको आड, भरोसा र उक्साहटमा लागिरहेका छन यिनिहरु? नत्र राजनितिक अवस्था यस्तो संकटपूर्ण भएको बेला यस्तो जनघाती निर्णय गर्न कसरि संभव हुन्छ? घटनामा संलग्न पार्टी र राज्य स्वयंले कानुनि बाटो अवलम्बनगर्दागर्दै गणतन्त्र घोषणा भन्दा श्रेष्ठ हत्याको विषय कसरि प्राथमिकतामा पर्यो तिनकालागि ?
गत निर्वाचनमा ८० प्रतिशत भन्दा बढि मत गणतन्त्रको पक्षमा दिएका छन जनताले। अनि यि दुई संगठन अहिले यो वा त्यो बहानामा त्यहि मत बिरुद्द उत्रिरहेका छन। दशकौंदेखि गणतन्त्रको माग लिएर आन्दोलन गरेका जनता आफ्नो अभिलाशाको निकट पुगेका बेला त्यस बिरुद्द उभ्याएर कसको स्वार्थ पुरा हुन्छ ? साँच्चिकै उनीहरुको आन्दोलनकै कारण कहि कतै वा कुनै कारणवश गणतन्त्र घोषणामा ब्यवधान भयो भने त्यसको परिणाम के होला? काठमाडौंका एक ब्यापारीको हत्याको बिरोधका नाममा के त्यो ब्यवधानले रामहरी श्रेष्ठ झैं मारिएका हजारौं जनताको रगतको अवमुल्यन नगर्ला जसले गणतन्त्रकालागि ज्यान दिए ? जेठ १५ को ऐतिहासिक अवसर गुम्यो यिनै संगठनका कारण भने यिनको अस्तित्व सम्मपनि स्विकार्ने छैनन जनताले। यो गणतन्त्र बिरुद्दको षडयन्त्र त हो नै ति स्वयंकालागिपनि आत्महत्याको बाटो।




