मुख्य दल, भए भरका नेता सबै कुर्सीका लम्पट

नेपालमा कुनै दल, नेता छ देशको साँच्चै चिन्ता गर्ने ? भाषण चन्द्रमा खसाल्ने गरेपनि तिनका ब्यवहारले त्यो देखाउँदैन । सबै नेता, पार्टी, दल भुरे टाकुरे, ठुला, साना भएभरका खालि कुर्सीका लागि मारामार मात्रै । यिनको ध्याउन्नै कुर्सी तान्ने । कुर्सीबाट खसाल्ने । आफु बस्ने, । बसेपछि टाँस्सीरहने । अरुले नगल्हत्याएसम्म ज्यान जाला नछोड्ने । छोडिहाल्नुपर्‍यो भने उठ्नासाथ फेरि उहि खेल शुरु गर्ने । 

 संबिधान सभाको चुनाब भयो। हार्दापनि कांग्रेसले ज्यानजाला कुर्सी छोडेन अनेक बहानामा । बल्लतल्ल माओवादी नेत्रित्वको सरकार बन्यो । पाएको सरकार चलाएनन् गतिलोसित । केहि महिनामा स्वयं अवकाश पाउने सैनिक प्रमुखलाई हत्त न पत्त गल्हत्याउने, त्यसैमा मात्रै अल्झिने गरेर सरकार छोड्नुपर्‍यो । सरकारबाट हट्न पाएको छैन । अर्को सरकारले तिन महिनापनि के गर्ला भनेर हेर्न नसक्ने भए माओवादी । र सरकारबाट हट्नासाथै राष्ट्रिय सरकारको कुरा निकाले । आफैंले नेत्रित्व गर्नुपर्ने रे । फोरम त सरकारमा जानकै लागि टुक्रा भयो । अरु तमलोपा, सद्भावना सब यति र उति सिट नपाए त ! भन्दै त्यसैमा अल्झिए । हेर्नुस् त देशको अहिलेको मुख्य काम के हो ?

 गणतान्त्रिक संबिधान बनाउने । देश अन्तरिम संबिधानका भरमा लरखरिँदै छ । तर नेतालाई कुनै चिन्ता छैन संबिधान बनाउने कुरोको। जनतालाई रनभुल्लमा पार्न, आफ्नो पार्टी गतिलो देखाउन यसो कुरो गरिहाल्छन् बेला बेला संबिधान यस्तो बनाउनुपर्छ र उस्तो बनाउनुपर्छ भन्दै । तर साँच्चै संबिधान बनाउन भनेर भित्रि आशायकासाथ कुनैपनि दल लागेको छैन ।

 संबिधान बनाउने उद्देश्य भए यहि हालत हुन्छ ? संबिधान सभाले संबिधान बनाउनकालागि तोकेको तालिका अहिले पाँचौं पटक परिवर्तन गरेको छ । संबिधान बनाउनकालागि बिभिन्न विषयहरु छन् । तिनले संबिधान बनाउनु अघि अवधारणापत्र र प्रारम्भिर मस्यौदा बनाउनुपर्छ । तर तोकेको समयमा त्यो बनाउनै सकेन कार्य व्यवस्था परामर्श समितिले। किनकि दलहरुले त्यसलाई वास्तै गरेनन् । अनि कसरि बन्छ ?

 अहिले फेरि ति मस्यौदा र अवधारणा पत्रमाथि छलफल गर्ने समय बढाएर भदौ २१ पुर्‍याइएको छ । यहि ताल हो नेताहरुको भने त्यो पनि पुरा हुने छैन । विषयगत समितिमा भएका नेताहरु मिटिङमै नआउने गरेपछि त्यो समस्या भएको हो । मुख्य काम नै अहिलेको संबिधान बनाउने । तर संबिधान निर्माणको कार्य तालिकानै परिवर्तन भएको भयै भएपछि के हुन्छ ? जनतामा निराशा । संबिधान नबन्ने हो कि भन्ने चिन्ता । गतल तत्वहरुको चलखेल। देशमा झन अराजकता जन्मिन्छ । जनताले रगत बगाएर ल्याएको गणतन्त्र धरापतिर उन्मुख हुन्छ । तर जे होस, नेताहरुलाई त्यसको मतलब नै छैन । उनिहरु मुख्य काममा गम्भिरनै छैनन् । उनीहरुको प्राथमिकता नै अहिले जसरिपनि कुर्सीमा पुग्ने । मन्त्री बन्ने । झण्डा हलाउँदै महंगा कार चढ्ने । नातापातालाई जागिर लगाउने । अनि बिदेश भ्रमण गर्ने ।

 अचम्म त के छ भने माओवादीले दश वर्ष भन्दा लामो जनयुद्द लडुन्जेल संबिधान सभाको माग गर्‍यो । त्यो पुरा भयो । देशमा गणतन्त्रपनि आयो । अब खाली त्यसलाई संस्थागत गर्न गणतान्त्रिक संबिधानको खाँचो छ । सबैभन्दा ठुलो दलपनि माओवादीनै छ । संबिधान सभामा सबै भन्दा ठुलो दलका हिसाबले संबिधान निर्माणमा सबै भन्दा ठुलो जिम्मेवारीपनि उसैको हुनुपर्ने हो । तर माओवादीपनि संबिधान निर्माणमा दत्तचित्त देखिएन । हुँदो हो त संबिधान निर्माण कार्य तालिकानै पाँचौं पटक परिवर्तन गर्नुपर्ने थियो र ?

तपाइँको प्रतिक्रिया