प्रजातन्त्र आएपनि नेपाली पत्रकारलाई उत्तिकै खतरा
झण्डै दुई वर्ष भएछ भिन्सेन्ट ब्रोसेलसित भेट नभएको । म ब्यस्त । उनी झन ब्यस्त । उनले पटक पटक बोलाए, म पुग्न सकिन । पहिले बाक्लै भेट हुन्थ्यो । थुप्रै विषयमा छलफल गरिन्थ्यो। रिपोर्ट तयार पार्दा गाह्रो साह्रो पर्दा म उपस्थित हुने गर्थें । दुई महिना अघि त ‘ददि सारै भेट्न मन लागेको छ, तिमीसित (हामी यस्तै निकटको भाषामा बोलाउँछौं एक अर्कालाई) । तिमीलाई भेट्न पाए म असाध्यै रमाउने थिएँ’ ।’ एउटा ईमेल लेखेर पठाए उनले । विश्वभरिको प्रेस स्वतन्त्रता अनुगमन गर्ने संस्था रिपोर्टर्स विद आउट बोडर्स (फ्रान्समा रपोर्तेयर् सँ फँतेयर् भन्छन्) को एशिया प्रशान्त क्षेत्रिय प्रमुख ।
त्यस्तो निकटको मित्र । झन प्रेस स्वतन्त्रताकालागि काम गर्ने । हदै भयो नी जस्तो लाग्यो । भेट्न गएँ हप्ताको शुरुमै । अचम्म लाग्यो । भेट्नासाथ ‘ओहो हो यो दुई वर्षको बिचमा त कति राम्रो फ्रान्सेली बोल्ने भएछौ तिमी’ जिल्लिँदै थिए । ‘हत्, कहाँ हुने, बुझ्ने चाहिँ भएछु क्यारे, मेरो दाबी । रिपोर्टर्स विद आउट बोडर्सको कार्यालयनै अन्यत्रै सरेको रहेछ । विश्व प्रसिद्द न्युज एजेन्सी एएफपीको कार्यालयबाट नजिकै रहेछ । भब्य ठाउँमा सरेछ । पहिलेको भन्दा चौबरनै ठुलो । पत्रकार सम्मेलनपनि ठुलै गर्नु मिल्ने । फराकिलो । छलफल गर्ने, पाहुनाहरुले मेल हेर्ने, पढ्ने, खाना खाने ठाउँ आदि सबै भएको । महादेश अनुसार क्षेत्र छुट्ट्याएर अलि फरक बनाएछन् ।
ल त गफ सफ गर्न बसौं, बसियो । मैले यसो केहि सोधौंला, बुझौंला भन्ने ठानेको त भिन्सेट आफैं पो कापी कलम लिएर बसे बा ! माओवादी मेडिया, पत्रकार, कान्तिपुर र हिमाल अनि माओवादीका बिच देखिने द्वन्दको कारण, तराईमा पत्रकारको अवस्था । अहिलेको नेपाल पत्रकार महासंघको नेत्रित्व कस्तो । माओवादी र अन्य दलको द्वन्द । माओवादीमा पनि प्रचण्ड र बैद्दको भिन्नता । अबको राजनिति कता जाला । फेरि युद्द होला कि नहोला ? आदि इत्यादी । म पो अन्तर्वार्ता दिन लागेझैं भएँ यद्दपी ति जानकारि उनको ब्यक्तिगत रिपोर्टहरु तयार पार्न हुँदो हो ।
नेपालमा दुबैले चिने जानेका केहि साथीहरुको कुरा भयो । अनि अब पालो आयो मेरो । यि दुई वर्ष बिच म किन यति बिघ्न ब्यस्त भएँ भन्ने सुनाएँ । मेरो प्रकाशोन्मुख पुस्तक बारे थाह पाउँदा खुशि भए उनी । एकदम राम्रो हुन्छ भनेर आश्वस्त पारे । अनि अब शुरु गर्न लागेको तेस्रो पुस्तकको योजना सुनाएँ । झन प्रभावित भए। यस बारेमा म अवश्यै ब्लग लेखौंला नै पुस्तक शुरु गरेपछि । वरिपरि यसो के के छ घुमाएर देखाए, केहिसित परिचय गराए । 
दुई वर्ष भेट नभएको तान्द्राङ तुन्द्रुङ गफ गर्दै दुई घण्टा बित्यो । उनीसित गफ गरिरहँदा अनेक अनेक काम लिएर, थरी थरीका जिज्ञासा सोध्दै मानिसहरु ‘एकछिन है, माफ गर्नुहोला’ भन्दै आईरहेका थिए । अति ब्यस्त हुन पो लागे त झन । अनि पछि भेट्ने कुरा हुन लाग्यो । मैले हैन कहाँ हुन्छ त्यत्तिकै छुट्टिएर ? नेपालप्लसको लागि केहि सामाग्रि त बनाउनु पर्यो नि रिपोर्टर्स विद आउट बोडर्सकै कार्यालयमा आएपछि त ‘ भनें । कम्तिमा पाँच मिनेट भएपनि पेशागत गफ गफ नगरि त म जान्न ‘ भनेपछि के गर्ने ? भटाभट केहि प्रश्न सोधें ।
नेपालमा जनयुद्दका बेला पत्रकार धेरै असुरक्षित भए । राजाको शासनाकलमा समग्र नेपाल जेलमा परिणत भयो पत्रकारकालागि । मारिने, कुटिने, छेकिने, थुनिने, धम्की र त्रास कति भए कति । जनयुद्द सकियो । राजतन्त्र बाटो लाग्यो । थुप्रै नयाँ पत्रपत्रिका आए । सामूदायिक रेडियोको बाढी चल्यो । एफएमहरु निजिस्तरका उत्तिकै घन्किन थाले । अब त नेपालमा प्रेस सुरक्षित हुने भयो, उफ् भन्दै लामो सास तानेका रहेछन् । तर अचम्म लागेछ उनीहरुलाई पछि । किनभने त्यसो भएन । बरु उल्टो पो भयो त । पत्रिकाका कार्यालयमा आगो झोसे । तराईका पत्रकार भकाभक मारिए । कोहि बेपत्ता भए । लखेटिने त कति कति । कतै त झन पत्रिकानै बन्द । लौ बर्बाद भयो झन । के भयो नेपालमा यस्तो ? जिल्ल परेछन् । “हामीले बुझ्न नसकेको कुरा” सुनाए भिन्सेन्टले ।
देशमा जनयुद्द समाप्त भएर राजतन्त्रपनि गएपछि नयाँ समस्या देखा परे । अनेक खाले समूह खडा भए । नयाँ समस्यासँगै नयाँ चुनौती थपियो प्रेसमाथिपनि भन्ने ठानेका रहेछन् उनले । ए, केहि सिमित समयकालागि शान्ति देखिएपनि, राजतन्त्र बिदा भएपनि देशका मूल समस्याले बिदा नपाएसम्म नहुने रहेछ भन्ने अनुभव भएछ ।
प्रजातन्त्रमा त प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने नी ! अब भने टाउको कन्याउँला झैं गरे । प्रजातन्त्र बह्न्ने कि नभन्ने अहिलेको प्रजातन्त्रलाई ? प्रजातन्त्रमा जनताको जिउ धनको सुरक्षा हुन्छ । असुरक्षित भएको अवस्थामा,पनिपिडकहरुले कारवाहि भोग्छ्न । जबर्जस्ति गरिँदैन । धम्की, यातना र त्रास खप्नु पर्दैन । प्रेस निकै सुरक्षित हुन्छ । जनताले न्याय पाउँछन् । तर नेपालमा के त्यस्तो छ ? अहँ, कहिँ कतै छैन ।
पत्रकार पत्रिकाकै कार्यालयबाट थुतिन्छन् । घर फर्किँदा बाटैबाट अपहरणमा पर्छन् । हाकाहाकी बोलाएर दम्पट पारिन्छ । लास पाउनपनि निकै ठुलो आन्दोलन गर्नुपर्छ । हत्याराहरु छाती फुलाउँदै राजमार्गमा बौरिन्छन् । राजनितिक पार्टीबाटै दबाब दि इन्छ । धम्काईन्छ । प्रहरी प्रशासन आफैंले खोजि खोजि कठघरामा उभ्याउनु पर्ने मा कारवाहीका लागि किटानीकासाथ निवेदन हाल्दापनि फाईल सर्दैन । न्यायालयमा मुद्दा दर्ता गर्यो हत्त पत्त सुनुवाई हुन्न । ‘अनि यस्तोपनि प्रजातन्त्र हुन्छ ? जहाँ न्यालयले न्याय छिटो दिन्न, प्रहरी प्रशासनले काम गरिदिँदैन, सुरक्षित भइँदैन त्यो के प्रजातन्त्र हुन्छ ?’ खुलाए ।
नेपालमा प्रजातन्त्र आएपनि नेपाली पत्रकारका दुखका दिन सकिएका छैनन् । हैरानीहरुले पार पाइसकेका छैनन् । अब त लौ ज्यान जोगियो भनेर ढुक्क हुन सक्ने अवस्थापनि छैन । त्रास उस्तै छन् । डर उहि हो । ठेगान र निश्चितता केहिको पनि छैन । यसरिनै लिएको रहेछ विश्वभरि प्रेस स्वतन्त्रताकालागि काम गर्ने उनको संस्थाले ।





