नमात्तियोस माओवादी, नआत्तियोस एमाले

अहिले नेकपा (माओवादी) का नेता र कार्यकर्तामा विजयको उन्मुक्ति छाएको देखिन्छ। खासगरि तिनका कार्यकर्तामा अब राज्यनै जितियो, जे खोजेको हो त्यहि पाईयो, दश वर्षको जनयुद्द जेकालागि गरिएको थियो त्यहि भेटियो जस्तै गरेर उल्लास मनाएको देखिदै छ। अन्तिम लक्ष्यमा पुगेको भान हुन्छ माओवादी कार्यकर्ताको हर्षोल्लास देख्दा। तर यो खासै नेता चुन्ने भन्दा पनि देशलाई वर्षौ वर्षसम्म अगाडि बढाउने मुल मन्त्र संबिधान सभा लेख्नका लागि हो भन्ने मुल उद्देश्यलाई गौण ठानेझैं लाग्छ। यदि माओवादीले यसैमा आफ्नो विजय देख्यो भने देशका समस्याहरु कसरि हल होलान ? जबकि देशमा चुनाव हुनु र कुनै दलको बहुमत आउनु सबै कुरा होइन। कुनै पार्टीको सरकार गठन हुनुलेनै देशका समस्या हल हुँदैनन।  

देशको समस्या हल हुनका लागि अहिले तत्कालको खाचो भनेको देश र जनताका पक्षमा संबिधान लेखिनु हो। त्यस्तो संबिधान जसले राजसंस्थालाई सजिलो सित किनारा लगाउने छ र गरिब तथा निमुखा, महिला, हेपिएका र थिचिएका जातिका अधिकारहरुलाई सुनिश्चित गर्ने छ। देशलाई यो सबै समस्याबाट पार लगाउनकालागि सहमतिको राजनीति गर्न सक्ने क्षमता, अन्य पार्टीहरुलाई सँगै लिएर जान सक्ने खुला ह्रिदय र भावना, देशलाई अगाडि बढाउन सक्ने सुझबुझपूर्ण नेत्रित्व क्षमताको खाँचो छ अहिले। बहुमत हुँदैमा सरकार सफल हुने होइन रहेछ भन्ने उदाहरण त पहिलेका सरकारले दिईसकेका छन।  

माओवादीले देशका यावत समस्याहरु हल गर्न सकेन। देशलाई सहमतिका आधारमा अगाडि बढाउन सकेन। राजसंस्थालाई बिधिसम्मत तरिकाले हटाउन सकेन। देशलाई यथास्थितिमा राखेर उही पजेरो र प्राडो काण्ड, तिनै महाकाली र टनकपुर सन्धी जस्ता राष्ट्र बिरोधी काम गरिरह्यो भने उसको पनि खैरात रहने छैन। त्यो सबै परिक्षण हुन बाँकिनै रहेकाले माओवादी अहिलेनै मात्तिनुको कुनै कारण छैन। यो बेला माओवादी जितको रन्कोले मात्तिनु देश, जनता र स्वयं उसको पार्टीका लागिपनि घाटा हो।  

रह्यो एमाले। एमालेले आशा गरे अनुसार निर्वाचनमा विजय हाँसिल गर्न नसकेकोमा कोहि एमालेको पत्तासाफको रुपमा हेर्दैछन । जुन महागल्ति हो। एमालेलेको ठाउँमा भलै माओवादीलाई जनताले चाख्न चाहेका हुन । तिनका लाहा छाप जनता बनेका भने होइनन सधैंका लागि। अहिलेपनि एमालेमा ठूलो युवापंक्ती छ। जुझारु कार्यकर्ताहरुको संजाल तोडिएको छैन। माओवादीले के गर्ला गर्ला भनेर एमाले तिर हेरिरहेको जनताको जमात कम छैन। नौ महिनामा उसले आँट भए गर्न सकिन्छ जनताका पक्षमा भनेर दिएको संकेत जनताले भुलेका छैनन। उ प्रति जनताले अझैपनि बिकल्पको आँखाले हेर्न छोडेका छैनन। बुद्दिजिव, बिभिन्न बौद्दिक क्षेत्र र संगठनको जालो एमालेको तोडिएको छैन। यदि एमाले पार्टीले आफ्ना गल्ति कमजोरीहरुलाई केलाएर जनताका अगाडि स्पष्ठ राख्यो, आफ्ना बिगतको कमजोरीको जनता समक्ष क्षमा माग्यो र तिनबाट सिकेर अगाडि बढ्यो भने नेकपा (एमाले) फेरि पनि बिगतमा झै अगाडि बढ्न सक्छ। उ आत्तिनुपर्ने कुरै कारण छैन।

तपाइँको प्रतिक्रिया