फ्रान्समा लकडाउनले बढ्यो घरेलु हिंसा

पीडितले कोड भाषामार्फत् उजुरी गर्न सकिने व्यवस्था मिलाइयो

असार १५, २०७७

ददि सापकोटा

पेरिस — कोरोना भाइरस (कोभिड–१९) फैलिएसँगै गरिएको लकडाउनका कारण फ्रान्समा घरेलु हिंसाका घटनाहरूमा वृद्धि भएको छ । मार्च १७ मा लकडाउन गरिएसँगै घरेलु हिंसाबारेका उजुरी कम्तीमा ३० प्रतिशतले बढेको प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार हिंसाजन्य घटनासँग सम्बन्धित लाखौं मुद्दा थपिएका छन् । त्यस्तै वकिलहरूले पनि घरेलु हिंसासँग सम्बन्धित मुद्दामा निकै वृद्धि भएका जनाएका छन् ।

लकडाउन पूर्णरूपमा खुला नभएकाले अवस्था झन् बिग्रँदै गएको पारिवारिक मामिलाकी जानकार एक वकिलले बताएकी छन् । लकडाउन सुरु भएदेखि इसाबेल स्टियरले आफ्नो कार्यालयमा घरेलु हिंसाको मुद्दा लिएर आउने महिलाको संख्यामा वृद्धि भएको न्युज–२४ टीभीसँग बताएकी छन् ।

स्टियरले आफूकहाँ हरेक दिन घरेलु हिंसापीडित १५ जना ग्राहक आउने गरेका बताइन् । त्यसमध्ये अधिकांश नयाँ ग्राहक रहेका उनको भनाइ छ । कानुनविद्हरूले त्यस्ता व्यक्तिहरूका लागि लकडाउन अतिरिक्त हतियार भएको बताएका छन् ।

‘लकडाउन दुरुपयोग दुई कारणले बढी भएको छ । सर्वप्रथम महिलाहरूले पूरा दिन आफ्नो पार्टनरसँगै बाध्यतापूर्वक बिताउँछन् । दोस्रो, महामारीका बेला वरिपरिको सम्पूर्ण अवस्थाको तनावले मानिस थप हिंसाउन्मुख हुन सक्छ,’ नु तुत (हामी सबै) अभियानकी क्यारोलिन डे हास भन्छिन्, ‘मनोवैज्ञानिक हिंसा शारीरिक बन्छ र शारीरिक हिंसा यौनहिंसा बन्छ ।’

सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष करिब २ लाख १० हजार महिला पति वा पत्नीद्वारा शारीरिक वा यौनहिंसाको सिकार भएको जनाएका छन् । यसै वर्षको सुरुवातमा २१ जनालाई महिला भएकै कारण हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१९ मा सयभन्दा बढी महिला केटा साथी, प्रेमी वा पूर्वप्रेमीबाट मारिएका थिए ।

घरेलु हिंसाको रिपोर्ट गर्न हिंसापीडित महिलाहरूले ३९१९ मा फोन गराउन सक्ने व्यवस्था गरिएको छ । हिंसाबारे सूचना लिन, भेट गर्न वा गराउन र सम्पर्क गराउन, पीडा सुन्नका लागि यसको व्यवस्था गरिएको हो । त्यसैगरी, घरेलु हिंसामा परेकालाई सहयोग गर्न केही फार्मेसीहरू छनोट गरिएका छन् । ‘मास्क–१९’ कोड शब्द प्रयोग गरेर महिलाले आफूमाथि हिंसात्मक व्यवहार हुँदा सावधानीपूर्वक फार्मासिस्टहरूलाई सूचित गर्न सक्छन् । त्यसपछि फार्मेसीवालाहरूले सुरक्षा अधिकारीहरूलाई खबर गर्ने व्यवस्था मिलाइएको छ ।

तर सोलिडारिट फाम्स फेडरेसन नेसनलले (राष्ट्रिय महिला एकता महासंघ) ले औषधि पसलमा काम गरिरहेका मानिसलाई त्यस्ता घटना बाहिर ल्याउन चुनौती हुने जनाएको छ । ‘उनीहरू केही दिनमा विशेषज्ञ बन्न सक्दैनन् । फार्मेसीमा काम गर्नेहरूमा पीडितप्रति समानुभूति दिन, प्रशिक्षण गर्न तथा पीडा सुन्ने सीप विकसित गर्नुपर्छ,’ महासंघले भनेको छ ।

त्यसो त, लकडाउनका उपायहरू ल्याउनुअघि फ्रान्समा पहिलेदेखि नै घरेलु हिंसाको दर उच्च थियो । सन् २०१९ मा फ्रान्समा २० हजार महिला घरेलु हिंसाको सिकार भएका थिए । सन् २०१९ घरेलु हिंसाका कारण १ सय २० महिलाको हत्या भएको थियो ।

कानुनमन्त्री बेलुबेट निकोलका अनुसार सन् २०१९ मा ४ हजार पीडितले सहयोग मागेको घटना दर्ता थिए । सन् २०१८ को तुलनामा यो २० प्रतिशतले बढी हो ।

त्यसैगरी, न्यायाधीशहरूले घरेलु हिंसा भनेर आएका घटना स्वीकार गर्ने पद्धति ६५ प्रतिशतले बढेको छ । तीमध्ये ७० प्रतिशतले गोप्य कोड प्रयोग गरेका छन् । एक हजार महिलाले गम्भीर समस्या रहेको भन्दै फोनमार्फत बताएपछि सहयोग गरिएको थियो ।

त्यसका साथै हिंसा नियन्त्रणका लागि आगामी सेप्टेम्बरदेखि महिलाको हातमा ब्रासलेट लगाइने व्यवस्था गरिने भएको छ । त्यस्तो ब्रासलेटले कुनै पनि महिलाका हिंस्रक प्रेमी, पूर्वप्रेमी वा साथी नजिकिँदा सूचना दिने जनाइएको छ ।

पेरिसमा महिलाको समर्थनमा एसोसिएन चलाउने ‘दु कोते दे फार्म’ की ब्रिजिट साबेर्टका अनुसार कपितय हिंसा सामान्य कारणले भएका छन् । ‘सुप धेरै तातो भएको वा धेरै चिसो भएकोमा रिसाएर चर्किने, आक्रमण गर्ने, चिच्याउने गरेका घटना पनि देखिएका छन्,’ ब्रजिट भन्छिन् ।

(सभार- कान्तिपुर, प्रकाशित : असार १५, २०७७ ११:४४)

तपाइँको प्रतिक्रिया