कोरोनाले डुंगा रोकिँदा करोडौं युरो घाटा
पेरिसको बाटो मुस अर्थात् फ्लाईङ बोट (डुंगा) मा छ महिनादेखि कार्यरत सुन्दर सिलवाल मार्चको शुरुदेखिनै बेरोजगार बनेका छन् । कोरोना भाइरसको संक्रमणले पर्यटकहरुको आगमन शुन्य भएपछि फ्लाईङ बोटमा चल्ने रेस्टुरेन्टहरु बन्द भएपछि उनीसँगै काम गर्ने लगभग चार सय कर्मचारी बेरोजगार बनेका हुन् ।
पेरिसको बाटो मुसले प्रतिमहिना ६७ हजार पर्यटकलाई आकर्षण गर्थ्यो । पर्यटकिय उच्चयाममा दिनमा प्रत्येक कम्पनीका ३० वटा डुंगाले परिक्रमण गर्थे । त्यो भनेको प्रथ्वीलाई पाँच पटक फन्को मारे जस्तै हो । कुनै कुनै डुंगामा छ सय जना कामदार सम्म थिए । अधिकांश पर्यटकिय डुंगाको मुख्य आम्दानी रेस्टुरेन्ट ब्यवशाय हो । डुंगामा सयर गराउँदै खानाका परिकारहरु चखाएर महँगो दाम लिनु तिनको आम्दानीको प्रमुख स्रोत थियो । ति हरेक डुंगामा एक छाक खानाको प्रति ब्यक्ति मूल्य कम्तिमा ७९ युरोबाट शुरु हुन्छ ।
‘हाम्रो डुंगाको रेस्टुरेन्टमा साँझको खाना एक सय एक युरो प्रतिब्यक्ति पर्छ । दुई सय ४१ जना क्षमताको हाम्रो रेस्टुरेन्ट सधैं ओभरबुकिङ हुन्थ्यो’ सिलवालले कान्तिपुरलाई टेलिफोनमा भने । पर्यटन ब्यवशाय धराशायी हुँदा प्रत्येक दिन डुंगाबाट हुने आम्दानीमा एक लाख युरोका दरले घाटा परिरहेको छ । त्यसबाहेक पार्किङ गरेर राख्दा मर्मत संभावरको खर्चपनि डुंगाले ब्यहोर्नु परिरहेको छ ।
बाटो मुसको पेरिसको चौथो पर्यटकिय आकर्षणको माध्यम हो । पेरिसको बाटो मुस डुंगा यात्रा लभर अफ त पोँ नफ, बाटो मुस जस्ता विश्व प्रसिद्द फिल्म बनाउनेकालागि समेत प्रसिद्द छ । सिनेमा बनाउने कंपनी र कलाकारतिर तिनले चर्को मूल्य लिन्छन् । बाटो मुस भन्ने एउटै डुंगा कपनीको वार्षिक आय २ करोड ९० लाख युरोसम्म हुन्थ्यो र ६ सय जनासम्म कर्मचारीले काम गर्थे ।
‘हाम्रो कम्पनीमा हामी चार सय जना जति कर्मचारि हलमै काम गर्थ्यौं । डुंगामा बसेर नदी हेर्दै खाना खान पर्यटकहरु भुतुक्कै हुन्थे। डुंगाको हाम्रो रेस्टुरेन्टमा कसैकोपनि सास फेर्ने फूर्सद हुन्थेन । हामीले दुई सय ४१ जनासम्मलाई डिनर खुवाउँथ्यौं । अहिले सबै कर्मचारि कामबिहिन भएका छौं’ सिलवाल भन्छन् ‘कम्पनीले सरकारले भने अनुसार तलबको ७० प्रतिशत त बसिबसि दिएको छ अहिलेसम्म । तर रेस्टुरेन्ट खुल्ने पत्तो छैन । लामो समयसम्म टुरिस्ट आएनन् भने त कसरि देला भन्ने चिन्ता लाग्न थालेको छ ।’ उनका अनुसार रेस्टुरेन्ट चलाउने एउटा ठूलो डुंगाको मूल्य सात करोड ५० लाख युरोसम्म पर्छ ।
त्यसो त पेरिसका सुपरमार्केटलाई सामान ओसार्ने डुंगाहरुपनि प्रशस्तै थिए । कोरोना भाईरसले गर्दा ति डुंहाहरु बन्द हुँदा सुपरमार्केटहरुलाईपनि मार परेको छ । सयौं कर्मचारीले रोजगारी गुमाएका छन् ।
पेरिस महानगरपालिकाले आगामी सन् २०३० सम्म हरियाली पेरिस योजना अगाडि सारेको छ । यसको एक योजना मध्ये पेरिसमा निजि यातायात र मालवाहक गाडीहरुको संख्या घटाउने हो । सन् २०३० लाई मध्येनजर गरेर पेरिसको सुपरामार्केट फँफ्रीले सेन नदी किनारमा एक सय ३० वटा स्टोरहरु बनाएको थियो । ति स्टोरहरुमा यस्तै डुंगाले सुपरमार्केटका सामान ओसार्ने गर्थे ।
फ्रान्सेली किराना विक्रेता फँफ्रीको अग्रणी वितरण योजना सेन मार्फत यसको तिन सय ५० स्टोरहरूमध्ये एक सय ३५ वटामा आपूर्ति गर्दछ । प्रत्येक वर्ष शहरको सडकबाट दुई हजार छ सय लरीहरूले सामान ल्याउँछन् । फ्रान्सप्रिक्सले सेन नदीबाट धेरै जसो पेरिसका स्टोरहरू भण्डारण गर्ने सम्भावनालाई अँगालेको छ ।
पेरिसका मेयर एनी हिडाल्गोले खुलेआम कार संस्कृतिलाई बिस्थापित गर्ने आफ्नो एजेन्डालाई शीर्षमा स्थानमा राखेकि छन् । उनले शहरी यातायातको भविष्य “फ्रँफ्री इन सेन” जस्ता नवीन योजनाहरू अगाडि सारेकि छन् । तर कोरोना भाईरसले ल्याएको संकेटले गर्दा दिर्घकालिन ति योजनाहरुपनि पछि धकेलिने वा अवरुद्द हुने संभावना छ ।
त्यसो त सडकबाट भन्दा नदीबाट सामान ढुवानी गर्नु महँगो छ । तर उनीहरुले भविष्यमा हुन सक्ने डेलिभरि समस्यालाई हेरेर अहिलेनै सेनबाट ओसारपसारको बिकल्प खोजेका हुन् । पेरिसमा २०२२ देखि डिजेल गाडीमा प्रतिबन्ध लगाउने घोषणा भैसकेको छ । लरीहरूमार्फत ओसार्दा यातायातमा धेरै अवरोध हुन्छ । गाडीहरु जाममा परेर बेलैमा सामान पुर्याउन नसक्दा ग्राहकहरुले सामान पाउँदैनन् र सुपरमार्केटको बिक्रि घट्छ । सडक यातायातको संख्या भविष्यमा अझै बढ्ने देखेर यो योजना ल्याएका हुन् ।
सेन नदीको पहिचान पर्यटन केन्द्रित शान्त शहरका रुपमा छ । सेन नदीले वर्षेनी लाखौं पर्यटकलाई आकर्षण गर्छ । सेनको अर्थव्यवस्थाको पर्यटन पक्ष साँच्चिकै बलियो छ । प्रत्येक वर्ष आठ करोड यात्रुहरू सेन नदीका डुंगानै चढ्छन् । पेरिस विश्वको सबैभन्दा व्यस्त इनल्याण्ड बन्दरगाह हो । प्रत्येक बर्ष २० लाख टन सामान यहि सेन नदीबाट पेरिस पुर्याइन्छ । यो व्यापारको लागि नदी यातायात यूरोपमा दोस्रो ठूलो हो ।
नदीबाट सामान ढुवानी गर्दा सडक जाम घटाउन उल्लेख्य सहयोग पुग्छ । फँप्रिक्सले सेनबाट सामान ओसार्दा तिन लाख सडक यातायातको यात्रा घटाउँछ । यो भनेको पेरिसको रिङरोडको नौ हजार गुणाको लम्बाई हो । यसरि सेनबाट यातायात गर्दा २ हजार ६ सय लरीहरु सडकमा गुड्नबाट जोगाउन सकिन्छ ।
सन् १९९६ मै पेरिसलाई न्युयोर्क र सांघाई जस्ता पोर्ट सिटीका रुपमा विकास गर्न ब्रिहद पेरिसको अवधारणा पारित गरिएको थियो । त्यस योजना अनुसार कामपनि भैरहेको छ । यसमा सेन नदीलाई यातायातका रुपमा बढि प्रयोग गर्ने उल्लेख छ । कोरोना भाइरसको संकटले यस योजनालाईपनि नकारात्मक प्रभाव पार्ने छ ।