हिमाल चढ्दै स्विस गाइ

– ददि सापकोटा

कोरोना भाईरस संक्रमणले स्विजरल्याण्ड भ्रमण गर्नेहरुकालागि बन्द गरिएको छ । तर स्विजरल्याण्डका गाइहरुलाई भने यो नियमले छोएको छैन । ग्रिष्म ऋतु लागेसँगै स्विजरल्याण्डका गाईहरु हिमाल चढ्दै छन् ।

ग्रीष्मऋतुमा आफ्ना हिमाली चरनहरुतिरको यात्रा गर्नु स्विजरल्याण्डका गाईहरुको परम्परागत चलन हो । पहाडी चरनहरूमा गाईहरूलाई पुर्‍र्याउन यस वर्षपनि उत्तरपूर्वी स्विजरल्याण्डको अप्पेन्जलमा गाईहरुको लस्कर लगाइएको छ । हिमाली क्षेत्रको प्रसिद्द आरोहणमा मानिसहरु लाम लागे झैं स्विजरल्याण्डका गाईहरुकोपनि हिमाली क्षेत्रको यात्रा गर्न जुलुस लागेको छ । तर यस वर्ष कोरोना भाईरसको संक्रमणका कारण पर्यटक र दर्शकहरू आकर्षित नहोउन् भनेर प्रचारप्रसार गरिएको छैन ।

हिमाली हावा, खनिज र पौष्टिक तत्वले भरिएका अनेक प्रकारका घाँस खाएका, चिसो पानी पिएका गाईहरुको दुध बढि पौष्ठिक हुन्छ । चर्को घाममा हिमाली क्षेत्रको सितल हावा लिएका, हिमालको चिसो पानी पिएका गाई  बढि स्वस्थ र पुष्ट हुन्छन् । यस्ता गाईको दुध बढि पौष्टिक हुनाले त्यसबाट बनेको चिज, न्वाउनी, क्रिमपनि महँगो र स्वस्थकर हुन्छ । हिमालमा चरेका गाईको दुधबाट बनेका परिकार बढि पौष्टिक हुनालेनै स्विजरल्याण्डमा वर्षौं वर्षदेखि गाईहरुलाई हिमाली क्षेत्रका चरनमा लैजाने गरिएको हो ।

मेको सुरुदेखि जुन महिनाको मध्यसम्म स्विस किसानहरू आफ्नो उपत्यकाको दुग्ध फार्मबाट सयौं हजारौं गाईहरूलाई हिमाली क्षेत्रका घाँसका मैदानहरूमा उकालो चढाएर लैजान्छन् । यि गाईहरु दुई सय मिटरबाट बिस्तारै बिस्तारै उकालो चढ्दै दुई हजार मिटरसम्म पुग्छन् । अर्थात् विश्व प्रसिद्द आइफल धरहराभन्दा छ गुणा अग्लो हिमाली क्षेत्रमा पुग्नुपर्छ । फेरि शरद ऋतुको शुरुमा तिनीहरूलाई ओरालो झार्दै फिर्ता ल्याउँछन् ।

मानिसहरुलाई जस्तै गाईहरुलाईपनि हिमाल चढ्न भन्दा ओर्लिन कठिन हुन्छ । त्यसैले हिमाल चढाउने बेला भन्दा ओराल्ने बेला स्विसहरुले गाई मेलाको रुपमा भब्य रुपले मनाउने गर्छन् । तिनका कान, सिङ र टाउकामा फूलै फूलका माला र गुच्छाहरु पहिराइदिन्छन् । तिनको शरिर अनेक रङ र झल्लरले सिँगारिदिन्छन् । गाईले पुष्पको मुकुट लगाएका हुन्छन् । डोरी बाँधेका किसानहरुहरु परम्परागत पोशाक लगाएर गाई धपाईरहेका हुन्छन् । गाईको घाँटीमा बाँधिएको बडेमानको परम्परागत घण्ट टुर्लुङ टुर्लुङ बज्दा गाउँमा रोमान्चकता थपिन्छ ।

यस वर्ष वर्तमान नियमहरु र कोरोना भाइरस नियन्त्रणका लागि फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) का सिफारिसहरूको पालना गर्नुपर्ने भएकाले उनीहरुले आल्प्स हिमालमा गाईहरुको पदयात्रालाई ‘कोरोना कम्प्लिमेन्ट’ को नाममा मनाएका छन् ।

आल्पसबाट तल झर्दै गर्दापनि यस वर्ष पर्यटक र अघिल्ला वर्षहरुमा झैं हजारौं पर्यटक र दर्शकहरूको भिड लाग्ने छैन । किनभने पर्यटक संस्था वा अल्पाइन कृषकहरूलाई यस वर्ष अल्पाइन ड्राइभको मिति सार्वजनिक गर्ने अनुमतिनै छैन ।

क्यान्टनहरूलाई पाँच भन्दा बढि व्यक्तिको समूहलाई सडकमा मात्र नभई फार्म वा हिमाली चरनहरुमा भेट्न निषेध गरिएको छ । आल्प्स ड्राइभको क्रममा कोरोनाभाइरस संक्रमित नहोस भनेर अल्पाइन कृषकहरू र उनीहरूका सहयोगीहरूले पनि एफओपीएचको नियम र सिफारिसहरूको पालना गर्नुपर्नेछ ।

यो विशेष अवस्थाको सामना कसरी गर्ने भन्नेबारे गाईडका रूपमा अपेंजलका कृषि कार्यालयहरूले एक पुस्तिका तयार पारेर पालना गर्नुपर्ने नियमबारे क्रिषकहरुलाई पठाएका थिए । यस पुस्तिकामा सबैभन्दा माथि सामाजिक दूरी कायम राख्ने नियम, खाध्य र सफाईका नियम लगायत कोहि बिरामी परे के गर्ने भन्ने निर्देशनहरु दिईएको छ ।

(समाचार स्रोत -कान्तिपुर दैनिक)

तपाइँको प्रतिक्रिया