एकैदिन दर्जनौं ब्यक्तिलाइ एकता समाज फ्रान्सले दियो राहत

फ्रान्सको राजधानी पेरिसस्थित नेपाली एकता समाजले कोरोना भाईरसको कारणले लकडाउनमा परेर दुख पाएका दर्जनौं नेपालीहरुलाई राहत दिएको छ । शनिवार राहत बितरण गर्दा केहि नेपालीहरु भावुक हुँदै राहत लिएका थिए ।

दैनिक अत्यावश्यक सामान र खाध्यान्नको समस्यामा परेका नेपालीहरुलाइ एकता समाजले आफ्नो नाम लेखाउन सार्वजनिक आव्हान गरेको थियो । ९५ जना नेपालीले नाम लेखाएका थिए । प्राप्त नामहरुको सूची हेर्दै समाजका अभियन्ताहरुले राहत माग्नेहरुको क्षेत्र र ठेगाना अनुसार आआफ्ना गाडीमा राखेर ति ब्यक्तिहरुको घरघरै लगिदिएका हुन् ।

राहत माग्नेहरु मध्ये कतिपयको अवस्था जटिल भैसकेकोले आफू बसेकै ठाउँमा राहत लगेर दिँदा लिनेहरु भावुक बनेको बताउँदै नेपाली एकता समाजका अध्यक्ष प्रमोद पाण्डेले भने ‘कसैकसैको त अप्ठेरो स्थिति भैसकेको रहेछ । हामीले घरैमा लगेर खाध्यान्न दिँदा तपाइहरु घरैमा आएर दिनु भो, दुखमा सेवा गर्ने मान्छेपनि रहेछन् भन्दै आँखा रसिलो पारेका थिए ।”

एकता समाजले समस्यामा परेका नेपालीहरुलाई राहत दिने घोषणा गरेलगत्तै थुप्रै दाताहरुले समाजलाई स्वतस्फूर्तरुपमा आर्थिक सहयोग गरेका थिए ।

लगभग दुई दर्जन अन्य नेपालीले फेरिपनि राहत सहयोगका लागि नाम लेखाएकाले अब केहि दिनमा फेरि तिनलाई घरघरै लगेर राहत बितरण गरिने योजना रहेको जानकारिपनि पाण्डेले दिए । स्मरण रहोस्, नेपाली एकता समाजले अप्ठेरो परेका र अन्य समस्या झेलेका यहाँका नेपालीहरुलाई लामो समयदेखि बिभिन्न सहयोग गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया