फ्रान्सका ६ सय सैनिकमा कोरोना संक्रमण

फ्रान्स — करिब ६ सय जना फ्रान्सेली सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ । फ्रान्सकी रक्षामन्त्री फ्लोरन्स पार्लीले शनिबार इब्रा रिजनल डेली अखबारलाई अन्तर्वार्ता दिँदै त्यसको पुष्टि गरेकी हुन् ।

मन्त्री पार्लीका अनुसार मार्च महिनाको अन्तिमसम्ममै करिब ४ सय सैनिकमा कोरोना भाइरस देखिएको थियो। त्यसयता लगभग २ सय जनामा थप संक्रमण भएको हो। ‘हाम्रा ६ सय सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ। तर फ्रान्सेली सेनाको आफ्नो लक्ष्य पूर्ति गर्ने क्षमतालाई यसले कमजोर बनाउने छैन,’ उनले भनिन्।

फ्रान्सेली सेनाको सुरक्षा पूर्वाधार सेवामा संलग्न एक सैनिकको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको पनि उनले जनाएकी छन्। फ्रान्सेली सेनामा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। त्यस अनुरुप फ्रान्सेली सेनाले निकटतापूर्वक अनुगमन गर्ने र त्यस अनुरुप चल्न अनुकूलित गरिरहेको छ।

फ्रान्स, लक्जमवर्ग, जर्मनी लगायतका मुलुकमा फ्रान्सेली सेनाले कोरोना भाइरस संक्रमित बिरामीको उद्दार, स्थानान्तरण र उपचारमा महत्त्वपूर्ण भूमिका खेलेको पनि रक्षामन्त्री पार्लीले उल्लेख गरेकी छन्। सेनामा कोरोना भाइरस संक्रमित भएपनि राष्ट्रलाई संकट परेको यो घडीमा बिरामीहरूको उपचार, सुरक्षा, स्थानान्तरण र आपतकालीन सेवामा कुनै कमी आउन नदिने उनले जनाएकी छन्।

(साभार – कान्तिपुर अनलाईन, प्रकाशित : चैत्र २३, २०७६ ०७:०८)

तपाइँको प्रतिक्रिया