कोरोनाले बनायो २० हजार स्वास्थ्यकर्मीलाई बेरोजगार

ददी सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमण फैलिन अझै रोकिएको छैन । अस्पतालका बेडहरु संक्रमिक भएकाहरुबाट भरिएका छन् ।

यस्तो बेला स्वास्थ्यकर्मीको माग झनै बढ्नु पर्ने हो । तर स्विजरल्याण्डमा भने विश्वव्यापी बनेको कोरोना भाइरसका कारण हजारौं स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् । त्यहाँ २० हजार स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् । तिनले बेरोजगार भत्ताका लागि प्रशासनमा नाम दर्ता गराएका छन् ।

कोरोना भाइरसबाट संक्रमित, दुर्घटनामा परेका, गम्भीर रोगी र आपतकालीन् अवस्थामा बाहेक अन्य रोगीको उपचार र शल्यक्रिया रोकिएपछि त्यहाँका स्वास्थ्यकर्मी बेरोजगार बनेका हुन् ।

जर्मन भाषाको ‘ताज अन्जाईगर’पत्रिकाले सरकारको ध्यान कोरोना संक्रमणमा केन्द्रित भएको र आपतकालिन अवस्थामा बाहेक अन्य रोगीको उपचारलाई हाल थाती राखेकाले धेरै चिकित्सक र अन्य स्वास्थकर्मीहरु फुर्सदिला बनेको जनाएको छ । यो कारणले त्यहाँका अस्पतालहरुले स्वास्थ्यकर्मीको संख्या कटौती गरेका छन् । कटौतीमा परेका स्वास्थकर्मीहरुले आ–आफ्नो गाउँ र प्रान्तका स्वास्थ्यचौकी र अस्पतालमा निःशुल्क सेवा दिइरहेका छन् ।

स्विजरल्याण्डस्थित स्विस मेडिकल नेटवर्कका निर्देशक रेमण्ड लोरेटनका अनुसार निजीस्तरका अस्पतालले हाल आपातकालीन् बाहेक अन्य सुविधा रोकेका छन् । मुलुककै ठूलो निजी अस्पतालमध्येमा पर्ने उनको अस्पतालका मात्रै तीन हजार स्वास्थ्यकर्मीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् ।

स्विजरल्याण्डको सबैभन्दा ठूलो निजीस्तरको अस्पताल हिर्सल्याण्डन ग्रुपका १० हजार स्वास्थ्यकर्मी र दुई हजार तीन सय चिकित्सकमध्ये धेरैले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् ।

(साभार – कान्तिपुर अनलाईन, प्रकाशित : चैत्र २२, २०७६ १८:३९)

तपाइँको प्रतिक्रिया