युरोपमा लकडाउन: ढुक्क तर सतर्क नेपाली

ददि सापकोटा

फ्रान्स — चीनबाट सुरु भएको कोरोना संक्रमण यतिखेर युरोपकेन्द्रित बनेको छ । युरोपका फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, स्पेन, इटाली र पोर्चुगलसहितका मुलुकमा बसेका प्रतिनिधि नेपालीसँग कोरोना संक्रमणका उब्जिएको सन्त्रास र यथास्थितिका बारे फ्रान्सको पेरिसस्थित कान्तिपुर प्रतिनिधि ददी सापकोटाले गरेको कुराकानी आधारित समाचार सामग्री-

 विस्तारै बढ्दै छ, असर देखिन अझै बाँकी छ

अमर भण्डारी, पेरिस

मेरो मूल घर चितवन हो। पेरिसमा म ट्याक्सी ब्यवसाय गर्छु। म एनआरएनए फ्रान्सको वरिष्ठ उपाध्यक्ष पनि हुँ। कोरोना भाइरसको संक्रमणका घटना सुरू हुँदा केही समय ट्याक्सी चलाएँ। तर पछि त पेसेन्जर कस्ता कस्ता पर्दा हुन्, रोग पो सार्छन् कि भन्ने डर लागेर छाडेँ। अहिले ट्याक्सी थन्क्याएर गरेर घरमै बसेको छु। बाहिर उति निस्किन्न। उबर ट्याक्सीको ब्यवसाय गर्नेलाई अहिले फ्रान्स सरकारले गज्जबको नियम बनाइदिएको छ। ट्याक्सी चलाएपनि कुनै ग्राहकलाई लिन जाँदा यदि आफूलाई त्यो ग्राहकको स्वास्थ्यप्रति शंका लाग्यो भने ‘म तपाईलाइ लान्न’ भनेर अस्वीकार गर्न पाइन्छ। यो सुविधा यही कोरोना भाइरसको संक्रमणकाल अवधिका लागि मात्रै ब्यवस्था गरेको हो। पहिले यसरी अस्वीकार गर्न पाइन्नथ्यो।

उबर र ट्याक्सी चलाउनेहरुले अगाडि सिटमा यात्रु राख्न पाउँदैनन्। कन्ट्रोल परेको बेला ग्राहकले ट्याक्सी बुक गरेको प्रमाण देखाउन सक्नुपर्छ। जसले यो बेला ट्याक्सी नै चलाएको छैन, उसलाई सरकारले मासिक एक हजार पाँच सय युरो दिने भनेको छ। जसले अरुको ट्याक्सी भाडामा लिएका छन्, र थन्क्याएर बसेका छन् तिनले भाडा तिर्न नपर्ने सुविधा दिएको छ।

लगभग एक महिनादेखि म घरमै छु। एनआरएनए फ्रान्सको उपाध्यक्ष र राहत वितरण समितिको संयोजक पनि भएका नाताले राहत वितरणमा पनि लागेको छु। फ्रान्समा राहतको समस्या भएका २६ जना नेपालीलाई चामल, दाल, नुन, चिनी र तेल वितरण गरियो। अझै २० जनाले नाम लेखाएका छन्। तिनलाई पनि वितरण गर्नु छ। त्यसबाहेक म प्राय घरमै बस्छु। नेपालका समाचार हेर्छु। किताब पढ्छु। परिवारसित बस्न समय मिलेको छ। हामी एउटै घरमा दुई नेपाली परिवार बस्छौं। अर्को परिवारसित मिलेर म गाडीको पार्किङमा गएर फ्रान्सेली खेल पेताङ्क खेल्छु। कहिले जुटपत्ती खेलिन्छ त कहिले पोकर खेलिन्छ।

नेपालीहरु हामी आलोपालो गरेर खाना अदलीबदली गर्दै पकाउँछौं। कहिले भेला भएर कफी खान्छौं, गफ गर्छौं। नेपालका आफ्ना इष्टमित्रसित गफ गरिन्छ। हिजोआज कस्तो छलफल भइरहेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका नेपालीको चासो किन राख्नुभयो होला? युरोप, अमेरिकामा त राष्ट्रपति, मन्त्रि, नेताका आफन्त, परिवार छन्। त्यसैले आफ्ना मान्छेको चासो राख्नुभयो होला। नेपालमा त्यो महाकाली नदीको किनारमा भारतबाट ज्यालादारी गरेर आउनेमा त आफ्ना मान्छे थिएनन्। त्यसैले तिनका बारेमा चासो राख्नुभएन की। वुहानमा पनि नेपाल सरकारका उच्चपदस्थका छोराछोरी भएर पो प्लेन पठाएर नेपाल ल्याएको हो की। गरिबका छोराछोरी भए ल्याउँथे की ल्याउँदैनथे होलान्?

फ्रान्समा जसले वैधानिकतापूर्वक दर्ता गरेर काम गरेको छ, उसले काम नहुँदाका अवस्थामा सरकारी भत्ता पाउँछ। खान बस्नैका लागि त समस्या नहोला। नियम थाहा नपाएर दुःख पाउने नेपाली पनि यहाँ नभएका होइनन्। विद्यार्थीहरुले आठै घण्टा वैधानिक तरिकाले काम गर्न नपाउने हुनाले कम घण्टा काम गरेको देखाएर बढी गरे होलान्। तिनले जति दर्ता गरेको हो, त्यही हिसाबले थोरै पाउँछन्। अवैधानिक तरिकाले काम गर्नेले त केही पनि पाउँदैनन्। अवैधानिक तरिकाले काम गर्ने, आफूलाई एक-डेढ सय मासिक खर्च राखेर बाँकी सबै नेपाल पठाउने गरेकालाई यो संकटका बेला गाह्रो पर्न सक्छ। यो कोरोनाको समस्या कति समयसम्म रहन्छ, त्यसले पनि कस्तो समस्या पर्ला भन्ने थाहा हुने हो। अहिले नै त ठूलो समस्या परिसकेको छैन।

अरूभन्दा हामी नेपाली नै सतर्क

दीपक देवकोटा / ह्यामवर्ग,जर्मनी

नेपालमा मेरो घर गोरखा हो। म दाइसित ह्यामवर्ग सहरमा बस्छु। जर्मनीभरिमा २५ हजार र हेम्बर्गमा दुई हजार नेपाली भएको अनुमान छ। जर्मनी आएको साढे तीन वर्ष भयो। सुपरमार्केटमा फूलटाइम काम छ। कोरोना भाइरस फैलिएपछि कामको अवधि घटाइएको छ, त्यसैले अहिले ५० प्रतिशत मात्रै गर्छु। त्यति काम गर्दा पहिले पाउने पूरा तलबको ८० प्रतिशतमात्रै भत्ता आउँछ। मैले जापानीज खाना सुशीको काम गर्छु। ग्राहक घटेकाले यहाँको सुपरमार्केटमा कामदारलाई आधा काम लगाइएको छ।

काममा एकदम तनाव हुन्छ। अनेक खालका ग्राहक आउँछन्। पैसा तिर्न भन्दै नजिकै आउँछन्। कोही नजिकै आएर ‘यो यो सामान दे’ भन्छन्। प्याकेट झिकेर दिनुपर्‍यो। न उनीहरुले मास्क लगाउँछन्, खाना समात्ने भएकोले न आफूले लगाइन्छ।

सुपरमार्केटमा ग्राहक घटेपनि आइरहन्छन्। फाट्टफुट्टले मात्रै मास्क लगाउँछन्। मास्क खोज्दा पनि सजिलै पाइन्न। एक जना बहिनी अस्पतालमा काम गर्ने भएकोले उनले हुलाकबाट पठाइदिएर मैले बल्ल बल्ल एउटा मास्क पाएको छु। मैले काम गर्ने सुपरमार्केटमा सहकर्मी कसैले पनि मास्क लागाउँदैनन्। मेडिकल गयो मास्क छैन भन्छ। यता पनि हस्पिटलबाटै मास्क चोरियो भन्छन्। सेनिटाइजर केही छैन। सतर्कता गर्नुपर्छ भनेर केही बताएको छैन। मान्छे आको आइ गर्छन्। कता छोइने हो र कोरोना सारिदिने हुन् भन्ने त्रास छ। रेलमा दुई जना मात्रै सँगै बस्न पाइन्छ भनिन्छ। रेलमा गयो खचाखच हुन्छ। तर्केर बस्यो, अर्को आएर छेउमै बसिदिन्छ। मतलबै छैन। सामाजिक सञ्जाल र समाचारमा हेर्‍यो जर्मनीमा कडा छ, सुरक्षा प्रबन्ध छ भन्छन्। तर म यहाँ त्यस्तो केही देख्दिन। रेलको ढोकामा बसेर म्युजिक बजाएर मान्छे नाचेको देखिन्छ।

अहिले म हप्तामा चार दिन खाली भएँ। अलि अलि लेख्न मन लाग्छ। ल्याएका किताब छन्, तिनै पढ्ने गर्छु। जंगल डुल्छु। घर वरिपरि हिँड्यो। कोठामा बस्दा बस्दा अत्यास लाग्छ। अहिले चारतिर फोन नचाउँदैमा दिन बित्छ। सम्पर्क गज्जब छ। कहिल्यै नसम्झिनेको पनि फोन आउँछ।

जर्मनीमा भर्खर सुरु भएको हो यो कोरोनाको प्रभाव। त्यसैले यसले कस्तो रुप लेला, कति र कसलाई क्षति गर्ला अझै हेर्नै बाँकी छ। अहिले नै पार्ट-टाइम काम गर्नेहरुको रोजगारी गएको छ। विद्यार्थीहरुलाई गाह्रो पर्न सक्छ यो समस्या लामो समयसम्म लम्बियो भने। धेरै विद्यार्थी काम गर्दै पढ्छन्। अहिलेलाई त बस्नलाई खासै समस्या देखिएको छैन। तर लामो समयसम्म गयो भने काम नपाएर खासगरि विद्यार्थीहरुलाई गाह्रो पर्नसक्छ।

अहिले पनि खाना डेलिभरी राम्रो चल्छ जर्मनीमा। रेस्टुरेन्टको खाना यस्तो बेला पनि मगाएर खाने रहेछन्। डेलिभरी गर्न छुट छ। केही समय खाना डेलिभरी गर्न बन्द गरेका नेपालीले पनि थालेका छन्। अझै त जर्मनहरुलाई डर नै भए जस्तो देखिँदैन। हामी नेपाली बढी सतर्क छौं जस्तो लाग्यो।

नेपालीलाई कोरोना भाइरस लागेको, आइसोलेसनमा बसेको भन्ने हल्ला चल्छ। तर गोप्य राख्छन्। कोही निको भए अरे भन्ने सुनिन्छ। तर केहि पर्‍यो भने यहाँको एनआरएनए र दूतावासले पनि सहयोग गर्छ भनेका छन्। सुरुवातकालमै भएर होला जर्मनीमा अरु देशमा जस्तो कडा गरिसकेको पनि छैन। त्यसैले नेपालीले दुःख पाए भन्ने सुनिएको पनि छैन।

एकअर्कालाई सहयोग गर्ने बेला

सरला सापकोटा / बार्सिलोना, स्पेन

म नर्स हो। बार्सिलोनामा काम गर्छु। यता बसेको १४ वर्ष भयो। विहान काममै जान्छु। विरामीको उपचार गर्छु। अरु सामाजिक गतिविधिमा पनि सरिक हुन्छु।

पहिले पार्कतिर गइन्थ्यो। अहिले कोरोना भाइरसको आतंक पछि गइन्न। बच्चाहरुलाई बाहिर निकालेकै छैनौं। सपिङ जाँदा घरमा कोही नभए बच्चालाई पनि सँगै लान मिल्छ। हामीले नेपाली पाठशाला चलाउँछौं। नेपाली बच्चालाई नेपाली भाषा, संस्कृति, साहित्य, कला सिकाउन खोलिएको हो नेपाली पाठशाला। अहिले त्यो पनि बन्द छ।

बार्सिलोनाकै एउटा संस्थामा म विहान काममा जान्छु। काम गर्ने ठाउँमा जाँदा मलाई डर लाग्दैन। किनभने मेरो पेसा नै उपचार गर्ने हो। घरमा उपचार गर्न जान्छु। यो मनोविज्ञानसित सम्बन्धित कुरा पनि हो। कमजोर भो भने रोग प्रतिरक्षात्मक क्षमता ह्रास हुन्छ। त्यो ह्रास भयो भने रोगले आक्रमण गर्छ।

म हत्तपत्त डराउँदिन पनि। यो कोरोना भाइरस आउनु अघि पनि मान्छे मर्थे। दुर्घटना भएर पनि मर्छन्। तर पछिल्लो समयमा कति मान्छे मर्थे हेर्नुपर्छ। कोरोना भाइरसले मात्रै त मरेका होइनन् होला। अर्को कुरा के पनि छ भने हामीले जति सतर्कता अपनाए पनि सधैं हिँड्नेलाई पनि नहुन सक्छ। एक दिन फुत्त सुपरमार्केटतिर निस्किनेलाई पनि हुन सक्छ।

स्पेनमा खाना सुरक्षित छ। फार्मेसी पनि छन्। यातायात छ। ठूलै समस्या परेमा पुलिसलाई खबर गरेरै पनि हिँड्न सकिन्छ। खाद्यान्नका पसलहरु खुलेकै छन्। खाना घरैमा बसेर पकाएर खान सकिन्छ। खाना स्वस्थ नै हुन्छ, जाँचेर आएको हुन्छ। त्यसैले हामी यहाँ निकै सुरक्षित छौं भन्ने मलाइ लाग्छ। हामीले यहाँबाट हाम्रो होइन नेपालको चिन्ता लिनुपर्छ जस्तो लाग्छ। नेपालमा सबै आइसोलेसनमा बस्न नसक्लान्। यता त अस्पतालबाट निकालेर पनि नेपालीलाई होटेलमा लगेर राखिदिएको छ। हामी यस्तो सुविधामा छौं। त्यसैले यताका नेपालीको चिन्ता लिनुपर्दैन।

यसलाई विश्वले कसरी नियन्त्रण गर्छ भन्ने पनि हेर्न बाँकी छ। सबै जना जिम्मेवार र गम्भीर हुनुपर्‍यो। नागरिक र सरकार पनि जिम्मेवार हुनुपर्‍यो।

यो बेला नेपालतिरका न्युज हेर्छु। उठाएका पैसा सहयोग जो पठाउँछन्। भ्रष्टाचार भएको आरोप लागेको हुन्छ। एउटै कुरा फरक फरक तरिकाले लेख्छन्। एक अर्कालाई आरोप लगाउँछन्। को ठीक को बेठीक थाहा पाउनै गाह्रो। यो बेला सबैले एक अर्कालाई सहयोग गर्ने हो। सहयोग सही किसिमले प्रयोग भए हुन्थ्यो भन्ने लाग्छ।

यो बेला अलिकति समय चाहिँ पाएको छु। बच्चाहरुसित बस्न पाइएको छ। किनकि म काममा गएपनि फर्किँदा बच्चा घरैमा हुन्छन्। परिवार घरैमा हुन्छन्।

मैले चाहिँ भाइरल रुघाखोकी लाग्दा औषधि खान्न। आराम गर्ने, तातोपानी पिउने, तातोमा बस्ने गरे निको हुन्छ। मेरो श्रीमान कलाकार हुनुहुन्छ। उहाँले बालबच्चालाई नाच्न-गाउन सिकाउनुहुन्छ। म पनि बच्चासित बस्छु। गृहकार्य गर्न लगाउँछु, पढाउँछु।

एनआरएनए स्पेनले पनि आपतविपतमा सहयोग गर्ने भनेर समिति बनाएको छ। प्याकेज बनाएका छन्। सहयोग लिन आउने नेपालीहरु पनि छन्। तिनले सहयोग पाएका पनि छन्। यो बेला कसैले गरेन भनेर आरोप लगाउनुभन्दा पनि सबैले गर्नुपर्ने बेला हो। संघसंस्थाले सकेको गर्ने हो। काम गरेर बाँकी रहेको समयमा सामाजिक सेवा गर्ने हो। त्यो यहाँका नेपालीले गरेका पनि छन्। कम्तिमा प्रयास गरेकै देख्छु।

संकटमा परिवारका साथ होम क्वारेन्टाइनमा

कृष्ण सुबेदी / मिलान, इटाली

मेरो स्थायी घर चितवनको सौराहा हो। अहिले सपरिवार इटालीको मिलान सहरमा बस्छु। यहाँको एउटा रेस्टुरेन्टको सेफ हुँ म। कोरोना भाइरसको संक्रमण बढेपछि अहिले तीन हप्ता भयो क्वारेन्टाइनमा बसेको।

यो समयमा सरकारको आदेशअनुसार घरभित्रै बसिएको छ। हामी घर बसिदिने भनेकै इटाली सरकारलाई सहयोग गर्ने हो। किनभने सरकारले चाहेकै यही हो। यो बेला साथीभाइसित फोन सम्पर्क गर्ने, बालबच्चासित खेल्ने, तिनलाई खेलाउने गरिएको छ। खाना बनाउने र परिवारलाई सहयोग गर्ने, सबै परिवार एकैसाथ बसेर गफगाफ गर्ने, खानपिनमा रमाउने पनि चलेको छ। संसारभरिका साथीभाईसित इन्टरनेटमार्फत हाइ-हेल्लो गर्ने र नेपालमा परिवारसित कुरा गर्ने गरेर समय बितेको छ।

इटालीमा करिब १७ सय जति नेपाली छौं। यिनमा केही जागिर गर्ने पनि छन्। थुप्रै नेपालीहरुले खेतीमा काम गर्छन्। खेतीमा काम गर्नेहरु यो बेला ब्यस्त छन्। सबै आफ्ना घरमै बसेर पनि हुन्न। अस्पत्तालमा काम गर्नेलाई पनि त खाना खुवाउनुपर्‍यो। धेरै चाहिँ घरमै लकडाउनमै छौं। म एनआरएनए इटालीको कार्यकारी समितिमा पनि छु। एनआरएनए इटालीले नेपालीलाई गाह्रोसाह्रो पर्दा के कसरी सहयोग गर्न सकिन्छ भनेर जेनेभास्थित नेपाली दूतावाससित समन्वय गरिराखेको छ।

दुःख पाएका, आपतमा परेका नेपालीलाई सहयोग गर्न भनेर एनआरएनए इटालीले एउटा आपतकालीन कोष पनि बनाएको छ। हामी आपतविपतमा परेका नेपालीलाई सहयोग गर्नुपर्ने हुनसक्छ भनेर तयार भएर बसेका छौं। तर अहिलेसम्म एक जना पनि सहयोग माग्न आएका छैनन्। त्यसको अर्थ कुनै पनि नेपाली समस्यामा नपरेर होला। समग्रमा यहाँ नेपालीलाई खासै समस्या परेको पनि देखिएको छैन। समस्या परेको भए थाहा हुन्थ्यो। किनभने इटालीका अन्य सहरमा पनि हामीले आफ्ना साथीहरूलाई परिचालित गरेका छौं। संयोजक तोकेका छौं।

यहाँ औषधी पसल, सुपरमार्केट र खाद्यान्नका पसल खुला छन्। रेस्टुरेन्टले टेक-अवे गर्न पाउँछन्। बाँकी सबै बन्द छन्। सामान्य रोग लागे फार्मेसीले औषधी दिन्छ। अलि गाह्रो अवस्था भयो भने डाक्टरलाई फोन गर्ने ब्यवस्था हुन्छ। डाक्टरले सिफारिस गरेअनुसार औषधी किन्न पाइन्छ। त्यो औषधीले भएन र गम्भीर अवस्था हो भने चिकित्सकहरु विरामी लिन घरमै आउँछन्। चिकित्सकहरुले यहाँ आफ्नो ज्यानको बाजी लगाएर चौबिसै घण्टा सेवा दिएका छन्।

इटालीमा जो वैधानिक तरिकाले बसेका छन् तिनले तलबको ८० प्रतिशत भत्ता पाउँछन्। अहिले काम नभएपनि सरकारले भत्ता दिने भएपछि बस्न-खान कुनै समस्या नै हुन्न। यहाँको सरकारले जतिसुकै अप्ठेरोमा परे पनि नागरिकलाई उपचार नपाएर मर्न दिँदैन। आफ्नो दायित्वबाट पन्छिदैन। त्यसैले नागरिकले पनि सरकारलाई विश्वास गर्छन्, भनेको मान्छन्।

गीत लेख्छु, गाउँछु, बिन्दास तरिकाले दिन बिताउँछु

दीपक खतिवडा / पोर्तो, पोर्चुगल

मेरो स्थायी घर इटहरी हो। म पोर्चुगलको पोर्तो सहरमा रहेको ठमेल भन्ने नेपाली रेस्टुरेन्टमा काम गर्छु। मे २००९ मा युरोप आएँ। केही वर्ष स्वीटजरल्याण्ड बसेर यता आएको हुँ।

अहिले म पनि क्वारेन्टाइनमै छु। यता थोरै होटेलहरु खुलेका छन्। खाना टेक-अवे गर्ने रेस्टुरेन्ट, सपिङ सेन्टर र औषधी पसल, खानेकुरा बेच्ने पसलहरु खुला छन्। बाँकी बन्द छन्। कोरोनाको संक्रमणबाट जोगिन सरकारले सबैलाई ‘घरै बस’ भन्दिएको छ। पोर्चुगिजहरु अचम्मका मान्छे रहेछन्। सरकारले यसो नगर भनेपछि ठ्याक्कै मान्ने। सरकारले बाहिर ननिस्क, घर बस भनेपछि घर घरमै बसेका छन्।

खाद्यान्नका पसलहरु पनि केही दिनदेखि सरकारले बेलुका ७ बजेबाट बन्द गर्न भनेपछि बन्द हुन थालेका छन्। अध्यागमन हेर्ने निकायले एसइएफ पनि बन्द भयो। इमिग्रेसन बन्द भयो। पेपर नहुनेहरुको काम रोकिएको छ। यहाँको सरकार कति जिम्मेवार रैछ भने पेपरका लागि डकुमेन्ट बुझाउने जति सबैलाई उपचार गर्ने भन्ने निर्णय गरेको छ। संकटकालको अवधिमा विदेशबाट आएका आप्रवासीले पनि सुविधा पाउन भनेर कार्ड नहुने, काम नहुनेले पनि बेतलवी भत्ता पाउने भएका छन्। त्यसैले यता कोही मर्ने अवस्था छैन। सरकारी नियमअनुसार घोषणा गरेर बेतलवी भत्ता दिने भएको छ।

जसले फूलटाइम काम गर्ने गरेको थियो, उसलाई ३३ प्रतिशत तलब साहुले ब्यहोर्ने र बाँकी सरकारले ब्यहोर्ने भन्ने निर्णय गरेको छ। हामी ढुक्कले बसेका छौं।

यस्सो गितार बजाउँछु, गीत गाउँछु। नयाँ गीत लेखेर संगीत भर्छु। किताब पढ्ने र न्युज लेख्ने पनि गर्छु। गीत गाउने-लेख्ने सोखिन मान्छे हुँ। एक्लै भए पनि म त गाएर बजाएरै बिन्दास तरिकाले दिन बिताउन सक्छु।

रेस्टुरेन्टमा काम गर्दा ब्यस्त भइन्छ। म पोर्तोमा बस्छु। यो एकदमै शान्त, पर्यटकीय ठाउँ हो।। पोर्तो भन्ने विश्वभरि चल्ने गुलियो रक्सी यही ठाउँमा बन्छ। यहाँ धेरै वाइन बन्छ। नेपालीहरु कमै छन् यहाँ।

यहाँ नेपालका अवैतनिक वाणिज्यदूत छन्। केही परेमा यहीमार्फत जाने हो। यहाँ केहि पर्‍यो भने प्रक्रियाअन्तर्गत जानुपर्छ। अप्ठेरो अवस्थाका लागि पनि भिसाका लागि उपाय खुलै राखेका छन्। यहाँ नारा जुलुस र धर्ना गर्ने सम्भावना छैन। कागजी प्रक्रियाको अप्ठेरामा परेका नेपालीलाई पुराना नेपालीले सहयोग गरेर राखेका छन्। दुःखमा परेका बेला नेपालीले सहयोग गर्ने हो। पोर्चुगिज सरकारले राहत बाँड्ने भन्ने निर्णय पनि गरिसकेको छैन। एनआरएनए पोर्चुगलले राहत दिने भनेर सूचना निकालेका छन्। कुनै उपाय नहुने नेपालीहरु एनआरएनबाट पनि सहयोग लिन सक्छन्।

सरकारको तयारी देख्दा ढुक्क लाग्छ

विक्रम केसी / जेनेभा, स्वीटजरल्याण्ड

मेरो घर नुवाकोटको विदुरमा हो। यहीँ आएर पढेको हुँ। अहिले यहीँको रेस्टुरेन्टमा काम गर्छु। कोरोना भाइरसको संक्रमणले गर्दा अहिले सबै बन्द भयो। म पनि घरैमा छु। सरकारले भोकै नमरुन् भनेर सरकारी नियमअनुसार दर्ता भएर काम गरेकालाई ८० प्रतिशत भत्ता दिने भनेको छ।

धेरैजसो समय म किताब पढ्ने, फिल्म हेर्ने, यस्सो घाम ताप्ने गरेर बिताउँछु। घरकै छेउमा सानो पार्क छ त्यहाँ जान्छु। यो बेला फुर्सदिलो समय भएकोले मिठो मिठो बनाएर खान्छु। नेपालबाट केही किताब ल्याएको थिएँ। यो बेला बल्ल पढ्दै छु। इन्टरनेटमा नेपालको समाचार हेरेर जान्छ केही समय।

यता त भत्ता आउँछ। त्यतिले पुग्छ। तर नेपालको समाचारमा धेरै समस्या देखिन्छ अनि चिन्ता लाग्छ। यहाँ हजारौंलाई कोरोना लागिसक्यो, तर पनि त्यस्तो हाहाकार भएझैं लाग्दैन। चिन्ता पनि लाग्दैन। किनभने यहाँ कोरोना भाइरस लागे पनि बचिन्छ भन्ने थाहा छ। हजारौंलाई लाग्दा पनि यता तयारी राम्रो छ। मान्छेहरु आफूलाई चाहिने चिज लिन बाहिर गएकै छन्। नेपालमा ६ जनामा देखियो भन्नासाथ लौ बर्बादै भयो जस्तै गरेर मान्छे आत्तिएको देखिन्छ। यो सबै तयारी नभएर र नबुझेर त हो नी !

यता हामीलाई ‘यो विकसित देश हो। यत्तिकै मर्न दिन्न सरकारले’ भन्ने लाग्छ। नेपालमा परिवार छन्। आफ्नो देश हो। चिन्ता लागिरहन्छ। यता फेरि केही गाह्रोसाह्रो पर्‍यो भने खबर गर्नु भनेकै छ हाम्रो दूतावासले। तर यहाँ बस्ने नेपालीलाई अहिलेसम्म त्यस्तो समस्या परेको सुनिएको पनि छैन। खान बस्न समस्या खासै छैन यहाँका नेपालीलाई।

यहाँ केही परे सरकारले उपचार गर्छ। अलिकति शंका लागेमा फोन गर्‍यो भने डाक्टरले सुझाव दिन्छन्। ज्वरो आयो, सास फेर्नै गाह्रो भो, उमेर पनि अलि बढी छ भने बल्ल उपचारका लागि बोलाउँछ। नेपालमा जो पनि अस्पताल जाने र जँचाएन भनेर अस्पतालका डाक्टरसित रुष्ट भएको खबर देखिन्छ। त्यो देख्दा हामीलाई अचम्म लाग्छ। सामान्य अवस्थामै सबै जना अस्पत्ताल गए भने कसरी सम्भव हुन्छ र? यताको विकसित देशमा पनि त त्यो सम्भव छैन नी ! उनीहरुले सामान्य अवस्थाका मानिसलाई घरमै बस, आराम गर, सामान्य अवस्थाकालाई हेर्न सकिन्न भन्छन्।

यहाँ पनि तीन-चार जना नेपालीलाई कोरोना भाइरस लागेको थियो। ती सबै निको भइसके। जे होस नेपालमा ठूलो क्षति नहोस भन्ने कामना गरेर बस्छौं हामी। यता त खासै चिन्ता गर्नुपर्ने पनि छैन। चिन्ता उतैको हो गर्नुपर्ने।

((साभार – कान्तिपुर अनलाईन, प्रकाशित : चैत्र २२, २०७६ १२:५८)

तपाइँको प्रतिक्रिया