यो सकारत्मक बन्ने समय पो हो की ?

-शशी थापा सुब्बा / बेलायत

समय भयावह छ । अवस्था दुखदायी छ । तर यस्तै समय र अवस्थाको लागी नै त हो हामीले सधैं रट्ने र देखाउन खोज्ने सकारत्मक सोच र शान्त्वना !

अहिले संसारैभरी “लक डाउन” भनिएको अवस्थाको ठूलो साथी, राहत वा समय कटाउने माध्यम छ, मोबाईल फोन । त्यसलाई जे भने पनि वास्तविकतामा यो महामारीले कता कता के के भयो ? के भएन ? भन्ने जानकारी पाउने प्रमुख माध्यम पनि यहि हाम्रो हातमा रहेको मुवाईल भित्रको सामाजिक संजालहरू नै हो । अब यसलाई कसरी सकारात्मक बनाउने भन्नेतिर हामीले बेलैमा सोच बनाउन अति आवस्यक भैरहेको भान हुन्छ । साथै कसरी आफन्त र साथी भाईहरू लाई सान्तवना दिने र यो भयावह समयलाई राहतपुर्ण बनाउने भन्ने पनि सोच्नुपर्ने बेला हो कि त यो ?

अब त यो कोभिड १९ अथवा कोरोना भाईरसको बारेमा सबैले पूर्ण जानकारी पाईसकेको अवस्था हो । र कसरी सचेत हुने भन्ने पनि पूर्ण जानकारी भैसकेको अवस्थामा हामीले यसै सम्बन्धी डरलाग्दा र दुखद जानकारीहरू भरसक नहेरौ । शेयर नगरौ ।

हुन त मानिस स्वभावैले अस्वभाविक, अचम्भित र दुखद घटनाहरू प्रति नै धेरै सचेत र नमान्दा नमान्दै आकर्षित हुन्छौं । त्यसैको प्रतिफल होला, हामी कोरोनाको प्रकोपलाई जितेर घर फर्किरहेकाहरू भन्दा पनि दुखद जिवन गुमाउनेहरूको धेरै गिन्ती र सँख्यामा अल्झि बसेका छौं । वा जानकारी गराईरहेको छौं । उदाहरणको लागि ५,००० – ७,००० सम्म संक्रमित भएको खबर भित्र ४०० – ७०० को मृत्यूको बारेमा सोचिरहेको हुन्छौं भने ६,००० भन्दा धेरैले बाँच्ने संघर्ष गरिरहेको र जितेर घर फर्किएको खबरको वास्तै गरेका छैनौं जस्तो लाग्छ ।

इटली कै हकमा पनि ९,००० भन्दा धेरैले यो रोगसँग जितेर घर फर्किएको पनि समाचार त छ नि । पृथ्वीले भोगेको महामारीहरू धेरै छन । यो पहिलो अवस्य होइन । तर यस्तै महामारी र प्राकृतिक प्रकोपका बिपत्तीहरू झेलेर पनि हाम्रा पूर्खाहरूले हाम्रालागी, हामीले सुरक्षित भएर हुर्किएको समाज वा रमाईलो गरी मनाएका हाम्रा संस्कार र संस्कृतीहरू बचाएरै राखे । ति कुरोहरू हामीले यतिबेला सोचेर सकारत्मक हुन पनि जरूरी छ जस्तो लाग्छ ।

हुन त यस्तो बेलामा सचेत भएर हरेक कुरोको जानकारी लिन वा पाउन पनि एकदमै जरूरी छ । तर त्यसका लागि डरलाग्दो डरलाग्दो प्रमुख लाईन राखेर बनाईएको यूट्युब भिडीओहरू, लाईभ आएर देखाईएका बिरक्तीहरू र बिपक्षिप्त मनोदशाहरू सेयर गरेको भन्दा बरू एउटा राष्ट्रीय र एउटा अन्तराष्ट्रिय वा कुनै भरपर्दो समाचारहरू समय समयमा हेर्ने गरौं । यो समयमा कामलाग्ने किसीमको जानकारीहरू भने अवस्य हेरौं र ज्ञान बर्दक अनि रमाईलो कुरोहरू शेयर गरौ ।  हाँस्यरसका फ्लिमहरू वा आफूले मन परेर पनि हेर्न नभ्याएका कार्यक्रमहरू हेरौं । किताबहरू पढौं । बरू यसले हाम्रो तनाव मात्र कम गर्दैन, अहिलेको यो आफैं बन्द भएर घरमा बस्नु परेकोहरू अनि कर लागेर पनि काममा हुनेहरूले चाहिँ अशुरक्षित महशुस गर्दै काम गर्दाको मानसिक थकानलाई केहि राहत अवस्य मिल्ने छ ।

आज सम्म केहि दिन मात्र त हुँदैछ । तर झण्डै तिन चार महिना यहि अवस्था रहेमा हाम्रो मानसिक स्वास्थ्यमा पनि ठूलै असर नपर्ला भन्न सकिन्न । त्यसैले सक्दो हेर्दा र पढ्दा पनि रमाईलो वा शान्ती दिने खाल्को कुरोहरू शेयर गरौं वा स्टाटस लेखौं ।

हामी सबैलाई यो अवस्था र पिड़ापूर्ण रूपले अवगत नै छ र जसरी हुन्छ आफन्त र साथीभाईलाई हँसाउने र राहत दिने कोशिष नछोड़ौ । बिशेष गरी सामाजिक संजालहरूमा समाचारमा हेरिसकेको कुरोहरू जस्ले मानसिक पिड़ा थपिन्छ त्यस्तो शेयर नगरौं । तर सकारत्मक पाटोहरू छ भने शेयर गर्न अल्छी नगरौं । कुनै अचम्मका, दुखलाग्दो वा डरलाग्दो कुरोहरू जानकारी गराउन मन लागेकै भए पनि त्यसबाट प्राप्त हुने सन्देसले के कति राहत वा पिड़ा दिन्छ र कति हदसम्म सम्प्रेषण गर्ने ? भन्ने कुरोमा बिशेष ध्यान राख्न पनि जरूरी देखिन्छ ।

आउँदो दिनहरूमा सायद हामीले भोग्नुपर्ने असामन्य स्थिती र अझ पिड़ादायी समयको ख्याल गरेर यसरी हामी सबैले बेलैमा सचेत र सकारत्मक हुन जरूरी छ जस्तो लागेर आएको हुनाले यो सानो गनगन पेश गरेकी छु । बाँकी सबैको आआफ्नो अधिकार त छँदैछ । जे जस्तो र जहाँ भए पनि सुरक्षित बाँच्नु होला ।

(स्रोत – शशी थापाको फेसबूक)

तपाइँको प्रतिक्रिया