बन्दि जीवन, निरिह समय
-रायन सुबेदी / ओस्लो, नर्वे
‘चिनी धेरै खायोभने तितो हुन्छ’ भन्ने कुराको प्रयोगात्मक ज्ञान पाईयो यतिखेर । साताको पाँच दिन काममा जाने बेला कहिले होला आनन्दले घरमा बस्न पाईने भन्ने लाग्थ्यो । अहिले यो एक्काईस दिनको घर बसाईले पोल्न थालेको छ, भित्र भित्रै । कहिले होला बाहिर निस्कन पाईने ?
साधारण जिवन थियो । दैनिक कार्यतालीका सधैंको प्राय एऊटै हुन्थ्यो । तर अहिले दिन र रात एऊटै जस्तो लाग्छ । रातको अँध्यारो त आफ्नो ठाऊँमा छ । दिनको ऊज्यालोलाई पनि कोठा भित्रको बन्दी जिवनले अँधेरोनै देख्दो रहेछ । झ्यालबाट चियाएर ऊज्यालोको दर्शन गर्यो । आफू त्यहि अँध्यारोमा फर्क्यो ।
बैठक कोठा अँधेरो लाग्छ । ऊठेर अध्ययन कोठातिर लाग्छु । ऊज्यालोको खोजिमा । ‘हो ऊताभन्दा त यतै उज्यालो छ’ मनमनै खुशि हुन्छु । केहिबेर किताब समातेर बसेपछि फेरी ऊहि अन्धकारले गिजोल्छ । फेरी भौंतारीएर सुत्ने कोठातिर पुग्छु म । ऊषाको खोजिमा ।
ओछ्यानमा सुतेकी सानी छोरीलाई देखेपछि बत्तिनिभेको र पर्दाले बाहिरी ऊज्यालो छेकेको कोठापनि झिलीमिली लाग्छ । छोरीलाई हेरेर बस्छु । बालशुलभताले भरिएकी । निशालाई चिरेर आएकी जिवनकी ऊषा प्यारी छोरी ‘स्मारिका’ । यस्तै यस्तै सोचाईमा हराऊन के लागेको हुन्छु छोरी उठेर बोलाउन थाल्छे ।
मामुले जे खान दिनुहुन्छ चुपचाप खाईसकेपछि उसलाई बाहिरको ऊज्यालोले तान्दोरहेछ । आफ्नो जुत्ता र ज्याकेट बोकेर मेरो अगाडि आएर बाहिर लैजान अनुरोधात्मक आदेश जारी गर्दछे । ‘नाई जान हुन्न बाहिर’ भन्न पाऊँदा नपाऊँदै आँशुको झटारो हान्न थालीहाल्छे । संसारमा को होला जो सन्तानको आँशुलाई गौणरूपमा लिने ?
के थाहा बिचरालाई कोरोनाले उसको मात्र हैन ऊ जस्ता कैयौँको ईच्क्षाहरू कुण्ठित पारेको छ । कैयौँ बाबु आमाहरूलाई लाचार बनाएको छ । के थाहा बिचरालाई के हो कोरोना ? उसलाई त्यत्तिमात्र थाहा छ कि बाहिर जानु छ । स्वच्छन्द भएर प्रकृतिमा रमाऊन छ । तर अफसोच बाबु भएर म छोरीको त्यति सानो ईच्क्षा पुरा गर्न सक्दिन ।
मानवजातीले प्रकृतिमाथी गरेको अक्षम्य दोहनको नतिजा होला सायद यो ? वनजंगलको अधिक फडानी । अव्यवस्थित बस्तिहरू । बन्यजन्तुको अधिक शिकार । प्राकृतिक खनिजहरूको ऊग्र प्रयोगले गर्दा बायुमण्डलनै परिवर्तन भएको छ । जिवको जिवनचक्रमा असर परेको छ । पृथिवीमा जिव बिकासको क्रम ‘ऊत्पत्तीको सिद्धान्त’ हेर्ने हो भने बायुमण्डलिय परिवर्तन सँगै नयाँ जिवको विकास भएको पढ्न पाईन्छ । कोरोनाको ऊत्पत्ती पनि बायुमण्डलिय परिवर्तनको परिणाम नहोला भन्न सकिन्न ।
प्रकृतीले प्राकृतिक छनौटको सिद्धान्त अपनाएकी छन् । बिज्ञानको चमत्कारीक बिकास गरेर मंगल ग्रहमा मानव वस्तीको खोज गर्न सफल भएको दाबि गर्ने बैज्ञानिकहरू आज एऊटा जैविक किटाणुबाट आजित भएका छन् । पृथिवीबाट मंगल ग्रहमा वस्ती सार्ने त परको कुरा । आफ्नो घरबाट मानिसलाई बाहिर निकाल्न असमर्थ भएका छन् । आशा गरौं, छिट्टै यो अवस्थाको अन्त्य हुनेछ । र संसार एऊटा नयाँ शिक्षा र जोश बोकेर फेरी साधारण दैनिकीमा फर्कने छ । म जस्ता लाखौं अभिभावक सन्तानसँगै प्रकृतीसँग रम्न पाऊने छन् । अनावस्यक प्राकृतिक दोहन रोकिने छ जसले गर्दा भविश्यमा कोरोनाले अर्को रूप धारण गर्ने मौका पाऊने छैन ।





