राष्ट्रपति ट्रम्पको चाहना अनुरुप दुइ सातामा सुचारु होला अमेरिका ?

-किशोर सापकोटा / अमेरिका

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार अचानक अमेरिकाको ‘डुवेको अर्थतन्त्रलाई उद्धार गर्न’ भन्दै दुइ सातामा नै अमेरिकालाई खुल्ला गर्न चाहेको बताए । ट्रम्पको चाहनामा अविश्वास गरौं, उनी सर्वशक्तिमान राष्ट्रका राष्ट्रपति हुन् । विश्वास गरौं, कुनै पनि सूचकले राष्ट्रपतिको चाहना कार्यान्वनमा आउन सक्ने देखिँदैन ।

राष्ट्रपति ट्रम्पले अमेरिकीहरुको चाड इष्टर अघिनै अमेरिका खोल्न चाहेको बताए जबकि विभिन्न राज्यका गभर्नर र विभिन्न शहरका मेयरहरुले आपतकाललाई लम्ब्याएर लगेकाछन् । आगामी अप्रिल १२ मा अमेरिकीहरुको चाड इष्टर पर्छ । विश्व परिवेश हेर्दा पनि दुइ सातामा नै कोरोनाको संक्रमण नियन्त्रणमा आउने छैन । यस्तो अवस्थामा राष्ट्रपतिको चाहना कति सफल होला ? 

राष्ट्रपतिको ट्रम्पको चाहना कार्यान्वयन होला वा नहोला, त्यो विषय एकातिर छ । तर अर्कोतिर ह्वाइट हाउसको कोरोना भाइरस टास्कफोर्सले मंगलवार दिएको निर्देशनलाई मात्रै हेर्ने हो भने पनि राष्ट्रपतिको यो चाहना कार्यान्वयन हुने देखिँदैन । टास्क फोर्सले अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर मानिएको न्यूयोर्क शहर छाडेर अन्य शहरहरुमा जानेहरुलाई चौध दिने क्वारेन्टाइनमा जान निर्देशन दिएको छ ।

न्यूयोर्क यस्तो शहर हो जहाँ अमेरिकाका कोरोना भाइरस संक्रमित मध्ये झण्डै आधा संख्या रहेको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका संयोजक डा। डेवोरा विक्र्सले मंगलवार नयां कोरोना भाइरस संक्रमण हुनेहरु मध्ये ६० प्रतिशत न्युयोर्क शहरमा नै रहेको बताए । न्युयोर्क शहरमा अन्य अमेरिकी शहरभन्दा संक्रमणको दर पाँच गूणा रहेको छ । अमेरिकाको सबैभन्दा ठूलो आर्थिक शहर न्यूयोर्क रोग र शोकमा डुविरहेको अवस्थामा कसरी अर्थतन्त्र सुचारु होला र ? एक नेपाली अनिल लिम्वुको पनि मंगलवार विहान कोरोना भाइरस संक्रमणको कारण न्यूयोर्कमा नै निधन भएको थियो ।

राष्ट्रपति ट्रम्पले भनेको एउटा कुरा सत्य हो, जति चाँडो हामी अमेरिकालाई खुल्ला गर्न सक्छौ, त्यति नै चाँडो यहाँ राम्रो हुनेछ । तर हरेक दिन अस्पतालमा विरामीहरुको चाप थप्दै कसरी अर्थतन्त्रलाई सुचारु हुन्छ ? बढदै गएका विरामीहरुलाई कसरी व्यवस्थापना गर्न सकिन्छ ? स्वास्थकर्मीहरुलाई आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेट (पीपीइ) कहाँवाट उपलव्ध गराउन सकिन्छ ? न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोनोले आउँदो दुइ साताभित्र आफ्नो राज्यलाई थप १ लाख ५० हजार वेड सहितको अस्पताल आवश्यक पर्ने बताउँदै तत्कालै ३० हजार भेण्टिलेटर उपलव्ध गराइदिन राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका छन् । अहिले न्युयोर्कसँग ७ हजार भेण्टिलेटर सहित करिव ५३ हजार वेड छन् । अहिलेको आवश्यकता मानवीय उद्धार हो कि अर्थतन्त्रको उद्धार हो ?

अमेरिकामा मंगलवार मात्रै १४५ जना बढि मानिसको मृत्यु भएको छ भने १० हजार नयाँ संक्रमित थपिएका छन् । यो डरलाग्दो संक्रमण र मृत्युलाई कसरी नजरअन्दाज गर्न सकिन्छ ? मंगलवार सांझसम्ममा अमेरिकामा मृत्यु हुनेहरुको संख्या ६८५ पुगेको छ भने संक्रमित हुनेहरुको संख्या ५२ हजारभन्दा बढि पुगेको छ । अमेरिकाका १७ वटा राज्यहरुले ‘स्टे -एट -होम अर्डर’ जारी गरेका छन् र देशको सम्पूर्ण जनसंख्याको करिव ५२ प्रतिशत जनता घरमा बस्न वाध्य छन् । यी सम्पूर्ण प्रतिकुलताका वीच अमेरिका सुचारु कसरी हुन सक्लार ?

राष्ट्रपति ट्रम्पले चेतावनीको शैलीमा भनेका छन्,- ‘यदि राष्ट्रलाई आर्थिक मन्दी वा निराशामा राखियो भने तपाइहरुले यो भन्दा बढि मानिसलाई गुमाउनु पर्नेछ’ । राष्ट्रपति ट्रम्पको चेतावनीले काम गर्ला वा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न अमेरिकाको अर्थतन्त्र ठप्पनै रहला ? कुरेर परिणाम हेर्नुको विकल्प छैन ।

राष्ट्रपति ट्रम्पको चाहनाप्रति प्रतिपक्षी डेमोक्रेटिक पार्टीका नेताहरु र स्वास्थ क्षेत्रमा लागिरहेका विज्ञहरु सहमत हुन सकेका छैनन् । आगामी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार वन्ने दौडमा रहेका जो वाइडेनले भनेका छन् -‘राष्ट्रपति ट्रम्पले बोल्न रोक्नैपर्छ र स्वास्थ क्षेत्रका विज्ञहरुलाई सुन्नुपर्छ’ । उनले राष्ट्रपति ट्रम्पले समस्या समाधान गर्न चासो नलिएकोले भयावह स्थिति सिर्जना भएको बताए ।

माइक्रोसफ्ट कम्पनीको सबै जिम्मेवारी छाडेर लोककल्याणकारी काममा जुटेका विश्वका दोश्रो धनी विल गेट्सले राष्ट्रपति ट्रम्प नाम समेत नलिइ राष्ट्रपतिको यो चाहना अत्यन्त गैरजिम्मेवरीपूर्ण रहेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, कुनामा लासहरुको खातैखात राखेर मानिसहरुलाई रेष्टुरेन्ट गइराख, नयाँ घर किन भनेर भन्नलाई निकै कठिन छ ।’

(स्रोत -किशोरको फेसबूक)

तपाइँको प्रतिक्रिया