एक अर्का देशमा रहेका नागरिकलाई सबै खाले सहयोग गर्न दूतावासको आग्रह

पेरिस — कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का देशमा रहेका नागरिकलाई सबै खाले सहयोग र उद्धारका लागि हातेमालो गर्न भन्दै स्विजरल्याण्डस्थित नेपाली दूतावासले इटाली र स्विजरल्याण्ड सरकारलाई पत्राचार गरेको छ ।

कोरोना भाइरसको संक्रमणका बेला युरोपका अधिकांश मुलुक र नेपालबीचको आवतजावत रोक्का छ । चाहेर पनि यतिबेला नेपालमा रहेका युरोप र युरोपका नागरिक नेपाल जान पाउँदैनन् । नेपाल, इटाली र स्विजरल्याण्ड तीनै देशमा एक अर्काका नागरिकहरु रहेको हुँदा तिनलाई एक अर्काका मुलुकले जुनसुकै सहयोग गर्न प्रस्ताव गर्दै स्विजरल्याण्डस्थित नेपाली दूतावासले स्विजरल्याण्ड र इटालीको परराष्ट्र मन्त्रालयलाई डिप्लोमेटिक नोट भर्बल पठाएको जेनेभास्थित नेपाली दूतावासका काउन्सिलर कुमार राईले बताए ।

‘अहिले तीनवटै देशमा भएका नागरिक आफ्नो देश फर्किन सक्ने अवस्थामा छैनन् । नेपालमा भएका स्विस र इटालीयन नागरिक ओभर स्टे बन्लान् । कागजको समस्या पर्ला वा बिरामी पर्लान् । यता स्विजरल्याण्ड र इटालीमा कागज बन्ने प्रोसेसमा भएका, नभएका नेपालीलाई पनि कागजी र स्वास्थ्यको समस्या पर्ला । यस्तो अवस्थामा हाम्रा तीन मुलुकका नागरिकलाई जस्तोसुकै सहयोग चाहिएपनि सहयोग गरौं भन्‍ने प्रस्ताव गरेका छौं,’ उनले भने ।

कागजी प्रोसेसमा रहेका, भिसा नभएका, अन्य कुनै देशबाट इटाली छिरेर बस्ने, खाने वा स्वास्थ्यको कुनैपनि समस्या भए त्यस्ता नेपालीलाई कुनैपनि सहयोग दिन दूतावास तयारी अवस्थामा रहेको पनि राईले बताए ।

‘इटालीमा केही नेपालीहरु कागजी प्रोसेसमा भएका हुन सक्छन् । तिनलाई घरबाहिर निस्किन, बस्न र खान, उद्धार गर्न, राहतको समस्या हुन सक्छ । हामी सहयोगका लागि तयारी अवस्थामा बसेका छौं । त्यस्ता नेपालीहरुलाई सम्पर्कमा आउन र कुनैपनि सहयोग चाहिएमा दूतावासलाई खबर गर्न आह्वान गरेका छौं,’ उनले भने

जेनेभास्थित नेपाली दूतावासले स्विजरल्याण्ड, इटाली, सान्मारिनो र लेचेस्टाईन गरी चार मुलुक हेरेपनि कुनैपनि देशबाट हालसम्म नेपालीले सहयोग नमागेको पनि उनले बताए ।
प्रकाशित : चैत्र ११, २०७६ ०८:१२

तपाइँको प्रतिक्रिया