जर्मनीबाट एक चेलीको प्रधानमन्त्रीलाई पत्र !

-एलिजा हुमागाइ / जर्मनी

म जर्मनी आइपुगेको तिन वर्ष पुरा भएर चार वर्ष लाग्यो । यो महामारी शुरु हुनुभन्दा पहिलासम्म यूरोपको राजनीति बुझ्नुपर्छ भन्ने जस्तो मलाई कहिल्यै लागेन । म पढ्न आएको मान्छे हुँ । पढ्छु फर्कन्छु भन्ने अझै छ मनभित्र । र पनि भिसा थप्ने बेला हरबखत यहाँको सरकारी कार्यालयहरूमा अनेक ब्यूरोक्रेसीले हामीलाई हरेक वर्ष गाह्रो पर्छ । म कोरोना सुरू भएको पहिलो दिन देखि नै न्यूज फलो गरिराखेको छु ।

चाइनामा महामारी फैलिँदा विश्व स्वास्थ्य संगठन हतारमा निर्णय गर्न नखोजेर विश्लेषण गरी बस्यो । जुन एक हिसाबले सहिपनि थियो ।

म मेरो नजिकको साथीहरुको समूहमा कोरोनाको मात्र कुरा गर्थेँ । मेरो साथीहरूले मलाई ‘तँलाई थाहा छ । तँ जान्दछेस्’ भनिमात्र रहे । यसको विश्लेषण गर्न र यसका नतिजा के कति भयानक छन् भन्नेमा कसैको ध्यान नै गएन । यूरोपमा कोरोना फैलिन सुरू हुँदा जर्मनी तताउने अरू दुई समाचार झन् ताता थिए । एउटा ग्रिस टर्कीको सीमाका सिरियाली शरणार्थी र अर्को जर्मनीको हानाउ सहरमा भएको आक्रमण । यहि बिचमा चान्सलर मर्केलले जर्मनीका स्वास्थ्य मन्त्रीलाई यो संकटको ब्यवस्थापन गर्ने जिम्मा सुम्पिदिइन् ।

यसै बखत कोरोना इटालीमा फैँलिदै गयो । विश्वका कुनै देश अछुतो रहेनन् । विश्व स्वास्थ्य संगठनले यसलाई विश्व महामारी भनेर अन्तत घोषणा गर्यो । जर्मनीका स्वास्थ्य मन्त्री अझै भन्दै थिए ‘हामी तयार छौंं । यो जनस्वास्थ्य र जनचासोको विषय त थियो नै,  सँगसँगै यसले अब हामीले भोलि बाँच्ने विश्वको निर्धारण गर्दै थियो ।’

बडा बडा देशका राजनीतिज्ञ, वैज्ञानिक, अर्थशास्त्री, बुद्दिजिबी यो लडाइँमा होमिएका छन् । चाइना मार खेपेर अझै पनि युद्ध मैदानमा खरो उत्रँदै छ । अमेरिका, फ्रान्स, यूके, स्पेन, जर्मनी, अष्ट्रिया लगायत हर देशका राजनीतिज्ञ देश जनता र भविष्य बचाउन होमिइरहेका छन् । साना तथा मझौला व्यापारी, विध्यार्थी, ठूला व्यापारी, बैंकिङ्ग, वाणिज्यलाई घाटा नहोस् भनेर दुई दिन बैठक बसेर कानुन नै पारित भयो जर्मनीमा । सरकारले महामारीको समयमा गणतान्त्रिक राज्यका आधार अनुसार क्षेत्रीय सरकारले दैनिक र प्रशासकिय काम कारवाही गर्ने र केन्द्रीय सरकारमा धेरै जस्ता अधिकार निहीत हुने कुरामा समेत परिवर्तन ल्याइयो । यसको कारण देशैभरि एउटै नियम लागू भ इ  केन्द्रीय सरकारको काम कारवाहि सफल हुने देखियो ।

हाम्रो देशको के योजना छ त ? यो महामारी नियन्त्रणको लागि कस्तो समिति र नियमहरू बनेका छन् ? सरकारले बैंकिङ्ग र कारोवार लाई कसरी हेरेको छ ? साना तथा मझौला व्यापारीहरूको अवस्था सरकारले बुझ्न खोजेको छ कि छैन ? यसले हाम्रो देशलाई कत्तिको असर पर्न सक्छ ? सरकारका पुर्व तयारीका ढाँचा केकस्ता छन् ? सरकार के हावा समाचार फैलाउनेलाई पक्रेर मात्र बस्छ कि पुर्व तयारी भन्ने चिज पनि हुन्छ ?

दुई हप्ता इन्कयुबेसन टाइम भएको रोगलाई एक हप्ता बन्द गरेर त्यस पछाडि के गर्ने विचार छ देशको ? यि सबै विविध कुरामा ध्यान राखी सरकारले जनचेतनामुलक काम गरोस् भन्ने चाहन्छु। त्यसकोलागि पूर्व तयारीको थालनी गरोस् भन्न चाहन्छु । सरकारले पत्रकार सम्मेलन गरेर झुठा भन्दै फैलिरहेका समाचार पछाडिका सत्य जनता सामु ल्याउनु अत्यावश्यक छ ।

तपाइँको प्रतिक्रिया