आवश्यक छ प्रवासमा दिनहु नयाँ संस्थाको ?

-बाबा राजेश्वरी थापा  / भियना, अस्ट्रिया

हातका औंलाले गनेर भ्याउने संख्यामा छन नेपालीहरु अस्ट्रियामा । तर यति थोरै जनसंख्या भएको समाजमा दिनहुँ संस्था खोल्नु भनेको समाज भाड्न सिंन्डिकेटको प्रक्रिया लागु गर्नु सरह हो । कतिपय सामुदायिक संस्था सिमीत समूदायलाई माथि उठाउन जरुरत पर्छन । किनकी त्यस्ता सामूदायिक संस्थाहरुले सामाजिक विभेद भएको समाजमा त्यो समूदायका व्यक्तिहरुलाई सक्षम बनाउन पक्कै सहयोग गर्छ । समाजमा समावेशी वातावरण सिर्जना गर्ने संस्कृतिको आदान-प्रदान गरी लोप हुन लागेका भाषा र संस्कृतिहरुलाई जगेर्ना गर्न ठुलो सघाऊ पुर्याउँछ ।

हालै अस्ट्रियामा नयां संस्था अर्थात इनासको औपचारिक स्थापना भएको कुरा सामाजिक संजाल र दुई चारवटा अनलाइन खबरपत्रिकाहरुमा प्रकाशित भएका छन । संस्थाको उद्देश्य नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रीयस्तरमा परिचित गराउने भनेर प्रचार गरिएको छ । संस्था जुनसुकै उद्देश्यले खोलिए पनि दुखलाग्दो कुरा संस्थामा पद ओगट्ने व्यक्ति तिनै छन् जो एनआरएनको जिम्मेवार पद ओगटेर बसेका छन । वा अन्य कुनै समकक्षी संस्थाको पद ओगटेर बसेकाछन ।

हाँस्यास्पद कुरा आफू एउटा जिम्मेवार पदमा बसेर नयां संस्था खोलि त्यसको प्रचारप्रसारमा ज्यान दिएर लाग्ने परिपाटी सायद अस्ट्रियाबाटै शुरु भएको हुनुपर्छ । आफु एउटा संस्थाको पद ओगटेर बस्दाबस्दै अर्को संस्था खोल्नु कुनै बुद्धिमानी त पक्कै पनि होइन । नयां संस्था खोलेर समाज जोडिनु भन्दा धेरै विभाजित नै हुन्छ ।

एउटै व्यक्ति किन धेरै संस्थाको पद ओगटेको भनी स्तम्भकारले जिज्ञासा राख्दा मान्छे कम भएकोले एउटै व्यक्ति दुई तिनवटा संस्थाको पदाधिकारी बन्नु परेको भन्ने जवाफ आयो । जब संस्था चलाउने व्यक्तिकै खडेरी परेको मुलुकमा जथाभावी खोलिएका संस्थाले समाज र भावी पुस्तालाई कुन दिशा तिर लैजान्छ भन्ने कुरा भविष्यले त देखाउने नै छ भने विगतका तिता अनुभवले शिक्षा दिन खोजेकै हुन ।

संस्थाको स्थापना र आवश्यकताको सम्बन्धमा अस्ट्रिया निवासी एक भलाद्मी आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ,” संस्थामा बसेर काम गर्न सजिलो छैन, खट्नु पर्छ छुचो हुनु पर्छ, समय दिनु पर्छ अनि त्यसको साथ साथै उपलव्धि पनि त हुनु पर्छ । दोसल्ला र पद खोजेर बस्न चाहने अध्यक्ष नै हुन मन गर्ने भावनाले धेरै ओतप्रोत भएपछि संस्था धेरै जन्मन्छ ।” हालै अस्ट्रियामा स्थापना गरिएको इनासको प्रारम्भिक उद्देश्य पनि त्यही नै देखियो । विज्ञापन छापेसरी विभिन्न अनलाइन खबरहरुमा एउटै समाचारको झ्याली पिटाइएको छ ।

कलाकार देशका गहना हुन । उनीहरुको संरक्षण गर्ने काम सरकारको हो । तर कुनै पनि निजीस्तरबाट खोलिएका संस्थाले कलाकारको हकहितमा काम गर्ने भन्द आफ्नो स्वार्थ पुर्तिको लागी मात्रै गर्छ । शायद कलाकारको त्यति ठुलो इज़्ज़त हुँदो हो त कयौं निजी संस्थाहरुसंग सम्बद्ध भएर काम गरेका कलाकारहरुका लागि सामाजिक संजालहरुमा चन्दा उठाइँदैन थियो होला । कतिपय संस्थाहरुले कलाकारहरुलाई करारनामा गराएर आफ्नो इसारामा नचलाएका पनि होइनन् र कतिपय संस्थाले कलाकारहरुको श्रम शोषण पनि गरिरहेका छन ।

प्रवासमा नेपाललाई अन्तर्राष्ट्रीय स मूदायमा परिचित गराउने उद्देश्यले हालको नेपाली जनसंख्याकै आधारमा प्रति व्यक्ति एक गोटा अर्थात् तिन करोड संस्था खुलेपनि नेपाली नाचगान र संस्कृतीको महत्व मात्र नेपाली स मूदायलाई हुन्छ । कलाकारको सम्मान त्यहाँ हुन्छ जहाँ उसले श्रम अनुसारको पारिश्रमिक पाउँछ । कलाकारको कला बेचेर कोष खडा गर्ने उद्देश्यले खुलेका संस्थाले कलाकारको हकहित होइन आफ्नै हकहितको जगेर्ना गर्छ ।

यदि इनास अस्ट्रियामा सफल हुन चाहने हो भने सबभन्दा पहिले संस्थाको पद ओगट्ने व्यक्ति भन्दा क्षमतावान व्यक्ति जो इनासलाई समय र श्रम दिन सक्ने व्यक्तिको चयन गर्न सक्नुपर्छ । नयाँ कलाकारहरु जन्माउन सक्नुपर्छ । संस्था सफल अध्यक्ष र उपाध्यक्षको संख्याले हुने होइन न त अनलाइन खबरपत्रिकाहरु विज्ञापन छापेसरी समाचार छाप्दैमा सफल हुने हो ।

इनास अस्ट्रिया जुन उद्देश्यले खुलेको हो त्यही उद्देश्य प्राप्त होस् । नेपाली समूदायमा मेलमिलाप र एकता सधै क़ायम होस् । तछाडमछाड नहोस । साँढेको जुधाईमा कुनै बाच्छा नमिचिऊन ।

तपाइँको प्रतिक्रिया