नेपाली आरोही पूर्जाले राखे विश्वमै नयाँ रेकर्ड

गोर्खा सैनिकका पूर्व सदस्य निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन् । विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ शिखरहरु सबै करिब छ महिना (१८९ दिन) मै सफलतापूर्वक चढेर विश्वलाई चकित पारिदिएका हुन् । यति हिमाल आरोहण गर्न अन्य आरोहीहरुलाई वर्षौं लागेको थियो ।
मंगलवार आठ हजार मिटर अग्लो हिमाल सिसापङ्मा चढेपछि उनले शिखरबाटै सफलताको घोषणा गरे ‘विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको आरोहण सफल भयो ।’ उनको आरोहणमा डेभिड शेर्पा,  ग्याल्जेन शेर्पा र गेसमान तामाङ थिए ।

सन् १९८६ मा पहिलो पटक १४ वटै अग्ला शिखरको सफल आरोहण गरेर जर्मन भाषी ईटालियन नागरिक रेन्होल्ड मेसनरले विश्व रेकर्ड बनाएका थिए । उनले अक्सिजन नलिकनै विश्वका सबै ८ हजार मिटर अग्ला हिमाल चुमेका थिए । त्यसपछि सन् २०१० मा स्पेनकी नागरिक एदुर्ने पासाबानले ति हिमाल आरोहण गरेर प्रथम महिला आरोही बनेकि हुन् ।

पूर्जाले भने पछिल्लो पटक शिखर चुम्ने बेला अति कठिनाई भएपछि अक्सिजन लिनुपरेको उल्लेख गर्दै भनेका छन् ‘म ओर्लिनुपनि पर्छ किनकि ओर्लेर अर्को हिमाल पुग्न सकौं । तपाइमा मानवियता हुनै पर्छ किनकी जिवित भएर घर फर्किनुपनि पर्छ । यदि अक्सिजनबिना जानु अति आवश्यक हो भने फेरिपनि जान सकिन्छ । तर जिवनको अन्त्य भयो भने तपाई फेरि जान सक्नुहुन्न ।’

गत मे महिनामा उनले सगरमाथा आरोहण गर्ने आरोहीहरुको भिडले गर्दा टाफिक जाम भएको तस्विर खिचेका थिए । त्यो बेला उनको तस्विर विश्व प्रसिद्द बनेको थियो ।

म्याग्दी जिल्लामा जन्मिएर पछि चितवन बसोबास गरेकाका ३६ वर्षिय निर्मल पूर्जाले ४८ घण्टामा विश्वको सबैभन्दा अग्लो सगरमाथा, विश्वको दोस्रो अग्लो ल्होत्से र त्यसैको नजिक रहेको मकालु हिमाल चढेर अर्को किर्तिमानपनि कायम गरेका छन् ।

विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल छोटो समयमा चढेर रेकर्ड बनाउने दक्षिण कोरियाका कि चाङ हो हुन् । उनले यो रेकर्ड बनाउन ११ महिना १४ दिन लगाएका थिए । उनको रेकर्डलाई अति छोटो समयमै (६ महिना) निर्मल पूर्जाले चुनौति दिएका हुन् ।

तपाइँको प्रतिक्रिया