फ्रान्सको अन्तर्राष्ट्रिय हिमाली दौडमा नेपालीपनि

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँलाई वरिपरिबाट फन्को मार्ने अन्तर्राष्ट्रिय दौड प्रतिस्पर्धामा नेपालीपनि सहभागि भएका छन् । युटिएमभि मो ब्लँ अल्ट्रा रन भनिने १७१ किलोमिटर लामो यो दौडमा गोरखाका डिना बगाले सहभागि भएका हुन् । अल्ट्रा रनमा यो प्रतिस्पर्धा विश्वको सबैभन्दा ठूलो हो ।

शुक्रबार मो ब्लँ हिमालको फ्रान्सतिर पर्ने मोहडाबाट शुरु भएको यो दौड ईटाली र स्विजरल्याण्ड हुँदै फेरि फ्रान्स आएर टुंगिएको हो । यो दौडमा विश्वका एक सय भन्दा बढि मुलुकका करिब १० हजार धावकहरु थिए । त्यसमा गोरखाका डिना बगाले नेपाली झण्डा बोकेर सहभागि भएका हुन् ।

लगातार ३० घण्टाभन्दा बढि दौडेर पहाड, समथर र पहरा हुँदै १० हजार फिटको उचाईसम्म पुग्नुपर्ने भएकाले यो अल्ट्रा दौड चुनौतिपूर्ण मानिन्छ । विश्वका चर्चित धावक, ब्यापारी, संघसंस्था र मेडियाहरुको ठूलो जमघट हुने र १० हजार मानिसहरुका बिचमा नेपाललाई चिनाउन पाइने भएकाले आफूले यो दौडमा नेपालका तर्फबाट भाग लिएको बगालेले बताए । यस अघि उनले गत साल जापानको माउन्ट फूजीमा भएको दौडमापनि नेपालको झण्डा लिएर सहभागि भएका थिए ।

-साभार : कान्तिपुर

तपाइँको प्रतिक्रिया